शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्रन्थका ७ महिलाको कथाबाट सिक्न सकिन्छ सुखी र सफल जीवनको सूत्र

आइतबार, २५ फागुन २०७६, ११ : ५३
आइतबार, २५ फागुन २०७६

जुन घरमा महिलाको सम्मान हुन्छ त्यहाँ देवी देवताको बास हुन्छ । यो कुरा ग्रन्थमा बताइएको छ । यसबारे एउटा श्लोक निकै प्रचलित छ – यत्र नार्यस्तु, पूज्यंते तत्र रमन्ते देवता ।

अर्थ – जहाँ नारीको पूजा अर्थात् सम्मान हुन्छ त्यहाँ देव कृपा वा देव वास हुन्छ । यदि घर–परिवारमा कुनै पनि स्त्री अपमानित वा उपेक्षित हुन्छिन् यसको नकारात्मक असर पूरा परिवारमा हुन्छ ।

आइतबार ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवस हो । यो अवसरमा ग्रन्थका यस्ता महिलाबारे जानकारी लिऔं जसमा महिला सधैं सम्माननीय हुने र महिलाको अपमान गर्नेहरु बर्बाद हुनसक्ने बताइएको छ ।

अनसूयाः

श्रीरामचरित मानसमा श्रीराम र सीता अत्रि मुनिको आश्रम गएका थिए । त्यहाँ सीताले अनसूयालाई भेटेकी थिइन् । अनसूयालाई आफ्नो सतीत्वका कारण पूजनीय मानिन्छ । प्रचलित कथा अनुसार अनसूयाले ब्रह्मा, विष्णु र शिवजीलाई आफ्नो सतीत्वको बलले नवजात शिशु बनाइदिएकी थिइन् । त्यतिबेलादेखि अनसूयालाई प्रातः स्मरणीय र पूजनीय मानिएको छ ।

सीताः

रामायणमा रावणले माता सीताको हरण गरेका थिए । सीतालाई बलपूर्वक आफ्नो लंकाको अशोक वाटिकामा बन्धक बनाएर राखिएको थियो । रावणको यो कृत्यका कारण नै श्रीरामले उनको पूरा कुललाई नष्ट गरिदिएका थिए । रामायणको सन्देश यो हो कि महिलाको अपमान गर्नेहरु बर्बाद हुन्छन् । त्यसकारण महिलालाई सधैं सम्मान गर्नुहोस् ।

उर्मिलाः

सीताकी एक बहिनीको नाम उर्मिला थियो । उर्मिलाको विवाह लक्ष्मणसँग भएको थियो । श्रीराम र सीतासँग लक्ष्मण पनि वनवास गएका थिए । त्यसकारण उर्मिला श्रीमान् बिना १४ वर्षसम्म एक सन्यासीको रुपमा बस्नुपर्‍यो । त्यसै त्यागका कारण उर्मिलालाई पूजनीय मानिन्छ ।

मन्दोदरीः

रामायणका अनुसार रावणकी पत्नी मन्दोदरी थिइन् । मन्दोदरी सधैं आफ्ना श्रीमानको हित चाहन्थिन् । सीता हरणपछि मन्दोदरीले रावणलाई सम्झाउने अत्यधिक कोसिस गरिन् । उनले थुप्रै पटक सीतालाई ससम्मान फिर्ता गरिदिन आग्रह गरिन् तर अहंकारका कारण रावणले यो कुरा मानेनन् र उनको अन्त्य भयो । मन्दोदरी र रावणको जीवनबाट यो सिक्नुपर्छ कि जीवन साथीको सही सल्लाह तुरुन्त मान्नुपर्छ ।

द्रौपदीः

महाभारतमा द्रौपदी महत्वपूर्ण पात्रमध्ये एक हुन् । दुर्योधनले हस्तिनापुरको सभामा द्रौपदीको अपमान गरेका थिए । यसै अपमानका कारण उनको पूरा कौरव वंशको नाश भयो । महाभारतको सन्देश यो हो कि महिलालाई हरेक परिस्थितीमा पूरा सम्मान गर्नुपर्छ ।

कुन्तीः

महाभारतमा कुन्तीको पनि महत्वपूर्ण स्थान छ । महाराज पाण्डुको मृत्युपछि कुन्तीले अभावमा पाँच पाण्डव पुत्रलाई राम्रो संस्कार दिइन् । धर्म–अधर्मको ज्ञान दिइन् । कुन्तीको संस्कारका कारण सबै पाण्डव सधैं धर्मको मार्गमा हिँडिरहे र कृष्णको कृपा प्राप्त गरे । जसले हरेक कदममा धर्मको साथ दिन्छ उनीहरुले ईश्वरको कृपा पक्कै पाउँछन् भन्ने सन्देश यहाँ दिइएको छ ।

गान्धारीः

दुर्योधनकी आमा गान्धारीले आफ्नो आँखामा पट्टी बाँधेकी थिइन् । यसै कारण उनले आफ्ना पुत्रको सही–गलत कर्म देख्न सकिनन् । गान्धारीको प्रतिकात्मक सन्देश यो हो कि जो माताले पुत्र मोहमा आँखामा पट्टी बाँध्छिन्, उनीहरुले बच्चालाई सही संस्कार दिन सक्दैनन्, उनीहरुको सन्तानको भविष्य बिग्रने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप