शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई राप्रपाबीचको एकता फेरि भाँडियो

शनिबार, २४ फागुन २०७६, १४ : ५०
शनिबार, २४ फागुन २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको एकता फेरि भाँडिएको छ । शनिबार दुई पार्टीबीच एकतापत्रमा समझदारी हुने तय गरिएपनि विधानको विषयमा कुरो नमिल्दा फेरि एकता भाँडिन पुगेको हो । 

शनिबार राप्रपा संयुक्तको कार्यसम्पादन समितिको बैठकमा सो पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले नयाँ विधान भएमात्रै एकता हुने अडान लिएपछि एकता भाँडिन पुगेको राप्रपा स्रोतको दावी छ । 

स्रोतका अनुसार शुक्रबार राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा लोहनीबीच पार्टी एकता गर्ने विषयमा सहमाति जुटेको थियो । त्यसबारे राप्रपा संयुक्तले पार्टी कार्यसम्पादन समितिको बैठकबाट अनुमोदन गराएर एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने भनिएको थियो । 

आजको कार्यसमिति बैठकमा लोहनीले नयाँ विधानको कुरा निकालेको र सोही अनुसार एकता गर्ने निर्णय राप्रपा संयुक्तको तर्फबाट भएपछि भाँडिन पुगेको बताइएकाे छ। 

पार्टी निर्णयपछि संयुक्तकाे तर्फबाट  राणाले एकताको लागि नयाँ विधान हुनुपर्ने  कुरा कमल थापालाई भनेका थिए । तर थापाले हिन्दु राष्ट्र र राजतन्त्रसहितको हालको विधान हुनुपर्ने अडान लिएका थिए । 

राप्रपा निकट स्रोतले भन्यो–नयाँ विधानको कुरा गर्नु राष्ट्रसंस्था र हिन्दुराष्ट्र मान्दिनँ भन्नु हो । नयाँ विधानको बखेडा झिकेर एकता भाँड्ने काम भएको छ । यसबाट हजारौं कार्यकर्ताको भावनामाथि कुठाराघात भएको छ ।’

यता राप्रपा संयुक्तका एक नेताले भने कमल थापाले अन्तरिम विधानमा सहमति जनाएको भएनि नमान्दा एकताको माहोल बिग्रन पुगेको दावी गरेका छन् । उनका अनुसार अहिले आएर थापाले आफ्नै पार्टीको विधान हुनुपर्ने अडान लिएपछि समस्या उत्पन्न भएको हो । उनले पार्टी एकताको ढोका अझै पनि खुल्ला राख्ने शनिबारको बैठकले निर्णय गरेको भन्दै त्यसका लागि दुई अध्यक्ष राणा र लोहनीलाई सम्पूर्ण जिम्मेवारी दिइएको छ । 
दुई राप्रपाबीच एकता गर्नेबारे पटक पटक प्रयास हुँदै आएपनि त्यो प्रयास असफल हुँदै आएको छ । 

 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप