शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल, कोरोना आतंकले मास्कको हाहाकार

बुधबार, २१ फागुन २०७६, १९ : ३२
बुधबार, २१ फागुन २०७६

प्रम ओलीको स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट भएको छ । र, प्रधानमन्त्री ओलीलाई अप्रेशन थिएटरबाट पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले आज अपरान्ह पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

अहिले प्रधानमन्त्री ओलीको होस खुलेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । शल्यक्रियाको नेतृत्वको गरेका प्राडा प्रेमराज ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो ।  

यस्तै ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई पनि पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । संग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

प्रधानमन्त्री ओलीको बुधबार बिहान १० बजेदेखि अप्रेशन सुरु गरिएकोमा करिब ३ बजे अप्रेशन सकिएको थियो । 

प्रधानमन्त्रीको अपरेशन सफल भएपछि पनि उनलाई पहिलेकै अवस्थामा फर्काउन प्रभावकारी उपचार योजना चाहिन्छ । अस्पतालका अनुसार अहिले प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलाले काम गरेको छ । त्यसैगरी प्रत्यारोपण पछि उनले पिसाव गरेको अस्पतालले जनाएको छ । 

अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले अहिले ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको बताए । 

प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण कक्षमा राखी उपचारलाई निरन्तरता दिइने पनि चिकित्सकहरुले बताएका छन् । ४ दिनसम्म उनको स्वास्थ्य अवस्था ‘रिस्क जोन’ मै रहने भएकाले चिकित्सकको विशेष निगरानीमा उपचार गर्न चिकित्सकहरु जुटेका छन् । 

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

यी हुन् ओलीको उपचारमा संलग्न चिकित्सक

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा दर्जन बढी विशेषज्ञ चिकित्सक खटिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । 

प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्राडा उत्तम कुमार शर्मा, प्राडा प्रेमराज ज्ञवाली, भारतीय चिकित्सक प्राडा अनन्तकुमारलगायतको टोली खटिएको थियो । त्यस्तै मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा दिव्यासिंह शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले, डा नवीन नेपालीलगायतको टोली सहभागी रहेको थियो । यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र प्राडा सुवास कर्माचार्य लगायतको टोलीले सहयोग गरेको थियो । 

अहिले प्रधानमन्त्रीलाई प्रत्यारोपण उपचार कक्षमा राखिएको छ भने उनको अबको उपचार प्रक्रिया कसरी अघि बढाउने भन्नेमा चिकित्सकहरुबीच गम्भीर छलफल समेत भएको छ । 
प्रा डा उत्तमकुमार शर्मा र प्रा डा प्रेम ज्ञवाली, भारतीय चिकित्सक अनन्तकुमालगायतको टोलीबीच छलफल भएको हो । 

ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा अनन्तकुमारले नै गरेका थिए । 

चिकित्सकहरुको छलफलबाट उपचार प्रभावकारी बनाउन विशेष योजना तय गरिएको बताइएको छ । 

स्वास्थ्यलाभको कामना 

दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक, सुभेच्छुक र सर्वसाधारणले अस्पताल नै पुगेर स्वास्थ्य लाभको कामना गरेका छन् । 

बुधबारै नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिष्णु पौडेल तथा मन्त्रीहरु शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, राम बहादुर थापा, अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरे । त्यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्ल्सिना प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुगेका थिए । यस्तै मन्त्री वसन्त नेम्वाङ, लेखराज भट्ट तथा सांसदहरु सांसद रामनारायण बिडारी, कोमल वली, नारायणकाजी श्रेष्ठ र मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरु समेत अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् । 

यसैबीच अनेरास्ववियुले साँझ प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै त्रिवि परिसरमै दीप प्रज्वलन गरेको छ । 

अर्थमन्त्रीमा फेरि युवराज

बुधबार पुनः अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पद तथा गोपनीयताको सपथ लिएर पदभार पनि ग्रहण गरेका छन् ।  बुधबार राष्ट्रपति कार्यालयमा राष्ट्रपतिबाट सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा आई पदभार ग्रहण गरेका हुन् । 

उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस खतिवडाको अवधि मंगलबार सकिएको थियो । संसद सदस्य नरहेपछि उनले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।  तर उनलाई राजीनामा दिएको भोलिपल्ट बुधबार पुन अर्थमन्त्री नियुक्त गरिएको हो।  

राष्ट्रियसभाका सदस्य सपथ

त्यसैगरी, गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले आज बिहान राष्ट्रियसभाका १८ सदस्यलाई सपथ ग्रहण गराएका हुन् । 

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका दुई सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । मंगलबार राष्ट्रपतिबाट मनोनित १ सहित १९ जनाको कार्यकाल सकिएको थियो । रिक्त पदका लागि गत माघ ९ गते निर्वाचन भएको थियो । यद्यपी राष्ट्रपतिबाट मनोनित हुने सदस्यको भने टुगो लागेको छैन् । सत्तारुढ दल नेकपाको सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपनि सिफरिस भने भएको छैन । 


नारायणकाजी श्रेष्ठ
सपथग्रहण लगत्तै बसेको राष्ट्रियसभा बैठकमा बोल्दै नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले जनादेश प्राप्त सरकारले जनताको चाहाना र आकांक्षा अनुसार काम गरेर देखाउनुको विकल्प नभएको बताएका छन् । 
नवनिर्वाचित सदस्यहरुको तर्फबाट मन्तव्य राख्दै उनले वर्तमान सरकारसँग समृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनु बाहेक विकल्प नभएको बताए । 

यता सपथ ग्रहणपछि नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रियसभाको गरिमा कायम राख्दै नीति निर्माणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । 

विशेष प्रस्ताव पारित

आजै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । 

 दोस्रो पटक मृगौलाको प्रत्यारोण गरेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बैठकले विशेष प्रस्ताव पारित गरेको हो । 

कांग्रेस पौडेल 

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले आगामि चैतमा अयोजना गर्न लागेको क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रमको बहिष्कार गर्ने भएको छ । 

कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बसेको पौडेल पक्षको भेलाले १४ औं महाधिवेशन प्रभावित गर्नेगरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो । भेलामा सहभागी नेता प्रकाशमान सिंहले म्याद थपेर सहमतिमा महाधिवेशन कार्यतालिका प्रकाशित गर्न सफल भएको अवस्थामा फेरी महाधिवेशनलाई प्रभावित पार्न प्रशिक्षण कार्यक्रम गर्न लागिएकोले बहिष्कार गर्न लागेको बताए । 

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आगामि चैतमा पार्टी क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिने समय तोकेपछि पौडेल पक्ष असन्तुष्ट भएको हो । कांग्रेसले ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट १० हजार क्रियाशील सदस्यलाई प्रशिक्षक प्रशिक्षण दिने तयारी गरेको हो । तर असन्तुष्ट पौडेल पक्षले भने केन्द्रीय महाधिवेशन नगराउने चलखेल भएको भन्दै बहिस्कार गर्ने निर्णय गरेको हो । 

यता काँग्रेस संस्थापन पक्षले आजैबाट ठुला सभा, सम्मेलन र भेला नगर्ने भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी निर्णय सार्वजनिक गरेका हुन् ।  नेपाल नेवेल कोरोना भाइरसको उच्च जोखिमा रहेका कारण संक्रमण फैलन नदिन काँग्रेसले पार्टीका ठुला कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ । 

कोरोना पर्यटन मन्त्री

यता सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरसले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशन दिएका छन् । 

कोरोनाभाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग आज मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन् । 

यता कोरोना भाइरसको त्रासका कारण अहिले बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको अभाव भएको छ । कतिपय स्थानमा पाइएपनि चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेका उपभोक्ताहरुले गुनासो गरेका छन् । 
 बजारमा भाइरसको त्रासले मास्क र सेनिटाइजरको माग अत्यधिक रहेकाले अभाव र कालोबजारी देखिएको हो ।

बजारमा मास्क खोज्दा ‘सबै चिनियाँले लगे’ भन्दै सकिएको व्यवसायीको जवाफ हुने गरेको छ भने पाइने ठाउँमा पनि स्वाभाविक मूल्य भन्दा बढी रकम लिने गरिएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप