शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाबाट : मुख्यमन्त्री पोखरेल

शनिबार, १७ फागुन २०७६, १७ : ३३
शनिबार, १७ फागुन २०७६

प्रदेश न ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले लिनुपर्ने बताएका छन् । 

बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि सङ्कायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बिएससी एजीको कक्षा उद्घाटन समारोहमा उनले भेरी–बबई डाइभर्सन र सिक्टा सिँचाइ आयोजना केही समयमै सम्पन्न हुन गएकाले सिँचाइको उपयोगबाट बाँके र बर्दियावासीले अब आधुनिक कृषि क्रान्तिको नेतृत्व लिनसक्नुपर्ने बताए ।

“राज्यले अर्बौ लगानी गरेर सिँचाइको व्यवस्था गरिरहेको छ, अब जग्गा जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ”, मुख्यमन्त्री पोखरेलले भने, “भेरीको पानी बबई हुँदै बर्दियाका खेतमा पुगेको छ, सिक्टा सिँचाइले बाँकेको जमिन सिँचाइ हुँदैछ, अब व्यावसायिक कृषितर्फ लागाँै ।”


बाँके–बर्दियाका खेतीयोग्य जमिन बाँझै रहने गरेको प्रसङ्ग जोड्दै उहाँले आधुनिक प्रविधिबाट खेती किसानी गर्नुपर्नेमा जोड दिनुभयो । “कृषि कर्म गर्न धेरै जमिन चाहिँदैन, थोरै जमिनबाट पनि धेरै उत्पादन गर्न सकिन्छ, त्यसका लागि आधुनिक प्रविधि र इच्छाशक्ति चाहिन्छ”, उहाँले भन्नुभयो ।

बाँकेको खजुरा क्षेत्रको बस्ती इजरायली रूपबाट बनेको भएता पनि कृषिमा प्रगति नदेखिएको बेला स्थापना भएको कृषि विद्यालयले बाँके र बर्दियाका किसानलाई विद्यार्थीमार्फत प्रविधि र सीपको विकास गराउनुपर्ने उनको भनाइ छ ।

“कृषि क्याम्पसले विद्यार्थीलाई कोठामा राखेर शिक्षा दिनुको औचित्य छैन, विद्यार्थीलाई किसानको घरसँग जोडिदिनुस् तब मात्र व्यावहारिक सीप र ज्ञान प्राप्त हुनेछ”, मुख्यमन्त्री पोखरेलले भने, “विद्यार्थीमार्फत किसानलाई आधुनिक कृषि प्रविधिको ज्ञान, सीप दिनुस् त्यसमा सहयोग र समन्वय गर्न प्रदेश सरकार तयार छ ।”

कृषि क्याम्पस सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले कलेजको विस्तृत परियोजना प्रतिवेदनको आधारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले किसानलाई लक्षित गरी सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम शुरु गरेको बताउँदै त्यसको सदुपयोग गरी आधुनिक कृषि प्रणाली अपनाएर कृषिबाट आर्थिक समृद्धिको दिशामा लाग्न आग्रहसमेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप