शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा नेकपाको २ तिहाइ : आजदेखि १९ सांसद बिदा हुँदै, युवराज खतिवडाको मन्त्री पद के हुन्छ ?

मङ्गलबार, २० फागुन २०७६, १२ : ५८
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं । मंगलबारदेखि राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदैछन् । राष्ट्रियसभामा रहेको व्यवस्था अनुसार गोलाप्रथाबाट २ वर्षे कार्यकाल भएका सांसद बिदा हुन लागेका हुन् । 

नेकपाका ८, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टी नेपालका १ सांसद बाहिरिँदै छन् । उनीहरुको ठाँउमा गत माघ १९ गते निर्वाचित भएका सांसदहरु प्रवेश गर्नेछन् ।  

आज बिदाइ हुने सांसदहरुका लागि दिउँसो २ बजे राष्ट्रिय सभामा बोल्ने कार्यक्रम राखिएको छ । राष्ट्रिय सभाबाट यसरी बिदाइ हुने सांसदमध्ये अर्थमन्त्री डा. युवराज खतिवडा समेत हुन् । राष्ट्रपतिबाट मनोनित भएका खतिवडा राष्ट्रियसभाबाट बिदाइ भएपनि ६ महिनासम्म मन्त्री बन्न सक्ने प्रावधान छ । तत्कालका लागि उनी सोही प्रावधानलाई टेकेर मन्त्री पदमै रहनेछन् ।  

यी हुन् राष्ट्रिय सभाबाट बिदाइ हुन लागेका सांसदहरु 

प्रदेश १: सरिता प्रसाईं, हरिशरण शिवाकोटी, खेमराज नेपाली

प्रदेश २: रमेशप्रसाद यादव, मुक्ताकुमारी यादव, रामप्रीत पासवान, बृषेश चन्द्र लाल

बागमती प्रदेश: बलरामप्रसाद बाँस्कोटा, धनकुमारी खतिवडा
गण्डकी प्रदेश: सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले

प्रदेश ५: मीना बुढा, दुर्गाप्रसाद उपाध्याय, राजकुमार कुँवर

कर्णाली प्रदेश: युटोल तामाङ, कालीबहादुर मल्ल

सुदूरपश्चिम प्रदेश: बद्रीप्रसाद पाण्डे, कमलाकुमारी ओली 

यसैगरी अर्थमन्त्री युवराज खतिवडाको पनि आजदेखि पदावदी सकिँदैछ । 

उनीहरुको स्थानमा पूर्ति गर्न यसअघि नै सांसदहरु निर्वाचित भइरहेका छन् । उनीहरुको बुधबार सपथग्रहणको कार्यक्रम रहेको छ ।

फेरियो समीकरण, प्रतिपक्ष कमजोर  
गोलाप्रथाबाट १९ सांसद बाहिरिने र निर्वाचित भएर नयाँ सांसद पूर्ति भएसँगै  राष्ट्रिय सभामा प्रतिपक्षी दल कमजोर भएको छ । राष्ट्रिय सभामा नेकपाको ४८ सिट पुगेसँगै दुईतिहाइ संख्या पुगेको छ ।

राष्ट्रिय सभामा रहेका कूल ५९ सदस्यमध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ६ जना मात्र सांसद रहनेछन् । यस्तै राजपाको २ र समाजवादी पार्टीको १ गरी प्रतिपक्षतर्फ कूल ९ जना सांसद रहनेछन् भने सत्तापक्ष तर्फ ४८ जना रहनेछन् । यी मध्ये १ जना सांसद राष्ट्रपतिले नियुक्त गर्नुपर्नेछ जसमा नेकपा नेता बामदेव गौतमलाई पठाउन नेकपाको सचिवालयले निर्णय गरिसकेको छ । 

गत माघ ९ गते भएको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसले ७ सिट गुमाउन पुगेको थियो । यस्तै प्रतिपक्षी दल समाजवादी पार्टी नेपालले पनि एक सिट गुमाएको थियो । यी दलले गुमाएको सिट नेकपाले आफ्नो हातमा पारेको छ भने राजपाले नेकपासँग चुनावी तालमेल गरेर आफ्नो २ सिट जोगाएको छ । कांग्रेस र समाजवादी पार्टीले गुमाएको सिट हात पारेसँगै राष्ट्रिय सभामा नेकपाको २ तिहाई पुगेको छ । 

राष्ट्रिय सभामा नेकपाका संसदीय दलका नेता दिनानाथ शर्मा दुईतिहाई सिट भएसँगै सरकारलाई लागि सदन सहज हुने बताउँछन् । अर्को २ वर्षपछि हुने निर्वाचनबाट पनि १९ जना नयाँ सांसद निर्वाचित भएसँगै कांग्रेसको सिट अझै घट्ने उनले बताए । उनले भने, ‘राष्ट्रिय सभा अभिछिन्न उत्तराधिकारवाला संस्था हो  । प्रत्येक २ वर्षमा १ तिहाइ संख्याका लागि चुनाव हुन्छ । अर्को २ वर्षपछि हुने चुनावमा प्रतिपक्षको संख्या अझै घट्छ,  यस हिसावले आगामी १० वर्षसम्म नेकपाको बहुमत रहन्छ ।’

राष्ट्रिय सभामा ७ सांसदहरु गुमाएको कांग्रेसले पार्टीको जति जनाधार छ त्यसले नै सशक्त भूमिका निर्वाह गर्ने बताएको छ । कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले बिदा हुन लागेका आफ्ना साथीहरुको अभाव खड्किने बताउदै जति जनाधार छ त्यसले नै पार्टीको प्रतिनिधित्व गरेर आफ्नो भूमिका निभाउने बताए । राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा १ तिहाइको निर्वाचन गर्नुपर्ने व्यवस्थाका कारण कांग्रेसले आफ्नो सिट गुमाउदै जाने भएको हो । 

प्रतिपक्षी स्वर सानो हुन भएका कारण राष्ट्रिय सभाबाट सरकारलाई काम गर्न सहज हुने भएको छ । गत माघमा निर्वाचित भएका सांसदहरुले अबको ६ वर्षसम्म राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन् । 

यी हुन राष्ट्रिय सभा जाने निर्वाचित नयाँ सांसदहरु 

प्रदेश १: इन्दिरा देवी गौतम, गोपी बहादुर सार्की, देबेन्द्र दाहाल, नेकपा  

प्रदेश २: तुलसी कुमारी दहाल, राधेश्याम पासवान (नेकपा), शेखर कुमार सिंह (राजपा)

बागमती प्रदेश: गंगा कुमारी वेलवासे, बेदु राम भुसाल, नेकपा 

गण्डकी प्रदेश: भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, नेकपा 

प्रदेश ५: बिमला घिमिरे, जग प्रसाद शर्मा, गोपाल भट्टराई, नेकपा 

कर्णाली प्रदेश: सुमित्रा बि.सी., माया प्रसाद शर्मा, नेकपा 

सुदूरपश्चिम प्रदेश: शारदादेवि भट्ट, तारामान स्वांर, नेकपा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप