शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना एक : सन्त्रास अनेक

आइतबार, २५ फागुन २०७६, १२ : २३
आइतबार, २५ फागुन २०७६

छिमेकी देश चीनको उहानबाट फैलिएको कोरोना नामको भाइरसबाट संसारका करिब ९० देश प्रत्यक्ष प्रभावित भएका छन् । कोरोना भाइरसबाट मर्ने र सङ्क्रमत हुनेहरुको सङ्ख्या वृद्धि हुँदै गएको छ । यससँगै यसले विश्वभरका मानिसमा एक प्रकारको मनोवैज्ञानिक सन्त्रास पैदा गरेको छ । यो सन्त्रासको प्रभाव स्वाथ्य क्षेत्रमा मात्र परेको छैन । यसको प्रभाव र असर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत पर्ने देखिन्छ । यो दृष्टिकोणबाट हेर्दा कोरोनाको प्रभाव बहुआयामिक प्रकृतिको हुने पक्का छ । विश्व बजारमा देखिने यस्तै प्रकारका प्राकृतिक र कृत्रिम घटनाको हवला दिएर दैनिक उपभोग्य सामान, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी तथा नाफाखोर गर्नेहरु सलबलाउन सुरु गरेका छन् । पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य सामानमा समेतमा विदेशको भर पर्ने नेपाल यसबाट बढी प्रभावित हुने देखिन्छ । 

पछिल्लो तथ्याङ्कअनुसार कोरोनाका कारण विश्वमा मर्ने मानिसको सङ्ख्या ३,४३६ पुगेको छ । यस्तै यो रोगबाट एक लाख एक हजार सात सय दशजना सङ्क्रमित भएका छन् । चीनपछि कोरोनाबाट बढी प्रभावित हुने देश इटाली हो । चीनमा ३,०४२ जनाको मृत्यु भइसकेको छ भने इटालीमा १९७ जनाको मृत्यु भएको छ । इटालीपछि दक्षिण कोरिया, इरान, फ्रान्स, अमेरिका आदि देश बढी प्रभावित देशको सूचीमा पर्छन् । पछिल्लो तथ्याङ्क हेर्दा कोरोनाको उद्गमस्थल क्रमशः नियन्त्रण र सुधारोन्मुख देखिन्छ भने अन्य देशमा भने मर्ने र सङ्क्रमित हुने सङ्ख्यामा वृद्धि भएको छ । उत्तरी छिमेकी देश चीनमा महामारी नेपाल फैलिँदा र विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्ने प्रतिवेदन प्रकाशित गर्दासमेत नआत्तिएको नेपाल सरकार पछिल्लो हप्ता भारतको दिल्लीमा कोरोना सङ्क्रमित भेटिएपछि केही सतर्कता अपनाउन खोजेको देखिन्छ । 

कोरोनाले विश्वको अर्थ बजारमा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । कोरोनाको उद्गम देश चीनमा कोरोनाका कारण २ देखि ३ प्रतिशतसम्म आर्थिक वृद्धिदरमा कमी आउने चिनियाँ अर्थविद्हरुले अनुमान गरेका छन् । त्यस्तै अमेरिका र युरोपका अर्थ बजार पनि कोरोनाको कारण प्रत्यक्ष प्रभावित हुने देखिन्छन् ।  भारतीय सञ्चार माध्यमका अनुसार भारतीय बजारमा दैनिक ७५ करोड बराबरको कुखुराको मासु खपत हुने गरेकोमा कोरोनाका कारण भारी गिरावट आएको बताएका छन् । नेपालको बजार पनि कोरोनाका कारण प्रत्यक्ष प्रभावित हुने थालेको छ । दैनिक उपभोग्य समानको मूल्य बढ्दो क्रममा छ । पेट्रोलियम पदार्थको आपूर्ति असहज हुने सङ्केत देखिएको छ । त्यस्तै नेपालका राष्ट्रिय गौरवका आयोजनादेखि अन्य मेघा परियोजनामा चिनियाँ र अन्य देशको लगानी र कामदारले काम गर्छन्  । ती आयोजना प्रत्यक्ष प्रभावित भएको सरकारले नै पुष्टि गरेकोे छ । यसले कोरोनाको कारण नेपालको अर्थतन्त्रमा भारी गिरावट आउने सङ्केत देखिन्छ ।

नेपालको वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार वैदेशिक रोजगारीमा जाने सङ्ख्यामा ८५ प्रतिशतले कमी आएको छ । राष्ट्रिय आयको मुख्य हिस्सा विप्रेषण वा रेमिट्यान्स हो । विदेश जाने व्यक्तिहरुको सङ्ख्या घट्दा नेपालको होटेल व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । त्यसको साथै निजी विद्यालयहरु, उपभोग्य बजार समेतमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । राज्यको कमजोर अनुगमन संयन्त्र र भ्रष्ट कर्मचारीतन्त्रको फाइदा उठाउँदै आएका व्यापारीका लागि कोरोनाको सन्त्रास राम्रो अवसर हुन सक्छ । राज्यले आफ्नो निगरानी बढाउन जरुरी छ ।

स्वास्थ्य क्षेत्र सम्बद्ध चिकित्सकहरुका अनुसार नेपालले तयारीविना र मापदण्ड पूरा नगरी हचुवाको भरमा स्वास्थ्य जाँच गर्ने गरेका कारण नेपालमा कोरनाले जुनसुकै बेला भयाभव रूप लिन सक्छ । उत्तरी देश कोरोनाको उद्गमस्थल भएको र दक्षिणतिरको देशमा समेत कोरोना सङ्क्रमित देखिन थालेपछि नेपालमा यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने अनुमान सहजै गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि नेपाल भौगोलिक विशिष्टिताका आधारमा उच्च जोखिमको देश भएका कारण पनि नेपाली जनतामा थप भय र सन्त्रास बढेको छ । सरकारले आगामी चैत ५ गतेभित्र विद्यालय तहको परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । साथै देशभित्र कुनै प्रकारको सभा, सम्मेलन, गोष्ठी, सेमिनार र भेला नगर्न सूचना जारी गरेको छ ।

नेपाल हल्लै हल्लाको देश हो । सानो हल्लाले पनि नेपालीको मनोविज्ञान प्रभावित हुन्छ । विगतका घटनाक्रमहरुले पनि यो कुरालाई पुष्टि गर्दछ । २०७२ सालको भूकम्प होस् या अन्य विगतका प्राकृतिक या कृत्रिम त्रास होस् त्यसबाट नेपाली समाज छिटो प्रभावित हुने गरेका थुपै्र दृष्टान्त छन् । अस्ट्रेलियामा अध्ययन गर्दै गरेको छोरालाई कोरोनाको प्रभावबारे सोधेको थिएँ । उसको सहज उत्तर थियो, अस्ट्रेलिया सरकारले आफ्ना नागरिकका लागि सबै प्रकारले आश्वत पारेको छ  । कारोना प्रभावित देशका नागरिकको आगमन र भिसा रद्द गरेको छ । म सरकारको कोरोना रोकथामको प्रयासबाट विश्वस्त छु । त्यही प्रश्न अमेरिकाको भर्जिनिया विश्वविद्यालयमा प्राध्यापनरत भाइलाई सोध्दा अमेरिकामा अहिले सम्म १२ जना व्यक्ति कोरोनाका कारण मृत्यु भए पनि अमेरिकाले कोरोनाका विषयमा थप अनुसन्धान गर्दै गरेको र नागरिकको चेतना स्तर उच्च रहेकाले तेस्रो देशका मानिसमा देखिएको सन्त्रास या भय अमेरिकामा छैन ।

नेपाल खुल्ला सिमाना भएको सानो गरिब देश हो । राज्य कमजोर छ । राज्यले जनतालाई आश्वस्त गर्न नसकेका कारण जनतालाई सानो घटनाले पनि तर्साउँछ । राज्यले कोरोना जस्ता प्राकृतिक प्रकोप त्रासको हल्ला फिजाई कृत्रिम अभाव सिर्जना गरी रातारात मूल्य बढाउने ब्यापारीलाई कारबाही गर्न सक्दैन । प्राकृतिक र कृत्रिम हल्ला फिजाई राज्यको ध्यान अन्यत्र मोड्न सरकारमा बस्नेहरु आफै अग्रसर हुन्छन्, कारबाही हुँदैन । अफ्ठारो परेका बेला  राज्यले आफ्ना नागरिकलाई ढाड्स र आड भरोसा दिई आश्वस्त पार्नु पर्छ तर त्यसको सट्टा राज्यमा बस्नेहरुले तिनै बिचौलियासँग मिलेर जनता मारा काम गर्छन् । त्यसैले राज्यप्रति जनताको विश्वास गुम्दै गएको छ । 

राज्य अभिभावक हो । जसरी घरभित्र बस्दा व्यक्तिले सुरक्षित भएको अनुभूति गर्छ, त्यसैगरी हरेक नागरिकले आफ्नो देशमा बस्दा सुरक्षित भएको महशुस गर्नुपर्दछ । तर विडम्बना हाम्रो जस्तो तेस्रो देशका अधिकांश मुलुकका मानिसहरुले राज्यबाट सुरक्षा अनुभूति गर्न सकेका छैनन् । त्यसको परिणामस्वरूप देशमा घट्ने सानातिना प्राकृतिक घटनाहरुबाट पनि मानिसहरु छिटो आत्तिने र भयभीत हुने गर्छन्् । जस्तो विकसित देशमा कोरोनाका कारण सयौँ मानिस मर्दा र सङ्क्रमित हुँदा पनि ती देशका मानिस आतिएका छैनन् तर त्यसको तुलनामा नेपालीहरु विगतमा पनि आत्तिने गर्दथे । यस पटक पनि आतिएका छन् । नेपालको सरकार र राज्य संयन्त्र अत्यन्त कमजोर छ । राज्यले हामीलाई विश्वसनीय र भरपर्दो ढङ्गले सुरक्षा दिन्छ भन्ने जनतामा विश्वास सरकारले जगाउन सकेको छैन ।

विश्वव्यापी सन्त्रास फैलाएको कोरोनाको असर बहुआयमिक हुने र यसले विश्व अर्थ बजारदेखि स्वास्थ्य र सामाजिक क्षेत्रमा समेत दीर्घकालीन प्रभाव पार्न सक्ने देखिन्छ । तसर्थ सरकार संयमित भएर नेपाली जनतालाई कोरोनाको त्रास र भयबाट मुक्त गराउने विश्वसनीय र भरपर्दा उपायको खोजी गर्नुपर्छ । साथै कोरोनाको बहानामा कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेउपर सरकार निर्मम हुन जरुरी छ । २०७२ सालको भूकम्पले नेपालीहरुलाई कसरी विपत्तिको सामना गर्ने भन्ने पाठ सिकायो । भारतीय नाकाबन्दीले नेपाली जनतामा राष्ट्रिय एकताको जागरण पैदा गर्योे । तसर्थ विपतले नकारात्मक छाप र प्रभाव मात्र छाडेको हुँदैन, असल पाठ पनि सिकाएर गएको छ । कोरोनाले पनि नेपाली जनतालाई राम्रै पाठ सिकाउने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शिवराज पण्डित
डा. शिवराज पण्डित

अध्यक्ष, नेपाल बार एसोसिएसन जिल्ला अदालत बार एकाइ, प्युठान

लेखकबाट थप