बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आपूर्तिमा कुनै समस्या छैन, केहीगरी समस्या आइहाले पनि सरकार पूर्ण तयारी अवस्थामा छः आपूर्तिमन्त्री भट्ट (भिडियो सहित)

सोमबार, २६ फागुन २०७६, १५ : ४१
सोमबार, २६ फागुन २०७६

काठमाडौं । कोरोना भाइरसको सन्त्रासकाबीच बजारमा अत्यावश्यक उपभोग्य वस्तुको आपूर्तिलाई लिएर कोही पनि चिन्तित हुनुनपर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् ।

 सोमबार राजधानीमा आयोजित सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा मन्त्री भट्टले मुलुकको आपूर्ति व्यवस्था सहज रहेको बताउँदै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका हुन् । 

कार्यक्रममा बोल्दै मन्त्री भट्टले बजार र आपूर्तिको अवस्था पहिले जस्तै रहेको र भोलिको दिनमा पनि यस्तै रहने हुँदा कोहीपनि आत्तिनु नपर्ने बताए । केहीगरी देशमा त्यस्तो समस्या आइहाले पनि सरकार पूर्णतः तयारी अवस्थामा रहेको भट्टले बताए । 

‘कोरोनालाई लिएर बजार अभाव र आपूर्तिबारे कुनै शंका गर्नुपर्दैन । पहिले जस्तो थियो अहिले पनि बजार उस्तै छ । सहज आपूर्ति भइरहेको छ,’ मन्त्री भट्टले भने, खाद्यान्नतर्फ त समस्या छँदैछैन । आउँदो दशैंसम्म धान्ने खाद्यान्न हामीसँग स्टोर छ । अहिलेको अवस्थामा धान मात्र २० हजार मेट्रिक टन स्टोर छ ।’

मन्त्री भट्टका अनुसार मास्क, सेनिटाइज लगायत औषधिमा भने उत्पादन, माग र सप्लाईका कारण केही समस्या आएको हो । यसको समाधानका लागि पनि सरकारले स्वदेशै उत्पादन गर्न आवश्यक गृहकार्य गरिरहेको छ ।

मन्त्री भट्टले आफु भाषणमा भन्दा पनि एक्सनमा काम गर्ने हुँदा त्यस्तो समस्या आइहाले तत्काल समाधान गर्नेगरी अघि बढ्ने बताए । त्यस्तो अवस्था आइहाले सरकार मुलुकको जुनकुनै कुनामा पनि सेवा, सुविधा र आपूर्ति व्यवस्था सहज गर्न तयार रहेको उनको भनाइ छ । यस्तो समस्या मुलुकमा भित्रन नदिन अहिले सरकारले ७ वटै प्रदेश र स्थानीय सरकारहरुसँग मिलेर काम गरिरहेको बताए । 

कोरोनाविरुद्ध संयमताका लागि सरकारले मुलुकको ३७ वटै नाका र प्रमुख विराटनगर, वीरगञ्ज, भैरहवा लगायतका ७ वटा भन्सार नाकाहरुमा कडाइ गरिएको जानकारी दिए । यता कोरोनाको संक्रमण वढ्ने अवस्था रहे आवश्यकता अनुसार सरकारी भवन र होटलहरुलाई समेत क्वारेन्टटाइनको रुपमा प्रयोग गर्ने गरी सरकारले तयारी गरिरहेको जानकारी दिए ।

यस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कोरोनाको सन्त्रास र बजार अभावको हल्लामा आमनेपाली संयमित र सचेत हुनुपर्ने बताए ।

 उनले हल्लाको पछि मात्र नलागि बजार र आवश्यकताको महसुस गरी वस्तु तथा सेवाको आवश्यक परिमाणमा मात्र खरिद गर्न र प्रयोग गर्न सर्वसाधारणमा अपील गरे । यसतर्फ सूचना प्रवाहमा सञ्चार माध्यमहरुलाई महत्वपूर्ण भूमिका खेलिदिन पनि सचिव अर्यालले आग्रह गरे । 

‘अहिले बजारमा हल्ला चलाइएको जस्तो वस्तु तथा सेवा अभाव छैन । बरु कारोनाको सन्त्रासकाबीच उपभोक्ताहरुले आवश्यकता भन्दा बढी वस्तु खरिद गर्ने र स्टोर गर्ने प्रवृत्तिका कारण अहिले बजारमा समस्या आइरहेको छ,’ सचिव अर्यालले भने, ‘ग्यासकै कुरा गर्दा अहिले बजारमा उपभोक्ताहरुले आवश्यकता भन्दा बढिी४–५ वटा सिलिण्डर समेत एकै व्यक्तिले खरिद गरेर राख्ने प्रवृत्तिले समस्या निम्त्याएको छ । यसले ग्यास भर्ने सिलिण्डको अभावमा समस्या आइरहेको छ ।’

सचिव अर्यालका अनुसार अहिले यस्तो समस्या आउन नदिन आपूर्ति मन्त्रालयले बजारमा आवश्यकता भन्दा बढी वस्तु तथा सेवा एकै व्यक्तिलाई नदिन व्यवसायीलाई सूचित गरिएको छ ।

उनले असहज परिस्थितिमा व्यवसायीहरुले बदमासी गर्न सक्ने भन्दै सरकारले त्यसको निगरानीमा बजार अनुगमन र नियमनका लागि आफ्नो संयन्त्र परिचालन गरिसकेको बताए । 

यसै विषयलाई मध्यनजर गर्दै विभागले बजार अनुगमनमा विशेष ध्यान दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । विभागको अनुगमनमा अहिलेसम्म १५ व्यवसायी कारबाहीमा परिसकेको बताउँदै त्यस्तो कोही कसैबाट बदमासी भएको फेला पारे कडा कारबाही गरिने बताए । 

कारबाहीकै सन्दर्भलाई जोड दिंदै मन्त्री भट्टले असहज परिस्थितिमा बदमासी गर्ने व्यवसायीहरुलाई सामान्य जरिवाना मात्र नगरी हदैसम्मको कारबाही गरिने बताए ।   

कार्यक्रममा मन्त्री तथा विभागलाई सुझाव दिंदै सञ्चारकर्मीहरुले असहज परिस्थितमा सरकारले बजार अनुगमन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप