शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उड्न लागेको विमानभित्र परेवाको मस्ती

शनिबार, १७ फागुन २०७६, १० : १०
शनिबार, १७ फागुन २०७६

जयपुर : भारतको अहमदावाद विमानस्थलमा उड्न लागेको एउटा विमानभित्र परेवा फेला परेपछि केहीबेर विमानस्थल मै खैलाबैला मच्चिएको छ ।

शुक्रबार अहमदावादबाट जयपुरका लागि उड्न लागेको गो एयरको विमानभित्र परेवा फेला परेको हो ।

‘जी८–७०२’ विमान ‘टेक अफ’ का लागि तयार हुँदै गर्दा विमानभित्र परेवा देखिएपछि यात्रु र चालक दलका सदस्य चकित भएका थिए । विमानभित्रै उक्त परेवा उड्न थालेपछि केही यात्रीले भिडियोसमेत बनाएका थिए ।

शुक्रबार दिउँसो ४ः३० बजे एप्रोनमा ल्याइएको उक्त विमानमा सबै यात्री चढिसकेपछि ढोका बन्द गरिएको थियो । ४ः५० बजे ‘टेक अफ’का लागि रन वेमा पुग्नु अघि नै उक्त विमानभित्र परेवा देखिएको हो ।

विमानमा सवार यात्रीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार एक यात्रीले ‘ह्यान्ड ब्याग’ राख्नका लागि ‘लगेज शेल्फ’ खोल्नासाथ परेवा निस्किएको थियो ।

केहीबेर विमानभित्रै परेवा यता–उता उड्न थाल्यो । विमानको अघिल्लो भागदेखि पछिल्लो भागसम्म परेवाले केहीबेर फन्को लगाइरह्यो । यात्रु र विमानका कर्मचारीले पनि केहीबेर परेवाको मस्ती हेरिरहे ।

विमानका कर्मचारीले ‘ग्राउन्ड स्टाफ’लाई घटनाबारे जानकारी गराएपछि विमानको उडान स्थगित गरी ढोका खोलियो । निकै मेहनतपछि उक्त परेवालाई बाहिर निकाल्न सफल भएको यात्रुहरुको भनाइ छ ।

परेवालाई निकालेपछि निर्धारित समयभन्दा केही ढिलोगरी उक्त विमान जयपुरका लागि प्रस्थान गरेको बताइन्छ ।

उक्त परेवा त्यहाँ कसरी पुग्यो भन्ने प्रष्ट हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप