बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१४ महिनाको छोरालाई शिशु स्याहारमा राखेर होटलमा ग्राहकको प्रतिक्षामा....

शनिबार, १७ फागुन २०७६, १४ : ३९
शनिबार, १७ फागुन २०७६

भक्तपुर । ‘म रहरले यो पेशामा आएको होइन, आफ्नै बाध्यता छ,’ प्रहरीले नियन्त्रणमा लिएपछि दोलखा जिल्ला स्थायी घर भइ हाल भक्तपुर बस्दै आएकी २१ वर्षकी सेजल (नाम परिवर्तन) ले प्रहरी समक्ष भनिन् ।

महानगरीय प्रहरी वृत्त जगातीको शुद्धीकरण अभियान अन्तर्गत होटल तथा रेस्टुरेन्टबाट अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेपछि उनले आफ्नो व्यथा सुनाइन् ।

उनीसँगै अन्य १५ जनालाई पनि प्रहरी पक्राउ गरेको थियो । ‘अरुको आफ्नै समस्या भएर होटल रेष्टुरेन्ट व्यवसायमा आए, मेरो व्यथा फरक छ,’ सेजलले भनिन् । 

केही वर्ष अघि सेजलले अन्तरजातीय प्रेम विवाह गरिन् । सुरुमा सम्बन्ध राम्रो थियो । तर पछि श्रीमानसँग नियमित झगडा हुन थाल्यो । यत्तिकैमा छोरो जन्मियो । केही समयदेखि श्रीमान विदेशमा छन् । तर उनीसँग कुनै सम्बन्ध छैन । ‘उसले न फोन गर्दछ, न पैसा पठाउँछ,’ उनले भनिन् । 

अहिले छोरो १४ महिनाको भयो । उनले प्रहरी समक्ष भनिन् ‘म त्यो छोरोलाई शिशुस्याहारमा राखेर यहाँ आउँछु ।’

अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा अनैतिक गतिविधि हुने गरेको प्रहरीको भनाइ छ । 

नियन्त्रणमा लिइएका महिलाहरुले प्रहरीलाई दिएको बयान अनुसार उनीहरुले एक पटक ग्राहकसँग बसेको एक हजार रुपैयाँ लिने गरेका छन् । त्यसबाट ५ सय आफूले राख्ने र ५ सय रुपैयाँ होटल मालिकलाई दिने गरेको उनीहरुको भनाइ छ ।

विशेषगरि यस क्षेत्रमा सञ्चालित खाजाघर, गेष्ट हाउस तथा रेष्टुराँलाई निगरानीमा राखेको छ । 

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुखसमेत रहेका डीएसपी चक्रराज जोशीले सामाजिक विकृतिका रुपमा विकास भईरहेको छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले यस क्षेत्रमा विशेष शुद्धीकरण अभियान चलाएको बताए ।

प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका होटल, रेष्टुरेन्ट तथा खाजाघरमा छापा मारेको छ । ती स्थानमा अनैतिक कार्य हुँदै आएको सूचनाका आधारमा छापा मारेर १६ जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप