बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीमाको भुक्तानी लिन अब पहिलेभन्दा सजिलो हुने, बीमा समितिले गर्‍यो यस्ता व्यवस्था

बीमितलाई १५ दिनभित्र आफैले बोलाएर भुक्तानी
बिहीबार, २२ फागुन २०७६, ११ : ३३
बिहीबार, २२ फागुन २०७६

काठमाडौँ । बीमाको दाबी भुक्तानी लिन अब थप सहज हुने भएको छ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बुधबार बीमा भुक्तानीका सम्बन्धमा नयाँ व्यवस्था गरेसँगै बीमाको दाबी भुक्तानी पहिलेभन्दा छिटो र सहज हुने भएको हो ।

बीमाको दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन जारी गरेको छ । सो मार्गदर्शनमा बीमितले बीमाको मागदाबी गर्दा पेश गर्नुपर्ने कागजात, त्यस्तो दाबीउपर छानबिन गरी बीमा कम्पनीले निर्णय दिनुपर्ने समय, दाबी भुक्तानीको माध्यम र प्रक्रिया तथा दाबी भुक्तानीउपर चित्त नबुझेमा गर्नसक्ने उजुरीका सम्बन्धमा रहेका व्यवस्थाहरु थप परिमार्जित गरिएको छ ।

बीमा कम्पनीहरुले अब दायित्व निर्धारण भएको १५ दिनभित्र सम्बन्धित बीमितलाई बीमा रकम भुक्तानी गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । यो नियम जीवनबीमा तथा निर्जीवन बीमा दुवैका हकमा लागु हुनेछ ।

जीवन बीमाको हकमा बीमालेख परिपक्व भएको अवस्था भए बीमा कम्पनीले सम्बन्धित बीमितलाई १५ दिनभित्र आफैले बोलाएर भुक्तानी दिएर पठाउने पर्नेछ ।

तर जीवन बीमाको अवधि नसकिँदै बीमितको मृत्यु भएको अवस्थामा भने सम्बन्धित बीमितको हकवालाले आवश्यक कागजात सहित मागदाबी गर्नुपर्छ । त्यसरी मागदाबी गरेको १५ दिनभित्रै बीमा कम्पनीले भुक्तानीको डिस्चार्ज भौचर तयार गर्नुपर्ने र त्यस्तो भौचरमा निवेदकले हस्ताक्षर गरेको १५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । हकवालाले माग दाबी गर्दा सम्बन्धित बीमितको मृत्यु प्रमाणपत्र र नाता प्रमाणित गर्ने कागजात पेश गर्नुपर्छ । यदि उक्त व्यक्तिको मृत्यु दुर्घटनाबाट भएको रहेछ भने चाहिँ शव परीक्षणको प्रतिवेदन वा प्रहरी प्रतिवेदनसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यदि निवेदकले माग दाबी गरेको जति भुक्तानी दिन नसक्ने अवस्था भएमा बीमा कम्पनीले त्यसको कारणसहित १५ दिनभित्र जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो जानकारी मौखिक रुपमा, टेलिफोनबाट वा इमेलबाट समेत दिन सकिन्छ । निवेदकले त्यस्तो जानकारी पाएको ३५ दिनभित्र सोविरुद्ध बीमा समितिमा उजुरी गर्नसक्ने व्यवस्था गरिएको छ ।

उता निर्जीवन बीमाको हकमा पनि १५ दिनभित्र भुक्तानीसम्बन्धी निर्णय गर्नुपर्ने र त्यसको २१ दिनभित्र भुक्तानी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । बीमितले मागदाबी गर्नेबित्तिकै बीमा कम्पनीले सो मागदाबीउपर छानबिन गर्न सर्भेयर नियुक्त गरी खटाउनुपर्ने र सर्भेयरले १५ दिनभित्र प्रतिवेदन दिनुपर्ने भनिएको छ ।

बीमितसँग पटकपटक कागजात माग्न नपाइने

कुनै बीमितले मागदाबीका लागि कागजात पेश गर्दा बीमा कम्पनीले पटकपटक कागजात माग्न नपाउने व्यवस्था समेत मार्गदशनमा गरिएको छ । बीमा कम्पनीले बीमितसँग कागजात लिँदा सबै कागजात पूरा भएको छ कि छैन भनेर हेरेर मात्रै लिनुपर्नेछ । तर एकपटक कागजात लिइसकेपछि बीमितलाई पटक–पटक थप कागजात ल्याउन भन्न पाइने छैन ।

सर्भेयरलाई पनि कडाइ

जिम्मेवारी लिने तर काम नगर्ने सर्भेयरलाई पनि मार्गदर्शनले कडाई गरेको छ । सर्भेयरहरुले अब सम्बन्धित घटनाको सर्भेको जिम्मा लिएको १५ दिनभित्र सो दाबीउपर भुक्तानी गर्नुपर्ने हो कि होइन र गर्नुपर्ने भए कति भुक्तानी गर्ने भन्ने कारणसहितको प्रतिवेदन बीमकलाई बुझाईसक्नु पर्नेछ । ५ ओटा भन्दा बढी सर्भेको प्रतिवेदन बुझाउन बाँकी भए सो सर्भेयरलाई अर्को सर्भेको जिम्मा दिन समेत बीमा कम्पनीलाई रोक लगाइएको छ ।

त्यस्तै, अब बीमाको रकम नगद वा साधारण चेकमार्फत् भुक्तानीमा पनि रोक लगाइएको छ । त्यसका लागि बीमित वा उसको हकवालाको बैंकखातामा सीधै रकम पठाउनु पर्नेछ वा उसलाई एकाउन्ट पेयी चेकमार्फत् भुक्तानी गर्नुपर्नेछ ।

त्यस्तै बीमा कम्पनीहरुले प्रत्येक महिना सकिएको १५ दिनभित्र सो महिनाभित्र परेका मागदाबी र भएका भुक्तानी तथा भुक्तानी हुन नसकेका वा बाँकी रहेका सम्पूर्ण विवरण बीमा समितिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

समितिले बीमा दाब िभुक्तानी प्रक्रियालाई छिटो, छरितो, पारदर्शी तथा व्यवस्थित बनाई बीमितको हित रक्षा गर्न आवश्यक भएकोले बीमा ऐनले दिएको अधिकार प्रयोग गरी यो मार्गदर्शन ल्याउनुपरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप