शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांस्कृतिक क्रान्ति, नक्सलवादी र झापा आन्दोलन

बिहीबार, २२ फागुन २०७६, ११ : ५४
बिहीबार, २२ फागुन २०७६

विषय प्रवेश

‘चिनियाँ अध्यक्ष माओ हाम्रो पनि अध्यक्ष हो साथै चिनियाँ बाटो नै हाम्रो पनि बाटो हो ।’ यो नक्सलवादी आन्दोलनको प्रणेता चारु मजुम्दारले पार्टी दस्तावेजमा गम्भीर ढङ्गले उठाएको विषय हो । यो भनाइबाट के स्पष्ट हुन्छ भने, नक्सलवादी आन्दोलनमा चिनियाँ क्रान्तिको प्रभाव निर्णायक थियो । चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति, नक्सलवादी र झापा आन्दोलन लगभग एउटै ऐतिहासिक परिवेशमा भएको थियो । अर्थात चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभाव नक्सलबारीमा र नक्सलवारी आन्दोलनको प्रभाव नजिकैको झापा आन्दोलनमा अभिव्यक्त भयो । यसकारण झापा आन्दोलनको उत्प्रेरणा भन्नु नै सांस्कृतिक क्रान्ति हुँदै नक्सलवादी आन्दोलन हो । चीनमा समाजवाद निर्माणअन्तर्गत निरन्तर क्रान्तिको ऐतिहासिक प्रक्रियालाई जीवन्त राख्न १९६६ मा सर्वहारा सांस्कृतिक क्रान्तिको उद्घोष गरियो । यो तात्कालीन चिनियाँ कम्युनिस्ट अर्थराजनीतिमा घुसेका सबैखाले गैरक्रान्तिकारी र गैरसर्वहारावादी प्रवत्तिहरुलाई निस्तेज पार्दै सामाजवाद निर्माणको राजनीतिक महाअभियान थियो ।

ऐतिहासिक पृष्ठभूमिः

सन् १९१७ को महान अक्टोबर क्रान्तिपछि सोभियत सङ्घ पहिलो समाजवादी मुलुक बन्यो । यसपछि विश्व अर्थराजनीतिमा एकाएक नयाँ तरङ्ग पैदा भयो । विभिन्न कोणहरुबाट समाजवादबारे बहस हुनथाल्यो । संसारैभरि कम्युनिस्ट आन्दोलनको माहोल बन्यो । यसैबीच १९२० मा भारतीय कम्युनिस्ट पार्टीको स्थापना भयो । स्टालिन जीवित रहेसम्म सोभियत समाजवादी आन्दोलन निरन्तर रूपान्तरणको ऐतिहासिक प्रक्रियामा थियो । तर स्टालिनको मृत्यु पछि ख्रुस्चेभले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद, अतिरिक्त मूल्य, सर्वराहारा अधिनायकत्व र वर्गसङ्घर्ष जस्ता मार्क्सवादको आधारभूत सिद्धान्तलाई तिलाञ्जली दिए । उसले शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण सङ्क्रमण र शान्तिपूर्ण प्रतिस्पर्धा जस्ता वर्ग आत्म समर्पणवादी राजनीतिक कार्यदिशा अपनाए । १९५६ को बिसौँ महाधिवेशनमा उनले ‘राष्ट्रिय प्रजातन्त्र’ जस्ता सुधारवादी कार्यक्रम घोषणा गरे । १९६० मा मास्कोमा कम्युनिस्ट र मजदुर पार्टीको अन्तर्राष्ट्रिय बैठक राखियो । बैठकले ख्रुस्चेभको सम्झौतावादी लाइनलाई अनुमोदन ग¥यो । तर माओले सोभियत संशोधनवादी विचलनको कडारूपमा प्रतिवाद गर्दै महान बहसको थालनी गरे ।

त्यसपछि विश्व कम्युनिस्ट आन्दोलन दुई खेमामा विभाजित भयो । यसबाट भारतीय कम्युनिस्ट पार्टी पनि प्रभावित भयो । भाकपाले सोभियत मोडेलअन्तर्गत संसदीय चुनावमा भाग लियो । तर केरला राज्यमा मात्र जित हात पा-यो । उसले आफ्नो विधानबाट सशस्त्र सेना पदावली नै हटायो । यही विचारधारात्मक अन्तरविरोधकै कारण १९६४ मा पार्टी फुट्यो । भाकपा सोभियत सुधारवादी लाइनमा लाग्यो भने, भाकपा मार्क्सवादीले माओको क्रान्तिकारी लाइन अङ्गीकार ग¥यो । नक्सलवादी आन्दोलन सांस्कृतिक क्रान्तिकै उपज थियो । यद्यपि कम्युनिस्ट पार्टीको नेतृत्वमा मोही किसानहरुले १९४६ मा पश्चिम बङ्गालमा गरेको त्रिभागी आन्दोलन र १९५१ मा तेलङ्गनामा भएको किसान विद्रोहको प्रभाव नक्सलवादी  आन्दोलनमा परेको देखिन्छ ।

बाह्य प्रभाव

दोस्रो विश्वयुद्धपछि तेस्रो विश्वका मुलुकहरुमा राष्ट्रिय मुक्ति आन्दोलन विश्व अर्थराजनीतिक सङ्घर्षको मूल चरित्र बन्नपुग्यो । जताततै उपनिवेश विरुद्धको लडाइँ उत्कर्षमा पुग्यो । यही राष्ट्रवादी आन्दोलनको लहरसँगै वर्गीय मुक्ति आन्दोलन पनि उत्कर्षमा पुग्यो । यही सिलसिला अन्तर्गत कमरेड माओको नेतृत्वमा १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भयो । माओले गाउँको शोषित पीडित जनताहरुलाई सङ्गठित गरेर सङ्घर्ष गरी उत्पीडित वर्गीय सत्ता स्थापना पछि व्यापक रूपमा समाजवाद निर्माणको अभियान चलाए । त्यसमा शुद्धीकरण अभियान, महान अग्रगामी छलाङ र सर्वहारा सांस्कृतिक क्रान्ति मुख्य हुन् । यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा व्यापक प्रभाव प¥यो । जताततै क्रान्तिकारी मुक्ति आन्दोलनको ज्वार पैदा भयो । यसैबीच यता भाकपा मार्क्सवादीको नेता चारु मजुम्दारले १९६७ मा नक्सलबारीमा सशस्त्र किसान आन्दोलनको नेतृत्व गरे, जुन चिनियाँ क्रान्तिबाट प्रभावित थियो ।

त्यसबेला सोभियत सङ्घ सुधारवादमा फसिसकेको थियो । त्यसैले नक्सलवादी आन्दोलनमा उसको प्रभाव थिएन । यसमा चिनियाँ कम्युनिस्ट पार्टीको पूर्ण समर्थन र सहयोग थियो । नक्सलवादी आन्दोलनको सन्दर्भमा चिनियाँहरुले टिप्पणी गर्दै भने, ‘भाकपा क्रान्तिकारी समूहको नेत्रृत्वमा किसानहरुले ग्रामीण क्रान्तिकारी सशस्त्र सङ्घर्ष प्रारम्भ गरेको छ । यो भारतीय जनताका लागि ऐतिहासिक महत्त्वको सवाल हो । यो असाध्यै सही कदम हो । चिनियाँ जनता यसको सहर्ष समर्थन र सहयोग गर्दछ । तेलङ्गना विद्रोहबाट ऐतिहासिक पाठ सिक्दै भारतको क्रान्तिकारी कम्युनिस्ट पार्टीले राजनीतिक, विचारधारात्मक तथा सङ्गठनात्मक रूपमा सोभियत सङ्घको सुधारवादी दिशाविरुद्ध आन्दोलन सुरु गरेको छ ।’ यो भनाइबाट के प्रष्ट हुन्छ भने, तात्कालीन नक्सलवादी आन्दोलन मूलतः चिनियाँ क्रान्तिबाट प्रभावित थियो ।

नक्सलवादी आन्दोलनः

१९६७ मा भाकपा मार्क्सवादीका नेता चारु मजुम्दारको नेतृत्वमा पश्चिम बङ्गालको सानो गाउँ नक्सलबारीमा सशस्त्र किसान आन्दोलन प्रारम्भ भयो । यो आन्दोलन मार्क्सवादी सशस्त्र समूहले गरेको थियो । तात्कालीन अवस्थामा चारु मजुम्दार, कानु सन्याल जङ्गल सन्थाल लगायतका नेताहरुले आन्दोलनको नेतृत्व गरेका थिए । यसलाई उनीहरुले ‘वर्गदुस्मन सफाय’ अभियान भनेर घोषणा गरे । ठूला भूमिपतिहरुको चरम शोषण, दमन र विभेदमा पिल्सिएका बहुसङ्ख्यक गरिब किसानहरुलाई सङ्गठित गरेर आन्दोलनमा सहभागी गराए । यसका लागि त्यहाँ किसान सभाको समेत आयोजना गिरियो जहाँ हजारौँ किसान सामेल भए । तब उनीहरु मुक्ति आन्दोलनमा लागे । सामन्तहरुबाट कब्जा गरेको अन्न र जमिन गरिब किसानहरुलाई बाँडे । यसबाट किसानहरु खुसी भए । यो आन्दोलन विशेष गरेर बिहारको  मुसहर, उत्तरप्रदेशको लखिमपुर र बङ्गालको दुम्बारा क्षेत्रमा घनिभूत रूपमा विस्तार भयो ।

नक्सलबारीमा सन्थाल, मधेसिया, ओरान, गुण्डा र राजवंशी लगायतका उत्पीडित जाति बसोबास गर्दथे । उनीहरु सबैको पेसा मोही किसान थियो । भूमिपतिको जमिन जोतेर जीविका चलाउनुबाहेक अर्को विकल्प थिएन । त्यसैले उनीहरु माथि भूमिपतिहरुले चरम शोषण र अन्याय गर्दथे । यही धरातलमा सशस्त्र सङ्घर्षविना किसानमाथिको अन्याय, अत्याचार र विभेदहरुको स्थायी अन्त्य हुँदैन भन्ने भाकपा मार्क्सवादीको निष्कर्ष थियो । तब प्रतिक्रियावादी सत्ताविरुद्ध सशस्त्र सङ्घर्ष गर्ने निधो ग¥यो । यो आन्दोलन पूरै दुःखी, गरिब र सीमान्तकृत समुदायकोे हितमा केन्द्रित थियो । यसकारण आम नागरिकहरु भाकपा मार्क्सवादीको विचार सिद्धान्तप्रति आकर्षित हुनथाले । नक्सलबारीबाट सुरु भएको आन्दोलन अन्या राज्यहरुमा फैलियो । विद्रोहीहरुले विभिन्न स्थानमा सशस्त्र कारबाहीहरु सञ्चालन गरे । आन्दोलनमा अन्य क्रान्तिकारी सङ्गठनहरु पनि आबद्ध हुनथाले । यसमा माओवादी कम्युनिस्ट केन्द्र र पिपल वार ग्रुप पनि सामेल भयो, जुन पछि भाकपा माओवादी बन्यो । बहुसङ्ख्यक नागरिकहरुको सहयोग र साहनुभूति रह्यो ।

१९७१ मा नक्सलवादी आन्दोलन उत्कर्षमा पुग्यो । यद्यपि यो कसैको रहर, लहड र सनकको मात्र सवाल थिएन । यसमा तात्कालीन भारतीय सामन्तवादी अर्थराजनीतिको गैरन्यायिक चरित्र जिम्मेवार थियो । किसान, युवा र विद्यार्थी सबै आन्दोलनमा सामेल भए । नक्सलवादी आन्दोलनको मुख्य चारवाट उद्देश्य थियो । यसमा पहिलो सामन्ती राज्यव्यवस्थाको अन्त्य गर्ने र किसान अधिनायकत्वसहितको राज्यसत्ता स्थापना गर्ने भन्ने थियो । दोस्रो स्वेत आतङ्कविरुद्ध लाल आतङ्क फैलाउने थियो । तेस्रो, ग्रामीण जनतालाई आन्दोलनको नेतृृत्व गर्न सक्षम गराउने भन्ने थियोे । चौथो, सर्वसाधरण जनतालाई विद्रोहमा लाग्न उत्प्रेरित गर्नुथियो अर्थात समग्रमा यो सामन्ती शोषण र विभेदविरुद्ध लक्षित थियो ।

झापा आन्दोलन

नक्सलवादी आन्दोलनको प्रभाव झापामा पनि प-यो । तात्कालीन नेकपा फुट, दक्षिणपन्थी अवसरवादी विचलन र अक्रमण्यतामा फसिरहेको थियो । उनीहरु सामाजिक अन्तरविरोधहरु परिपक्व नभएको भन्दै क्रान्तिलाई धकेल्दै आइरहेका थिए । यही वस्तुगत राजनीतिक धरातलमा केन्द्रबाट छुट्टिएको समूह, पूर्वकोसी प्रान्तीय कमिटी मातहतको युवाहरुले २०२८ सालमा झापा आन्दोलनको नेत्रृत्व गरे । वस्तुतः केही युवाहरुको जोश, जाँगर र आक्रोशमा यो आन्दोलन भएको देखिन्छ । उनीहरुले पूर्व कोसी प्रान्तीय कमिटीसँग सम्बन्ध तोड्दै नक्सलवादीसँग सम्पर्क बढाए । झापा आन्दोलनमा पनि नक्सलवादीहरुको जस्तै ‘वर्गदुस्मन सफाय’कै नीति अपनाइएको थियो । अर्थात यो विद्रोह नक्सलवादी आन्दोलनकै नेपाली संस्करणभन्दा पनि दुई मत हुँदैन । त्यतिखेर विश्वव्यापी रूपमै सशस्त्र सङ्घर्षको लहर थियो । कम्युनिस्ट पार्टीको लागि शान्तिपूर्ण आन्दोलनलाई सही मानिँदैनथ्यो । नक्सलवादी र झापाली आन्दोलन यसैको उपज थियो ।

मूलतः नक्सलवादी विद्रोह र झापा आन्दोलनको विचारधारात्मक र सैद्धान्तिक पक्ष समानान्तर देखिन्छ । नक्सलवादीले जस्तै झापालीहरुले पनि ‘वर्गदुस्मन खतम’ अभियान चलाए । झापालीहरुले ‘एक क्षेत्र एक युनिट र एक स्क्वाएड एक एक्सन’ को नीति अन्तर्गत सामन्तहरुलाई कारबाही गरे । यद्यपि नक्सलवादीहरुले ठूलो सङ्ख्यामा किसानहरुलाई सहभागी गराएका थिए । एउटै स्क्वाएडमा ८ सयसम्म किसानहरु सङ्गठित थिए । यता झापामा भने केही  युवा काडरहरुले भूमिगत गतिविधि गरे । नक्सलवादी र झापा आन्दोलनको धेरै पक्षहरु मिल्दोजुल्दो देखिन्छ भने कतिपय भिन्न पनि छ । दुवै आन्दोलनको प्रभाव अन्य भूभागमा पनि फैलियो । त्यसबेला भारतमा संसदीय पद्धति थियो भने नेपालमा निरङ्कुश राजतन्त्र थियो । भारतमा आन्दोलन छिन्नभिन्न भयो भने नेपालमा अझ एकीकृत हुँदै गयो । भारतमा अझै पनि सानो स्केलमा नै भए पनि आन्दोलन जारी छ तर नेपालमा झापा आन्दोलन इतिहास भइसकेको छ । यद्यपि दुवै आन्दोलनले वाम विरासतलाई जोगाएको देखिन्छ ।

कमजोर पक्षः

नक्सलवादी र झापा आन्दोलनको थुप्रै कमजोर पक्षहरु रहेको छ । सिद्धान्ततः यो उग्रवामपन्थी भड्काव नै हो । लामो ऐतिहासिक प्रक्रिया, सङ्गठित र योजनाबद्ध नभएर केवल वाम लफ्फाजी र मनोगत भावनाले घर गरेको देखिन्छ । अफ्नो वस्तुगत अन्तरविरोध अनुरूपको कार्यनीति र रणनीति विन्याश नगरी कसैको अन्धनक्कल मात्र गरेर क्रान्ति सम्भव थिएन । विचार, राजनीति, सङ्गठन, योजना र उद्देश्यको तादात्म्यता मिलेको छैन । यो स्थानीय रूपमा केही विचार, भावना र उद्देश्य मिल्ने निश्चित काडरहरुको भावनात्मक आक्रोश जस्तो मात्र देखिन्छ । तर क्रान्ति एक दुई जना वीरहरुले मात्रै गर्ने सवाल होइन । यो वर्गीयरूपमा सचेत कार्यकता, जनताको पहल, प्रयत्न र बलिदानीको विषय हो । क्रान्ति कसैको मनोगत भावना र बनिबनाउ चाहना मात्र होइन ।

यता १९७१ सम्म आउँदा नक्सलवादी आन्दोलनले एउटा उचाइ ग्रहण गरिसकेको थियो । तर गलत नीति र सरकारी दमनको कारण गम्भीर सङ्कटको अवस्था सिर्जना भयो । यसै वर्ष नक्सलवादी नेता चारुमजुम्दार गिरफ्तारीमा परे । उनलाई कलकत्ताको जेलमै हत्या गरियो, जहाँ अन्य वरिष्ठ नेताहरु पनि मारिए । पार्टीभित्र आन्तरिक दुई लाइन सङ्घर्ष राम्रोसँग सञ्चालन गरिएन । तब भाकपा टुक्रा–टुक्रा भए । यता झापा आन्दोलनमा पनि सरकारले व्यापक दमन र धरपकड ग¥यो । कैयौँलाई गिरफ्तार र निर्वासित गरियो । यो आन्दोलन ३० महिनापछि पूर्णरूपमा विसर्जन भयो ।

निष्कर्षः

तात्कालीन विश्व अर्थराजनीतिमा क्रान्तिकारी आन्दोलन अनिवार्य जस्तै थियो । किनकि सामन्तवादी र पुँजीवादी शोषण, उत्पीडन र विभेद काहली लाग्दो थियो । भूमिपति, साहुमहाजन र पुँजीपतिहरुको समग्र उत्पादनको साधनहरुमा एकाधिकार  थियो । किसान, मजदुर, दुःखी–गरिब अनि श्रमजीवी जनताको अवस्था नाजुक थियो । यस्तो वस्तुगत समाजमा क्रान्ति रहर र झोँकको विषय नभएर इतिहासको अपरिहार्य आवश्यकता थियोे । तात्कालीन सोभियत सङ्घ र चीनमा यही ऐतिहासिक आवश्यकता पूरा गर्ने सिलसिलामा क्रान्ति भयो । त्यसपछि विश्वको विभिन्न मुलुकमा क्रान्तिकारी उभार आयो । नक्सलबारी र झापा आन्दोलन पनि यसैको उपज थियो, जुन तात्कालीन इतिहासको अपरिहार्य आवश्यकता थियो ।

तर खास समाजको अन्तरविरोध, त्यसले सिर्जना गरेको वस्तुगत र आत्मगत अवस्था अनुरूप निर्धारण गरिएको कार्यदिशाले मात्र क्रान्ति गर्ने हैसियत राख्दछ । तर नक्सलवादी र झापा आन्दोलनमा शासक वर्ग र समाजको चरित्र अनुसारको राजनीतिक कार्यदिशा तय गरिएन । यो चिनियाँ सांस्कृतिक क्रान्तिको हुबहु नक्कल मात्रै थियो । किनकि समाज र समय सापेक्ष विकास गरिएको कार्यनीति र रणनीतिको लामो शृङ्खलाहरुको अभ्यासले मात्र क्रान्तिलाई सफल बनाउँछ । तर नक्सलवादी र झापा आन्दोलन केवल सांस्कृतिक क्रान्तिको तरङ्गमा पैदा भएको उग्रवामपन्थी भड्काव मात्र सिद्ध भयो । तब छोटै अवधिमा आन्दोलन विसर्जन हुनपुग्यो, जुन दुःखद कुरा हो । त्यसैले समाजको अन्तरविरोध सापेक्ष कार्यदिशाद्वारा निर्देशित, सङ्गठित, सचेत एवं योजनाबद्ध पहलविना गरिएको क्रान्तिको कुनै भर हुँदैन । तसर्थ कम्युनिस्ट अभियान्ताहरुले विगतको गलत नजिरबाट गम्भीर पाठ सिक्नु जरुरी देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराँती
राजेन्द्र किराँती
लेखकबाट थप