शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सासू–बुहारी

शनिबार, २४ फागुन २०७६, ११ : ४४
शनिबार, २४ फागुन २०७६

कामबाट फर्किन्छु । आमाको बोली खस्छ, ‘तेरी स्वास्नीले यस्तो भनी, उस्तो भनी । मैले भनेको केही टेर्दिनँ । मैले यो गर भन्छु । उसले अर्कै गरिदिन्छे  । माइतीमा राम्रो संस्कार सिकेकी भए पो ।’ आमालई सम्झाउन खोज्छु, बुझ्नुहुन्न । मैले के भन्नु । सुनिदिन्छु, चुप लागेर बसिदिन्छु ।

श्रीमती गर्भवती थिई । गाउँमा खसी काट्दा आमा पुगिहाल्नुहुन्थ्यो । एक, दुई भाग ल्याइहाल्नुहुन्थ्यो । खाना खाने बेला हुन्थ्यो । अरूलाई भन्दा बूढीलाई एक दुई, डाडु बढी नै पथ्र्यो । आमा प्याच्चै बोलिहाल्नुहुन्थो, ‘पछि जिउ हलुका भएपछि मसँग कराउन नसक्लिस् । अघाउन्जेल खा । जिउ बिग्रेला ।’ घरखर्च टार्न घिउ बेच्नुहुन्थ्यो । दुई महिना भइसक्यो, बेच्नुभएको छैन । खाना खाने बेलामा बूढीको भागमा एक दुई चम्चा घिउ परिहाल्छ ।

बूढी पनि के कम, सुत्ने बेला भो । आमाको कुरा गरिहाल्थी, ‘तपाईंकी आमा यस्ती । तपाईंकी आमा उस्ती । आज, मलाई यो गर्नुभयो । त्यो गर्नुभयो । म त अर्काकी छोरी । केको माया लाग्थ्यो ? मै मात्र त छु, जोतिने । यो घरको नोकर न परे ।’ कामबाट आयो, आमाको कचकच । सुत्ने बेला भयो, बूढीको कचकच । दिक्क लागेर आउँथ्यो ।

चर्पी जाँदा आमा लड्नुभएछ । बुढीले डोकोमा हालेर सदरमुकाम लगिछे ।  मलाई खबर गर्ने बुद्धिसमेत आएनछ । साँझ कामबाट फर्किंदा, कोही छैननु । हतारिएर सदरमुकाम पुगेँ । धन्न, केही भएनछ । आमाको ढाडमा अलिकति चोट लागेछ । दुई दिन अस्पताल बस्नुपर्ने भयो । आमा कराउँदै हुनुहुन्थ्यो, ‘केही भा’को छैन भनेको, सुन्दिनँ । डोकोमा हालेर कुदाइहाली । मैले भनेको कहाँ सुन्छे र ?’ 

बूढी चुपचाप थिई । आमाको कपाल मुसार्दै पिलपिल गर्दै थिई ।

म अचम्ममा पर्दै थिए । दुई जिउकी महिलाले कसरी ल्याइहोली ? त्यत्रो शक्ति कहाँबाट आयो होला ?

मैले कचकच मात्र देखेको रहेछु । सासू– बुहारीको माया देखेकै रहेनछु ।

बलबहादुर थापा मगर

बागलुङ न.पा.– १०, भकुण्डे अर्भक

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप