शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाल यौन दुराचारमा बेलायती नागरिक रोबर्ट कोल दोषी ठहर, ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला

बुधबार, २१ फागुन २०७६, २१ : ५०
बुधबार, २१ फागुन २०७६

बाल यौन दुराचारको अभियोगमा २०७५ माघ ५ गते पक्राउ परेका बेलायती नागरिक इयान रोबर्ट कोल दोषी ठहर भएका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतले कोललाई दोषी ठहर गर्दै ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला सुनाएको हो । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलाशले कोललाई दोषी ठहर गर्दै ३ वर्ष जेल हुने र पीडितलाई जनही २० हजार क्षतिपूर्तिसमेत भराउने आदेश दिएका हुन् । 

न्यायाधीश ढुङ्गानाको इजलाशले कोललाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ बमोजिम दोषी ठहर गर्दै सजाय तोकेको हो । 

मुलुकी अपराध संहिता २०७४ को दफा २२५ मा बालयौन दुराचारबारे उल्लेख गरिएको छ । 

संहितको दफा २२५ मा यस्तो लेखिएको छः

२२५. बालयौन दुरुपयोग गर्न नहुनेः 

(१) कसैले बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन । 

(२) कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आप्mनो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
मुलुकी अपराध संहिताको दफा प्रयोग गर्दै न्यायाधीश ढुङ्गानाले कोललाई दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सहित ३० हजार जरिवाना र २ जना पीडित बालकहरुलाई जनही २० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएका हुन् ।

क्षतिपूर्ति भराउनका लागि संहिताको दफा २२८ बमोजिम मनासिब क्षतिपूर्ति भराउने आदेश भएको हो ।

बाल यौन दुराचारको अभियोगमा कोललाई सहयोग गरेको भनी अभियुक्त बनाइएका अजय पोद्दार र कुमार रोक्कालाई भने अदालतले सफाई दिएको छ । 

दुराचारको प्रयास कि दुराचार प्रमाणित ?
मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ मा यौन दुरुपयोग गर्न नहुने कुरा उल्लेख गरिएको छ । 

त्यसैगरी संहिताको दफा २२६ मा अप्राकृतिक मैथुन गर्न नहुने कुरा उल्लेख गरिएको छ । 

संहिताको दफा २२६ मा यस्तो लेखिएको छ

अप्राकृतिक मैथुन गर्न नहुने : 

(१) कसैले कसैको मञ्जुरी विना अप्राकृतिक मैथुन गर्नु वा गराउनु हुँदैन । 
स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि बालबालिकाले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । 

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँँसम्म जरिबाना हुनेछ । 

(३) बालबालिका बिरुद्ध उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा २१९ बमोजिम सजाय हुनेछ ।
यसको अर्थ अप्राकृतिक मैथुन गरेको प्रमाणित भएमा अभियुक्तलाई बलात्कार गरेको सरह सजाय हुने थियो । पीडितमध्ये एकजना बालकको उमेर १२ वर्ष भएकाले निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ग अनुसार १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो । 

तर जिल्ला अदालत काठमाडौंले फैसला गर्ने क्रममा भने संहिताको दफा २२५ प्रयोग गरी बाल यौन दुराचारको प्रयासमा दोषी ठहर गर्दै जम्मा ३ वर्षको सजाय तोकेको छ । 

यद्यपि सरकारी वकिल कार्यालयले भने कोलले अप्राकृतिक मैथुन गरेको र पीडित बालकमध्ये एक जना १२ वर्षको बालकसमेत भएकाले संहितको दफा २२६ को उपदफा २ तथा ३ बमोजिम २० वर्षको कैद सजाय माग गरेको थियो । जिल्ला अदालतले भने आंशिक दाबी पुग्ने ठहर गर्दै बाल यौन दुराचारको प्रयासमा कोललाई दोषी ठहर गरेको हो । 

पीडित झनै पीडित
मुलुकी अपराध संहिता, २०७४ ले बाल यौन दुराचार वा अप्राकृतिक मैथुन गरेको प्रमाणित भएमा पीडित बलाबालिकालाई मनासिश क्षतिपूर्ति दिने कानुनी व्यवस्था गरेको छ । 

बाल यौन दुराचारकै मुद्दामा जिल्ला अदालत काभ्रेले क्यानेडेली नागरिक पिटर ड्याग्लिसलाई ९ वर्षको कैद र दुई जना पीडित बालकहरुलाई जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । 

तर जिल्ला अदालत काठमाडौंले भने पीडित बालकहरुलाई जनही २० हजार रुपैयाँ मात्रै क्षतिपूर्ति भराउने निर्णय गरेको छ । सजायको समय र क्षतिपूर्तिको रकमलाई हेर्ने हो भने एउटै प्रकृतिको मुद्दामा दुईवटा जिल्ला अदालतले गरेको फैसलामा व्यापक भिन्नता देखिएको छ । 


यस्तो थियो कोलको बाल यौन दुराचारको फेहरिस्त

नाम : इयान रोबर्ट कोल
मिति : २०७५ माघ ५ गते
स्थान : रविभवन, कालीमाटी । 
अभियोग : बाल यौन दुराचार
वर्ष : ५० वर्ष (हाल ५१ वर्ष)
देश : बेलायत

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०७४ साल माघ ५ गते रविभवनको एक अपार्टमेण्टबाट बेलायती नागरिकलाई पक्राउ गर्यो । इयान रोबर्ट कोल नाम गरेका ५० वर्षीय बेलायती नागरिकलाई सिआइबी टोलीले माघ ५ गते बिहान (राती) ३ बजे रविभवनको एक अपार्टमेण्टबाट पक्राउ गरेको थियो । उनीसँगै ३ नेपाली बालक, १ वयस्क नेपाली र अर्का एक भारतीय नागरिकलाई पनि सिआइबी टोलीले पक्राउ र उद्दार गरेको थियो । 

कोल त्यसभन्दा अगाडि पनि पटक–पटक नेपाल आएका थिए र नेपालमा बाल यौन दुराचार गर्ने गरेका थिए । सन् २०१६ मा नेपाल आएर बाल यौन दुराचार गरी फर्किएपछि उनलाई बेलायतकै प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । त्यतिबेला बेलायत प्रहरीले सिआइबीसँग मिलेर घटनाका बारेमा अनुसन्धान गरेको थियो । त्यतिबेला कोलको डिजिटल डिभाइसमा नेपाली बालकहरुको नग्न तस्वीर तथा भिडियोहरु फेला परेको थियो । 

त्यसपछि सिआइबीको निगरानीमा रहेका कोल नेपाल आएको जानकारी पाएलगत्तै प्रहरीले पिछा गर्न सुरु गरेको थियो । 

२०७५ साल पुस १३ गते कोल र उनका साथी डेरेक स्कट नेपाल आएका थिए । त्यसपछि उनीहरु धादिङको एक गाउँमा गएर बालकसँगै बसेका थिए । त्यहाँबाट केही बालकलाई लिएर उनी र उनका साथी ७५ वर्षीय डेरेक स्कट पोखरामा गएर दुई रात सँगै बसे । त्यसपछि उनीहरु बालकलाई धादिङमै छाडेर काठमाडौं फर्किए । 

पुष २६ गते काठमाडौं फर्किएका उनीहरुले माघ ३ गते ती बालकहरुलाई फेरि काठमाडौं बोलाए । तर त्यतिबेलासम्म उनका साथी डेरेक भने बेलायत पुगिसकेका थिए । 

माघ ४ गते कोल बालकसँगै भाडामा लिइएको फ्ल्याटमा पुगेको जानकारी आएपछि सिआइबी टोलीले रेकी गर्यो र माघ ५ गते बिहान ३ बजे उनलाई बालकसँगै नग्न सुतिरहेको अवस्थामा पक्राउ गर्यो । सिआइबीका डिएसपी कवित कटवालको टोलीले कोललाई बालकहरुसँग आपत्तिजनक अवस्थामा सुतिरहेकै अवस्थामा पक्राउ गरेको थियो । 

कोलसँगै बालक उपलब्ध गराउने गरेको धादिङकै रोक्का थरका एकजना नेपाली पनि पक्राउ परे । त्यसबाहेक भारत घर भएका अजय पोद्धारलाई पनि सिआइबीले पक्राउ गरी सरकारी वकिल कार्यालयबाट उनीहरुविरुद्ध मुद्दा चल्यो । 
नेपालमा कोल पक्राउ परेलगत्तै नेपालमै भएको बाल यौन दुराचारको अभियोगमा बेलायती नागरिक डेरिक स्कट पनि बेलायतमै पक्राउ परे । 

र, सिआइबीले पक्राउ गरी सरकारी वकिलमार्फत् मुद्दा चलाइएका कोललाई बुधबार काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै जेल पठाएको छ । १३ महिना जेल बसिसकेका कोलले अब २३ महिना पनि जेलमै बिताउनु पर्नेछ ।

रजिस्टर्ड चाइल्ड सेक्स अफेण्डर हुन् कोल
नेपालमा पक्राउ परेका इयान रोबर्ट कोल बेलायतमा ‘रजिष्टर्ड चाइल्ड सेक्स अफेन्डर’का रुपमा दर्ज छन् । उनलाई बेलायत सरकारले ३ पटक पक्राउ गरी जेल सजाय दिइसकेको छ भने कोलले बच्चाहरुसँग दूरी कायम गर्नैपर्ने बाध्यात्मक व्यवस्था छ । बाल यौन दुराचारी ठहर भएको कारण उनी बच्चाहरुसँग नजिक हुन पाउँदैनथे । नजिक भएमा उनलाई प्रहरीले पक्राउ गरी फेरि जेल पठाउन सक्थ्यो । 

इयान रोबर्ट कोललाई सर्वप्रथम ९ जनवरी, २००४ मा बेलायतको एक अदालतले बाल यौन दुराचारमा दोषी ठहर गरेको थियो । त्यसपछि १८ मे, २००७ मा पनि कोललाई सोही अदालतले अर्को मुद्दामा दोषी ठहर गर्दै १० वर्षसम्म बाल यौन दुराचारी भएको जानकारी दिनुपर्ने गरी धरौटीमा रिहाई गरेको थियो । 

पछिल्लोपटक २७ जनवरी, २०१७ मा पनि कोललाई बाल यौन दुराचारी रहेको ठहर गर्दै १५ महिना जेल सजाय दिँदै १० वर्षसम्म बालबालिकासँग दुरी कायम गर्नुपर्ने फैसला सुनाएको थियो । 

कोलले उक्त जेल सजाय काटेर केही समय बेलायतमै बिताएपछि २८ डिसेम्बर, २०१८ मा नेपाल आएका थिए । बेलायतमा बाल यौन दुराचार गर्न कठिन भएपछि कोल नेपाल आउन थालेका थिए । 

सन् २०१६ मा पनि नेपालमा बाल यौन दूराचार 

त्यसो त यसअघि सन् २०१६ मा पनि कोलले नेपाली बालकलाई बाल यौन दुराचार गरी फर्किएका थिए । तर त्यतिबेला प्रहरीलाई कुनै जानकारी आएको थिएन । नेपालबाट बेलायत फर्कने क्रममा बेलायत प्रहरीले एअरपोर्टमै समातेर छानबिन गर्दा कोलको मोबाइल तथा ल्यापटपमा नेपाली बालकको नग्न तस्विर तथा यौनजन्य गतिविधिका फोटो तथा भिडियो प्राप्त भएको थियो । 

बेलायत प्रहरीले नेपाली बालकबारे जानकारी मागेपछि सिआइबीले उक्त बालकको बयान नै बेलायत प्रहरीलाई पठाएको थियो । त्यसपछि कोल नेपाल प्रहरीको पनि ‘वाच लिष्ट’मा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप