शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किन आवश्यक छ गर्भधारण गर्नुपूर्वको परामर्श ?

स्वस्थ्य शिशु जन्माउन गर्भधारणपूर्व परामर्श आवश्यक छ : डा. विनयराज भण्डारी
शुक्रबार, २३ फागुन २०७६, ०९ : २६
शुक्रबार, २३ फागुन २०७६

बच्चा जन्माउने चाहना हरेक दम्पतीमा हुन्छ । तर धेरैजना गर्भधारणका लागि आफू तयार छु कि छैन भन्नेबारे बेखबर जस्तै हुन्छन् ।

के तपाईं गर्भधारणका लागि तयार हुनुहुन्छ ? गर्भधारणका लागि के तपाईंको स्वास्थ्य अवस्था ठीक छ त ? यसबारे थाहा पाउनु तपाईंका लागि महत्त्वपूर्ण छ । किनकि गर्भधान र बच्चा जन्मेपछि आउन सक्ने समस्याबारे पहिले नै सचेत हुन सकेमा आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुन सक्छ ।

स्वस्थ्य शिशु जन्माउनका लागि गर्भधारण पूर्वको परामर्श (प्रि–कन्सेप्सन काउन्सेलिङ)ले महत्त्वपूर्ण भूमिका खेल्छ । स्वस्थ्य बच्चा, जोखिमरहित गर्भावस्था, मातृ मृत्यु र शिशु मृत्युदरबाट बच्नका लागि पनि गर्भधारण पूर्वको परामर्श आवश्यक छ । त्यसैगरी विभिन्न रोग सर्ने खतराबाट बच्चालाई बचाउनका लागि गर्भधारणपूर्वको परामर्श वा चेकजाँचलाई निकै महत्त्वपूर्ण मानिएको छ ।

नेपालको हालसम्मको स्थिति के छ भने गर्भवती भएपछि अस्पताल जानु पर्छ भन्ने चेतना भए पनि गर्भधानपूर्व नै आवश्यक जानकारी हासिल गर्नका लागि र आमा तथा गर्भमा आउने शिशुको स्वास्थ्यका लागि पनि अस्पताल जानुपर्छ र स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चेतनामा भने अझै कमी छ ।

तपार्इं गर्भधारण गर्न चाहनु हुन्छ तर तपाईंको शारीरिक, मानसिक अवस्था गर्भधारणका लागि तयार हुनुहुन्छ या हुनुहुन्न भन्नेबारे गर्भधारणपूर्व चिकित्सकसँग गरिने परामर्श हो प्रि–कन्सेप्सनल काउन्सेलिङ । वास्तवमै किन आवश्यक छ त प्रिकन्सेप्सन काउन्सेलिङ ? भन्नेबारे हामीले नेपाल मेडिसिटीका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. विनयराज भण्डारीसँग कुराकानी गरेका छौँ ।


स्वास्थ्य सेवाको पहुँच बढ्दै जाँदा आमा तथा शिशुले अकालमै ज्यान गुमाउनुपरेको घटनामा कमी आएको छ । आजभोलिका सचेत महिला तथा पुरुषले उमेर पुगेपछि मात्रै बच्चा जन्माउनका लागि योजना बनाउने गरेका छन्, यसले मातृशिशु मृत्यु दरमा कमी ल्याएको छ ।


प्रि–कन्सेप्सनल काउन्सेलिङ

दम्पतीले बच्चा जन्माउने चाहना गरेसँगै गर्भधारणका लागि महिला तयार छिन कि छैनन् भनेर चिकित्सकको सल्लाह लिनु वा स्वास्थ्य जाँचको प्रक्रियालाई प्रि–कन्सेप्सनल काउन्सेलिङ भनिन्छ । यसमा पुरुषको स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । स्वास्थ्य अवस्था महिलाको मात्र ठीक भएर हुँदैन पुरुषको पनि ठीक हुनुपर्छ ।

प्रजनन स्वास्थ्यबारे जानकारी नहुँदा किशोरावस्थामै बच्चा जन्माउने र आमा र बच्चा दुवैको ज्यान खतरामा परेका खबर धेरै सुनिन्छन् । अझै पनि ग्रामीण भेगमा किशोरावस्थामै विवाह हुने र बच्चा जन्माउने जनका कारण मातृ शिशु मृत्यु हुने गरेका छन् । उमेर नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्य विग्रने तथा ज्यानै जान सक्ने खतरा उत्तिकै हुन्छ । विगतमा यस्ता घटना धेरै हुने गरे पनि अहिले प्रजनन स्वस्थ्य र उमेर पुगेपछि विवाह गर्ने चलनले यसमा केही कमी आएको छ ।


गर्भाधान पूर्वको परामर्शमा आउने महिलाहरुमा बच्चा जन्माउँदा आउने समस्यामा कमी देखिएको छ । चिकित्सकको परामर्शबिना नै बच्चा जन्माउनेहरुमा भन्दा परामर्श लिएर अनि स्वास्थ्य जाँच गराएर बच्चा जन्माउनेहरुमा समस्या र जोखिम न्यून छ । कारण हो कुनै स्वास्थ्य समस्या छ भने उपचार गरेर मात्र बच्चाका लागि योजना बन्ने भएकाले समस्यामा कमी आउँछ ।


स्वास्थ्य सेवाको पहुँच बढ्दै जाँदा आमा तथा शिशुले अकालमै ज्यान गुमाउनुपरेको घटनामा कमी आएको छ । आजभोलिका सचेत महिला तथा पुरुषले उमेर पुगेपछि मात्रै बच्चा जन्माउनका लागि योजना बनाउने गरेका छन्, यसले मातृशिशु मृत्यु दरमा कमी ल्याएको छ ।

त्यसैगरी आजभोलि धेरै मानिसहरु करियर उन्मुख हुन थालेकाले ३० वर्षपछि मात्रै विवाह गर्ने र बच्चा जन्माउने गरेको पाइन्छ । त्यो अवस्थामा अस्पतालमा धेरै दम्पती बच्चा नबस्ने समस्या र बसे पनि गर्भपातको समस्या लिएर पुग्ने गरेका छन् । बच्चा नहुनुमा एउटा प्रमुख कारण त उमेर हो भने अर्को स्वास्थ्यवस्था ।

त्यसैले आजभोलि अस्पतालहरुले प्रिकन्सेप्सन काउन्सेलिङ (गर्भधानपूर्व चिकित्सकसँग गरिने परामर्श)लाई प्राथमिकतामा राख्न थालेका छन् । सँगै जनचेतनाका लागि पनि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

२० देखि ३० वर्षको बीचको समय प्रजनन स्वास्थ्यका लागि अति उत्तम समय मानिन्छ । बच्चा जन्माउन चाहने दम्पतीका लागि यो समय उपयुक्त हुने र स्वास्थ्यका हिसाबले पनि यो समयमा खतरा कम हुने सुझाव चिकित्सकहरुले दिने गरेका छन् ।

कतिलाई दीर्घ रोगका कारण, कतिमा ३० वर्षपछि नै मेनोपज (महिनावारी सुक्ने) सुरु हुने हुँदा बच्चा बस्ने सम्भावना कम हुने गरेको पाइएको छ । यसको मतलब ३० वर्ष पछि बच्चा नहुने नै भन्ने चाहिँ होइन । कतिले ४० वर्षपछि पनि बच्चा जन्माएका छन् । त्यसैले समयमै शारीरिक र मानसिक स्वास्थ्य सबल बनाएर बच्चा जन्माउने योजना बनाउँदा जोखिमको सम्भावना पनि उत्तिकै कम हुन्छ ।

डा. विनयराज भण्डारी

परामर्शमा आउनेहरुमा गर्भावस्थाको जोखिम कम

गर्भाधान पूर्वको परामर्शमा आउने महिलाहरुमा बच्चा जन्माउँदा आउने समस्यामा कमी देखिएको छ । चिकित्सकको परामर्शबिना नै बच्चा जन्माउनेहरुमा भन्दा परामर्श लिएर अनि स्वास्थ्य जाँच गराएर बच्चा जन्माउनेहरुमा समस्या र जोखिम न्यून छ । कारण हो कुनै स्वास्थ्य समस्या छ भने उपचार गरेर मात्र बच्चाका लागि योजना बन्ने भएकाले समस्यामा कमी आउँछ । यदि कुनै रोग छ वा शरीरमा रोगप्रतिरोधी क्षमता कम छ भने गर्भाधानको समय विभिन्न समस्या आइरहने भएकाले रोगको उपचार गरेर मात्र गर्भाधान गर्नुपर्छ ।

जस्तो दुई तीन महिनाको समयमा गर्भ जाने समस्या उमेर बढेसँगै बढी हुने भएकाले चिकित्सकसँगको परामर्शमा गर्भधारण भएको छ भने यो सम्भावना निकै कम भएर जान्छ । त्यसैले बच्चा जन्माउने योजना छ भने महिला पुरुष दुवैले पहिला चिकित्सकको परामर्श लिनु जरुरी छ ।

केके हुन्छ परामर्शमा ?

परामर्शमा सामान्यतया महिला पुरुष दुवैजनाको स्वास्थ्य हिस्ट्री हेरिन्छ । जसबाट कुनै दीर्घ रोग छ या छैन थाहा हुन्छ । त्योसँगै दुवै जनामा तत्काल कुनै शारीरिक वा मानसिक समस्या छ या छैन भन्ने बारे जानकारी लिइन्छ र यदि समस्या छ भने त्यसको उपचार गरेर मात्रै बच्चा जन्माउने सल्लाह चिकित्सकले दिन्छन् ।

चिकित्सकहरुले २० वर्षभन्दा तलको उमेरमा बच्चा जन्माउन चाहने दम्पतीलाई बच्चा नजन्माउन र केही समयपछि मात्र योजना बनाउन सुझाव दिने गरेका छन् ।

त्यसैगरी ३५ वर्षमाथिका दम्पतीहरुलाई पूर्ण स्वास्थ्यको ख्याल गरेर मात्रै बच्चा जन्माउने सल्लाह दिने गरेका छन् । जस्तो कि ३५ वर्षमाथिका दम्पतीमा बढी देखिने समस्या भनेको सुगर, उच्च रक्तचापको हो । पारिवारका सदस्यमा कसैमा सुगर वा उच्च रक्तचापको समस्या छ भने त्यो उनीहरुमा आउन सक्ने सम्भावना बढी हुन्छ ।

३५ वर्ष कटेपछि समयमा गर्भ नरहने समस्या पनि बढी छ । त्यसैगरी त्यो उमेरमा आउन सक्ने अर्को समस्या भनेको डाउन सिन्ड्रोम हो । ३५ वर्ष माथिका महिलाहरुले बच्चा जन्माउँदा स्वास्थ्यको ख्याल नगर्ने हो भने पनि यो समस्या आउने खतरा हुन्छ । ३५ वर्षमाथिका २५० जना महिला गर्भवती छन् भने त्यसमा एकजनामा डाउन सिन्ड्रोम देखिन सक्ने खतरा उच्च छ । त्यसैले ढिलो बच्चा जन्माउनु भनेको खतरा मोल्नु पनि हो । यस्ता कुराहरुलाई ध्यान दिने हो भने चिकित्सकको परामर्शमा जानु उपयुक्त मानिन्छ ।


गर्भधानपूर्व नै आउने महिला पुरुषहरुले यस्ता परामर्श र चेकजाँच गराउने गरे पनि गर्भधानपछि आउनेहरुको हकमा भने यी चेकजाँचको अर्थ हुँदैन ।


गर्भवती हुनुपूर्वको परामर्श तथा चेकजाँचको अर्को महत्त्वपूर्ण फाइदा भनेको अङ्गभङ्गबाट बच्नु हो । परिवारको तीन पुस्तामा कुनै अङ्गभङ्गको समस्या थियो या थिएन र परिवारमा वंशाणुगत समस्याहरु भए नभएको बारे जानकारी लिइने भएकाले यसबाट समयमै सचेत रहन सकिन्छ ।

गर्भधारण गर्ने महिला वा पुरुषले धूमपान, मध्यपान गर्ने, विभिन्न औषधिहरुको प्रयोग गर्ने, लागू औषधको प्रयोगीहरु छन् भने त्यस्ता व्यक्तिहरुले स्वस्थ बच्चा जन्माउन सक्दैनन् । त्यसको असर सीधै बच्चामा पर्ने भएकाले यस्ता बानी त्यागेर आफ्नो शरीर स्वस्थ पारेर मात्र बच्चा जन्माउनुपर्छ ।

बच्चा पेटमा बसिसकेपछि बच्चाको मेरुदण्ड राम्रोसँग विकास नभएर समस्या आएका उदाहरणहरु पनि छन् । यसबाट बच्न गर्भधारण गर्नुभन्दा तीन महिना अगाडिबाटै फोलिक एसिड (भिटामिन बी)को प्रयोग गर्दा समस्यामा कमी आउँछ । आमा बन्नुपूर्व यदि यस्ता कुरामा ख्याल गर्ने हो भने भोलि समस्याबाट बच्न सकिन्छ । यसले बच्चाको मेरुदण्डको विकास र दिमाग विकासमा सहयोग गर्छ ।

परामर्शको क्रममा महिला पुरुष दुवैको सम्पूर्ण चेकजाँच हुन्छ । जसमा हर्मोन, सुगर, प्रेसर, हेमोग्लोबिन, एचआईभी, हेपाटाइटिस जस्ता रोगहरु भए नभएको हेरिन्छ ।

योसँगै रुबेला र भेरिसेलाविरुद्ध लड्न सक्ने क्षमता आमामा छ कि छैन भनेर पनि जाँच गरिन्छ । यो जाँचमा आईजीजी लेभल (रक्त सञ्चारमा पाइने एन्टिबडीको प्रकार) हेरिन्छ । आईजीजी लेभल ठीक छ भने रुबेला र भेरिसेलाको भ्याक्सिन दिनु पर्दैन यदि आईजीजी लेभल कम छ भने रुबेला र भेरिसेलाको भ्याक्सिन दिएर दुई महिनापछि मात्र गर्भधारण गर्न सुझाव दिइन्छ । यसले भविष्यमा आमा र बच्चालाई हुने सङ्क्रमणबाट जोगाउँछ ।

गर्भधानपूर्व नै आउने महिला पुरुषहरुले यस्ता परामर्श र चेकजाँच गराउने गरे पनि गर्भधानपछि आउनेहरुको हकमा भने यी चेकजाँचको अर्थ हुँदैन ।

प्रि–कन्सेप्सनल काउन्सेलिङको फाइदा

–गर्भवती हुन चाहने महिलामा केही स्वास्थ्यसम्बन्धी समस्या छ या छैन भनेर पत्ता लगाउन सकिन्छ ।

–समस्या भएमा उपचार गरेर मात्र गर्भवती हुँदा भविष्यमा आउने खतराबाट बच्न सकिन्छ ।

–गर्भवती भइसकेपछि आउन सक्ने समस्यालाई रोक्न सकिन्छ ।

–गर्भपात हुने सम्भावना रोक्न सकिन्छ, बच्चामा आउने शारीरिक र मानसिक समस्याबाट रोक्न सकिन्छ ।

गर्भाधानबाट भविष्यमा आउन सक्ने समस्यालाई रोक्न सकिने भएकाले पहिले नै चिकित्सकको परामर्शमा जानु उपयुक्त हुन्छ । किनकि अहिले विश्वमै विभिन्न खालका सङ्क्रमणहरु फैलिरहेको अवस्था छ र विभिन्न नयाँ नयाँ रोगहरु पनि देखिइरहेका छन् । यसबाट बच्न, मातृशिशु मृत्युबाट बच्न, आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि पनि प्रि–कन्सेप्सन काउन्सेलिङ अत्यन्त जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप