शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी गर्न सकिन्छ, राजनीतिक कार्यकर्ता संरक्षण

मङ्गलबार, १३ भदौ २०७४, ११ : १२
मङ्गलबार, १३ भदौ २०७४

राजनीतिक दलको सम्पत्ति भनेको कार्यकर्ता पनि हो । सम्बन्धित दललाई विचार र संगठनमात्रैले पुग्दैन । दल समृद्ध बनाउन कार्यकर्ता अनिवार्य सर्त हो । जुन अपरिहार्य छ । कार्यकर्ता धेरै हुनु सम्बन्धित दल मजबुत हुनु हो । तर, व्यवस्थापन गर्न जानिएन भने कार्यकर्ताले समस्या निम्त्याउन सक्छ । कार्यकर्ता संरक्षण गर्नु जुनकुनै दलको कला हो ।  

‘राजनीतिक कार्यकर्तालाई व्यवसायमा बाँध्नुपर्छ,’ काँग्रेस महासमिति सदस्य सुवास पोखरेल भन्छन्, ‘राजनीति भनेको सेवा हो । राजनीति गर्नेले जागिर खाएजस्तो महिनैपिच्छे तलब थाप्दैनन् । तसर्थ पार्टटाइम सेवा गर्ने, बाँकी समय व्यावसायिक काममा लगाउनुपर्छ । त्यसो गर्न सकियो भनेमात्रै राजनीतिक कार्यकर्ता संरक्षण गर्न सकिन्छ ।’ 

कार्यकर्ता संरक्षण भन्नासाथ आर्थिक र राजनीतिक संरक्षण भन्ने बुझिन्छ । राजनीतिक संरक्षण भनेको तपाईं कुन स्तरको राजनीतिक कार्यकर्ता निर्माण गर्दै हुनुहुन्छ । ताकि देशले त्यसको प्रतिफल पाऊन् । ‘राजनीतिक कार्यकर्ता आर्थिक होइन, नैतिक र वैचारिक रूपमा सक्षम हुनुपर्छ,’ काँग्रेस महासमिति सदस्य पोखरलेको मान्यता छ, ‘आर्थिक रूपमा गरिब भएर राजनीतिक कार्यकर्ता गरिब हुँदैनन् । गरिबीका कारण वैचारिक गरिबी पनि हो । त्यतिमात्रै होइन, सांस्कृतिक गरिबी झन् डरलाग्दो हुन्छ । राजनीतिक कार्यकर्तालाई वैचारिक र सांस्कृतिक गरिबीबाट जोगाउन सक्नुपर्छ ।’ अनि मात्रै राजनीतिक कार्यकर्तालाई सक्षम बनाउन सकिन्छ । सक्षम राजनीतिक कार्यकर्तालाई संरक्षण गर्न अप्ठ्यारो छैन ।

राजनीतिक कार्यकर्तालाई आर्थिकसँगै राजनीतिक र तहगत संरक्षण गर्न सक्नुपर्छ । यसैगरी, उनीहरूको संरक्षण ‘रिसर्च ओरिन्यटेड’ हुनुपर्छ । हामीले आर्थिक विकाससँगसँगै सामाजिक अभियन्ता बनाउनुपर्छ । त्यसो गर्न ‘रिसर्च ओरिन्यटेड’ समूह तयार गर्नुपर्छ । 

राजनीति ‘मिसनरी’ चीज हो । यसले समाज परिवर्तन गर्छ । राजनीतिले समय व्यवस्थापन गर्छ । समय व्यवस्थापन गर्ने सन्दर्भमा दक्षिण एसियाका नेता समस्याग्रस्त छन् । त्यसले कार्यकर्ता संरक्षणमा असर पार्छ । कसरी ? ‘सम्बन्धित नेताले एक कार्यकर्तालाई पाँच मिनेट समय तल÷माथि गर्नु भनेको हजारौं कार्यकर्ता प्रभावित हुनु हो,’ उनी सोध्छन्, ‘जब समय व्यवस्थापन गर्न सकिँदैन भने तपाईले निजी जीवन व्यवस्थापन, सामाजिक र राजनीतिक अभियान कसरी अघि बढाउनुहुन्छ ? समयको व्यवस्थापन गर्न सकिँदैन भने मिसन कसरी क्रियट गर्नुहुन्छ ?’

अर्को समय व्यवस्थापन र ‘मिसनरी पोलिटिक्स’ हो । कार्यकर्ता विचारले बाँधिन्छ । अधिक बन्धन पनि विष हुन्छ । संसारमा प्रेम प्रिय छ । प्रेम धेरै भयो भने विष हुन्छ । प्रेममा त विष हुन्छ भने बन्धन कसैलाई स्वीकार्य छैन । बन्धन भनेको विचार हो । मिसन हो । मिसन नै अभियान हो । 

सम्बन्धित राजनीतिक दलका लागि कार्यकर्ता सम्पत्तिमध्येको एक हो । ‘सन्तान सम्पत्ति र समस्या पनि हुन्,’ नेता पोखरेल सुझाउँछन्, ‘धेरै सन्तान हुनु ठीक होइन भन्ने गरिन्छ । तर, धेरै सन्तान भनेको सम्पत्ति पनि त रहेछ नि । धेरै सन्तान भए खाडी पठाउन सके पैसा ल्याउँदारहेछन् । सन्तान समस्या होइन, व्यवस्थापन गर्न नसक्नु समस्या हो । राजनीतिक कार्यकर्ता धेरै भए सम्बन्धित दल शक्तिशाली हुन्छ । तर, व्यवस्थापन गर्न सकेन भने दललाई समस्या हुन्छ । व्यवस्थापन गर्न जाने कार्यकर्ता सम्पत्ति हुने रहेछ नि ।’ 

राजनीति भनेको समाजनिर्माणको प्रक्रिया हो । जस्तो हामी एउटा घर बनाउँछौं । घरमा बावुआमा हुन्छन् । सृष्टि हुन्छ । सन्तान हुन्छन् । राजानीतिक पार्टीको पनि एउटा सृष्टि छ÷हुन्छ । त्यो परिवारभन्दा ठूलो छ । त्यो सामाजिक परिवार हो । राजनीतिले सामाजिक व्यवस्थालाई सुव्यवस्थित गर्ने हो । राजनीति भनेको समाजको विधि व्यवस्थित गर्नु हो । राजनीतिले सामाजिक व्यवस्था व्यवस्थापन गर्छ । राजनीति भनेको सामाजिकविज्ञान हो । राजनीतिलाई व्यवस्थापन कला भनिन्छ । राजनीतिक कार्यकर्ता संरक्षण गर्नु भनेको पनि त सम्बन्धित दलको कला हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप