शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकातिर बागमती सफाइ अर्कातिर धमाधम ढल मिसाइँदै

शनिबार, १७ फागुन २०७६, १५ : ४८
शनिबार, १७ फागुन २०७६

बागमतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबार झैँ जारी रहे पनि नदीमा ढल हाल्ने काम भने रोकिएको छैन ।

वाग्मतीको मुहानस्थित गोकर्णेश्वर नगरपालिका वडा नं २ र ४ को सीमास्थित कोलमती खोलामा सडक बिस्तारका क्रममा सिधै ढल हालिएको छ ।
 काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले सडक बिस्तार गर्ने क्रममा वडा नं ४ किसिगालबाट नदीमा सिधै ढल हालिएको हो । ढल कोलमती खोलाको करिब १०० मिटर दूरी पार गरेपछि वाग्मती नदीमा मिसिन्छ ।

यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुगांनाले आइतबार के भएको हो भन्ने बुझ्न प्राविधिक पठाइने बताए। नदीमा ढल हाल्न नदिइने उनको प्रतिबद्धता छ ।

बागमती सफाइ महाअभियानको ३५५औँ हप्तामा तिलगङ्गा क्षेत्रको नदी किनारमा सफाइ गरियो । एक्काइस संस्थाका ३५०  अभियानकर्मीेले गरेको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । वाग्मतीको मुहानदेखि नै सफा गरौ्ँ भन्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले ३१६औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर–८ माकलबारी क्षेत्रमा सफाइ गरेको छ । 

नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, सल्लाहकार दीपक रिसाल, प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकाल, नेपाल मेडिकल कलेजका अध्यक्ष डा. भोला रिजाल, जया मल्टीपल क्याम्पसका प्रमुख भवानीप्रसाद पौडेललगायत अभियानकर्मीको सक्रियता थियो । 

सफाइका क्रममा कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए ।  मञ्चले वडास्तरसमेतमा समिति गठन गरी सफाइ अभियानमा परिचालन गर्दै आएको छ । यस क्षेत्रको वाग्मती सौन्दर्यकरणसमेतले पछिल्लो समय निरन्तरता पाएको छ । छिटोभन्दा छिटो सौन्दर्यकरणको काम सक्ने गरी निर्माण व्यवसायी परिचालन गरिएको बताइएको छ ।

विष्णुमती सफाइ अभियानको २८३औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं ६ र ८ को सङ्गमस्थित महादेव खोला क्षेत्रमा सफा गरियो । महादेव खोलाको निलो पुलबाट रातो पुलसम्म भएको सफाइमा सुरक्षा निकायका साथै स्थानीय सङ्घसंस्थाको सक्रियता रहेको थियो । सफाइबाट सात टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए।

खोलासँगै त्यहाँको सडक क्षेत्रमा पनि सफाइ गरिएको थियो । सो अवसरमा सडकमा फोहर नफाली डष्टविनमा हाल्नसमेत अनुरोध गरिएको थियो । विष्णुमतीको माथिल्लो भागमा सफाइ गरिए पनि तल्लो बालाजुभन्दा तलको क्षेत्रमा नदी फोहर छ । यस क्षेत्रको सफाइमा ध्यान नदिइएको यो मार्ग भएर हिँड्ने यात्रुको गुनासो छ । स्थानीयवासीले सिधै ढल नदीमा हाल्दा पनि कसैले रोक्न सकेको छैन ।

मनोहरा नदी सफाइको १५४औँ हप्तामा बालकुमारी पुल क्षेत्रमा सफाइ गरियो । सफाइमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट दुई गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकरी दिए ।

चक्रपथ उत्तरखण्ड सफाइको १५३औँ हप्तामा नयाँबसपार्कबाट बिजीमलसम्मको क्षेत्रमा सफाइ गरियो । तीन सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट चार टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए ।  

चक्रपथ पश्चिम खण्ड सफाइको १३५औँ हप्तामा सोल्टदोबाटो क्षेत्रमा सफाइ गरी दुई ट्रक फोहर व्यवस्थापन गरियो । सफाइमा प्रदेशसभा सदस्य राजेश श्रेष्ठसहित ३५० भन्दाबढी अभियानकर्मीको सक्रियता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप