शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लगानीकर्तालाई सीडीएससीले भन्यो – ‘शेयर बेचेको भोलिपल्टै चेक दिनु’

शनिबार, २४ फागुन २०७६, १६ : ११
शनिबार, २४ फागुन २०७६

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले शेयर बेचेको भोलिपल्टै शेयरको चेक (डेबिट इन्स्ट्रक्स स्लिप) सम्बन्धित ब्रोकरलाई बुझाउन भनेको छ । देशकै एउटै मात्र केन्द्रीय निक्षेप प्रणाली र राफसाफ गर्ने निकायको रुपमा रहेको सीडीएससीले शेयर बिक्रेतालाई ‘टी प्लस २’ भित्रै आफूले बेचेको शेयरको भुक्तानी आदेश सम्बन्धित ब्रोकरलाई बुझाउन भनेको हो । 

अहिले कारोबार भएको ३ दिनभित्र कारोबारको राफसाफ (क्लियरिङ) हुने ‘टी प्लस ३’ प्रणाली कार्यान्वयनमा छ । सो प्राणालीअनुसार कारोबार भएको तेस्रो दिनको मध्यान्ह १२ बजेदेखि राफसाफ प्रक्रिया सुरु हुने भन्दै त्यसका लागि दोस्रो नै त्यस्तो स्लिप दिन आग्रह गरेको सीडीएससीले जनाएको छ । 

साथै, अनलाइनबाट त्यस्तो स्लिप दिने भए पनि सोही समयभित्रै भुक्तानी गर्न आग्रह गरिएको छ । त्यस्तै, शेयर बिक्री गर्दा शेयरको भारित औसत लागत के कति हो भन्ने सम्बन्धमा भने कारोबार गरिएकै दिनमा जानकारी दिनुपर्ने स्पष्ट पारिएको छ । 

पैसाको भुक्तानीका लागि बैंकको चेक दिएजस्तै शेयरको बिक्री गर्दा पनि शेयरधनीले आफ्नो शेयरको भुक्तानीको लागि सम्बन्धित ब्रोकरलाई चेक जारी गर्नुपर्छ । त्यस्तो चेकलाई डेबिट इन्स्ट्रक्सन स्लिप (डीआईएस) भनिन्छ । यस्तो चेक शेयर कारोबारका लागि डिम्याट खाता खोलिएका निक्षेप सदस्य (डीपी)हरुले खोल्ने काम गर्छन् । पछिल्लो समय भने मेरो शेयरको एप्लिकेसन प्रयोग गरेर अनलाइनबाट पनि त्यस्तो आदेश दिन सकिन्छ, यसलाई इलेक्ट्रोनिक डेबिट इन्ट्रक्सन स्लिप (ईडीआईएस) भनिन्छ । 

सोही चेकका आधारमा ब्रोकरले सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मध्यमद्वारा बिक्रेताको डिम्याट खाताबाट शेयर खरिद गर्ने व्यक्तिको खातामा सारिदिन्छ भने खरिदकर्ताले गरेको भुक्तानीको आधारमा सम्बन्धित बिक्रेतालाई बिक्री गरिएको शेयरको भुक्तानी दिन्छ । 

अहिले कारोबार भएको तेस्रो दिनभित्रै राफसाफ हुने प्रणाली रहे पनि भुक्तानीका लागि ५ दिनसम्म लाग्ने गरेको छ ।सोही समयलाई कम गराउन शेयर भुक्तानीको समयमा कडाई गरिएको हो । 

अहिले सीडीएससीअन्तर्गत ७५ ओटा डिपोजिटरी पार्टनर (डीपी), ४५ ओटा शेयर रजिष्ट्रार तथा ट्रान्सफर एजेन्ट (आरटीए) ५० ओटा क्लियरिङ सदस्य, ६४ ओटा सीआस्वा सदस्य १६ लाख डिम्याट खाता छन् । अहिले २१२ ओटा रजिष्टर्ड कम्पनीको ५ अर्ब १९ करोड कित्ता शेयरहरु अहिले अभौतिकीकरण भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप