केन्द्रीय संस्करण
मेरो जीवन

पुष्कर लोहनीको जीवन : ‘...त्यसपछि म यौन साहित्यमा लागेँ’

person explore access_timeफागुन १७, २०७६ chat_bubble_outline0
फोटो : कृष्ण खड्का
कुवेर गिरी

रातोपाटी

नेपाली साहित्यमा यौन र पुष्कर लोहनी पर्यायवाची शब्दझैँ हुन् । पुख्र्यौली थलो नुवाकोट भए पनि हाल डिल्लीबजार घट्टेकुलोमा बस्दै आएका पुष्कर लोहनी यौन साहित्यकार हुन् । लामो समयसम्म प्राध्यापन पेसामा समेत संलग्न रहेका उनी साहित्यकार गोविन्दप्रसाद लोहनीसँगको सङ्गत तथा भारतीय साहित्यकार अज्ञय, बच्चन र अङ्ग्रेजी कथाकार अल्बर्ट मोरेबियाको प्रभावबाट आफू यौन साहित्य सिर्जनामा लागेको बताउँछन् ।

‘चिसो चुल्हो तातो खरानी’ कथा प्रकाशन गरेर सार्वजनिक नेपाली साहित्यमा २०१६ सालमा प्रवेश गरेका लोहनीका ‘चहकदार मइन्टोल र पिलपिले बत्ती’ कविता सङ्ग्रह, ‘कौडी’, ‘धरालोको टुप्पा’ कथा सङ्ग्रह, असङ्ख्य हाइकु, ताङ्का, चोका, सिजो जस्ता जापानी शैलीका कविता, ‘आकाश विभाजित छ’ संयुक्त उपन्यास लगायत थुप्रै कृति प्रकाशित छन् ।

जीवनको अभिन्न पाटोको रूपमा रहेको यौनलाई नेपाली साहित्यमा शिष्ट प्रयोग गरी विशिष्ट योगदान पुर्याएका यौनवादी साहित्यकार पुष्कर लोहनीका जीवनका पाटाहरु रातोपाटीको मेरो जीवन स्तम्भमा खोतल्ने प्रयास गरिएको छ ।

मेरो अध्ययन
अध्ययन त जीवनको अभिन्न अङ्ग हो, रुचिको विषय हो । फुर्सद भयो कि लेख्न र पढ्न थालिहाल्छु । अध्ययनको लागि कुनै निश्चित समय छैन । राति निन्द्राबाट ब्युँझँदा लेख्न–पढ्न थाल्छु । लेखपढका लागि कुनै बाधा र अवरोध छैन । कहिले त रात छर्लङ्गै बित्छन् । मेरो जीवन नै लेखपढमा समर्पित भयो ।   

विशेषतः साहित्यमा रुचि पर्यो । त्यसमा पनि यौन साहित्य खास हो मेरा लागि । जति पनि पुस्तक र विषयवस्तुको अध्ययन गर्छु त्यसमा यौनका विषयको खोजी गरिरहन्छु । त्यसबाहेक धर्म र दर्शनसँग सम्बन्धित विषयवस्तुको अध्ययनमा धेरै समय खर्चिएको छु । हिन्दुइज्म, बुद्धिज्म, क्रिस्चियन, मुस्लिम कुनै पनि धर्मका ग्रन्थहरु अध्ययन छुटाएको छैन ।

मेरो विषय यौन भएकाले प्रत्येक धर्म र दर्शनमा यौनको भूमिका के छ र कहाँनिर त्यसले प्रभाव पारेको छ भनी खोजपड्ताल गरेको छु ।

यौन नभईकन कुनै पनि धर्म पूर्ण छैन । कुनै पनि जीव र जीवात्मा पूर्ण छैन । यौनबिना कोही कसैको अस्तित्व छैन ।   

त्यसका अलावा पनि बजारमा निस्किएका विविध विषयवस्तुका पुस्तकहरु पढ्ने गर्छु । राजनीति, इतिहास र बायोग्राफीसँग सम्बन्धित विषयवस्तुका पुस्तकहरुले पनि तान्ने गर्छ । 

देशी–विदेशी लेखकका पुस्तकहरु उत्तिकै किन्छु र पढ्छु पनि । देशी–विदेशी पुस्तक जति पढ्छु ती सबैमा यौन खोज्छु । पत्रपत्रिका पनि दैनिक हेर्छु । 

आजभोलि छापा पत्रपत्रिका भन्दा पनि डिजिटल अनलाइन पोर्टलहरु हेर्न सजिलो लाग्छ । अनलाइन पोर्टलहरुले समाचारलाई तुरुन्तै प्रसारण गरिदिने हुँदा समाचार अपडेटका लागि यो नै उत्तम लाग्छ ।

मेरो फुर्सद
रिटायर्ड लाइफ भएकाले फुर्सदै फुर्सद छ । रुटिङ लाइफमा नबाँधिएकाले आवश्यकता अनुरूप फुर्सद निकाल्न सक्छु । फुर्सदमा केही न केही गरिराख्छु ।

मेरो पोसाक
बाहिर जाँदा स्मार्ट भएर जान मनपर्छ । फर्मल र इन्फर्मल दुवै पोसाक मनपर्छ । तर पहिरनमा त्यति कियर गर्दिनँ ।

त्यसो त क्याजुअल सर्ट पाइन्ट, टिसर्ट जिन्स पाइन्ट सजिलो लाग्छ । विशेष अवसरहरुमा फर्मल ड्रेससमेत छुटाउँदिन । ब्रान्ड निश्चित छैन । रङ्गीचङ्गी कलरका पहिरन रोजाइमा पर्ने गरेका छन् । झिलिमिली कपडाले मानिसहरु आफूप्रति आकर्षित हुन्छन् भन्ने लाग्छ । त्यसमा पनि लाइट खालको नभई डार्क खालको मनपर्छ ।

आँखालाई राम्रो लाग्यो भने म कपडा किनिहाल्छु । यति रकम र यो समयमा कपडा किन्ने भन्ने छैन । आजभोलि त विदेशबाट साथीभाइ र छोराछोरीले थुप्रै कपडा पठाइदिन्छन् । त्यसबाहेक पनि उत्तिकै म कपडामा खर्चिन्छु । 

मेरो फिट्नेस 
फिट्नेसका लागि समय खर्चिइन् कहिल्यै । केटाकेटीदेखि नै साधारण किसिमका एक्सरसाइज गर्थें । जुन चाइनिज टेक्निकहरु थिए । मर्निङवाक गर्दिन । तर दैनिकजसो म २, ३ घण्टासम्म पनि हिँडिरहेकै हुन्छु ।

प्रायः मन्दिरका वरपर हुँदै जहीँत्यहीँ निस्फिक्री हिँड्न रुचाउँछु । त्यसले गर्दा पनि अहिलेसम्म फिट छु । 

मेरो खाना
खानामा सबैजसो परिकार रोजाइमा पर्दछ । स्वादिलो चाहिँ हुनुपर्छ है । मननपर्ने खाना ढिँडो र सुक्खा रोटी हो ।

खाना बनाउनका लागि म नामी कुक हुँ । खाना पकाउने सौख पहिलेदेखि नै थियो ममा । विशेषतः मासुका परिकारहरु मीठो बनाउन सक्छु । 

रेस्टुरेन्ट पहिले खुबै गइन्थ्यो, अहिले त बूढो भइयो । पहिले–पहिले बेलुकी साथीभाइका साथ रेस्टुरेन्ट गएर खुबै रक्सी खाइन्थ्यो । रेस्टुरेन्टवाला मजस्ता कवि, लेखकहरु रेस्टुरेन्टमा बढी बसे भने उनीहरुको गतिविधि र क्रियाकलापको बारेमा लेख्छन् भनेर सशङ्कित हुँदा रहेछन् । त्यो थाहा पाएपछि बिस्तारै रेस्टुरेन्ट जान कम गेरेँ ।

मेरो खेलकुद 
खेलकुदप्रति त्यति लगाव भएन । कलेज जीवनमा कहिलेकाहीँ टेबलटेनिस खेलिन्थ्यो । त्यसबाहेक न खेलकुद खेलियो, न त यसलाई गम्भीरतासाथ नै हेरियो । 

मेरो मोबाइल 
अहिले मसँग सामसुम ब्रान्डको स्मार्टफोन छ । यसअगाडि पनि विभिन्न ब्रान्डका मोबाइल चलाएको थिए । यो नयाँ मोबाइल पछिल्लो समय अमेरिबाट फर्किँदा ल्याएको हुँ । केही मोबाइलहरु आफन्त र साथीभाइबाट गिफ्ट पनि पाएको छु । 

फोन गर्न, अनलाइन न्युजहरु हेर्न, फेसबुक, म्योसन्जरदेखि फोटो खिच्ने, पठाउने लगायतका काम मोबाइलबाट गर्छु । तर अप्ठ्यारो के छ भने सबै फङ्सङहरु राम्रोसँग चलाउन आउँदैन ।

फेरिँदो प्रविधि र उमेरका कारणले अपडेट हुन गाह्रो पर्दाे रहेछ । त्यसैले जान्ने मानिसहरुसँग भेट हुँदा सिक्ने गरेको छु ।

मेरो टिभी 
टिभी ठ्याक्कै हेर्दिनँ । कमसेकम १५–२० वर्ष भयो होला टिभी नहेरेको । घरमा टिभी छ । तर हेर्न मनलाग्दैन । टिभीमा के आउँछ कस्तो आउँछ मतलब भएन । बरु युटुब, अनलाइनमा केही महत्त्वपूर्ण लाग्यो भने हेर्छु । 

मेरो चलचित्र
फिल्म हेर्न छाडेको धेरै वर्ष भयो । पहिले फिल्म हलमै गएर साथीभाइसित हेर्थे । अहिले फिल्म हेर्नका लागि २, ३ घण्टा एकै ठाउँमा बिताउनुपर्दा झर्को लाग्छ ।

साहित्यका गम्भीर विधाहरु पढ्न थालेपछि  फिल्म चाहिँ एउटा इम्याजिनका रूपमा रहने भएकाले गर्दा फिक्का लाग्छ । त्योभन्दा बढी नाटकप्रति अभिरुचि छ ।

मेरो भाषाशैली
बोलीचालीमा कहिले सोझै र कहिले साहित्यिक भाषा मनपर्छ । कहिले छोटाछोटा वाक्यहरुलाई अर्थपूर्ण ढङ्गले प्रस्तुत गर्छु । 

यसमा मेरो आफ्नै स्टाइल छ । म ठाउँ हेरिकन बोल्न सक्छु । सिम्बोलिक रूपमा पनि बोलिन्छ । बौद्धिक जमातमा त्यस्तै किसिमको भाषा प्रयोग गर्छु ।

लेख्दा बढी सिम्बोलिक शब्दहरु लेख्छु, जो यौन सिम्बोलको रूपमा प्रस्तुत हुन सक्छन् । 

मेरो प्रेम
मैले एरेन्ज म्यारिज गरेको २०२६ सालमा । त्यो एउटा इन्सिडेन्ट पनि हो । म जीवनमा विवाह नै गर्दिनँ भनेर बसेको मान्छे । साहित्यमा लागेपछि विभिन्न क्यारेक्टरका केटीहरुसँग सङ्गत गरी रमाएको मान्छे । मुलुकका ठूला–बडा घरका श्रीमती तथा छोरीचेलीदेखि साधारण केटीहरुसँगको रिलेसनमा रहेको मान्छे । 

प्रेम भ्रम र धोका थियो मेरा लागि । प्रेममा बदलाको भाव कहिल्यै पनि उत्पन्न भएन । प्रेममा म जोसँग घनिष्ट रहेँ । त्योसँग प्रेमविवाह गर्न आँट्दा बुबाले थाहा पाए । परिवारमा होहल्ला भयो । मैले मन पराएकी केटी इन्टरकास्ट थिइन् । 

पहिले बुबाले चित्त दुखाउनु भयो तथापि उहाँ पछि कन्भेन्स हुनुभएको थियो । आमाले मान्दै मान्नु भएन । 

घरपरिवारलाई दुःख दिएर विद्रोह गर्ने अवस्था पनि थिएन । पछि प्रेमीकाले पनि जे भयो छाडिदेऊ, भुलिदेऊ भनिन् । त्यसपछि म चुप लागेँ । 

एक समय एमएको थेसिस गर्दैगर्दा मेरो थेसिसबाट प्रभावित बन्नुभएका विद्वान व्यक्तित्व जसले मेरो विषयका क्याम्पसका प्रमुखसँग र राजनीतिज्ञ तथा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट जो हाम्रो नातेदारसमेत पर्नुहुन्थ्यो ।
उहाँकै सिफारिस म मलाई आफ्नो भतिजी विवाहका लागि अफर गर्ने व्यक्ति थिए  देशकै गनेचुनेका विद्वान यदुनाथ खनाल । विवापछिको प्रेम अहिले पनि जारी छ ।


मेरो घुमफिर
घुमघाममा रुचाउने मानिस हुँ म । प्राकृतिक सौन्दर्यले भरिएका ठाउँहरु घुम्न मनपर्छ । एक्लैभन्दा पनि साथीभाइका साथ घुम्न आनन्द लाग्छ । नेपालको ६५ जिल्ला घुमेको छु । त्यसमा पनि नुवाकोट र रसुवा मेरा लागि विशेष छ । 
विदेशमा चाहिँ ४–५ पटक अमेरिका गएको छु । दार्जिलिङ, सिक्किम, बनारस, कोककत्ता र दिल्ली साहित्यिक साथीहरुसँग निकटतम सामीप्यता रहेकाले बेलाबखतमा पुग्छु ।

मेरो साहित्य
सानैदेखि मेरो साहित्य लेखनमा रुचि थियो । लेखनमा गोविन्दप्रसाद लोहनीबाट प्रभावित भएको हुँ । हाम्रो ज्ञानेश्वरमा घर थियो । पारिवारिक रूपमा मेरो बुबाको परिवारसँग मनमुटाव परेर अंशबण्डा भएपछि हामी धोवीधारामा सरेका हौँ । 

हामी तल्लो फ्ल्याटमा बस्थ्यौँ र माथि गोविन्दप्रसाद लोहनी बस्नुहुन्थ्यो । मलाई गोविन्दप्रसाद लोहनीले कहिल्यै छाड्नु भएन । उहाँको फ्ल्याटमा देशभरिका काँग्रेस र कम्युनिष्टहरु जम्मा हुन्थे । 
त्यो वातावरणले मलाई साहित्यिमा लाग्ने प्रेरणा जागृत भयो ।

हाम्रो घर एउटा विशाल गुरुज्यूको भान्जाभान्जी फेमेली भएकाले र हाम्रो पुर्खाले नेपालको राजनीतिक यात्रामा पृथ्वीनारायण शाहको साथ दिएको थियो । सोही कारणले बिभिन्न ठाउँका जग्गा जमिन बक्सिसका रूपमा पुर्खाले पाएका थिए ।

त्यही परम्परामा विजयराज, तर्कराज गुरुज्यूका भव्य महलहरुमा नाटक खेल्ने, देखाउने, धाई राख्ने, नोकरचाकर किनेर ल्याउने चलन थियो । रामरमिताको जिन्दगीका पुख्र्याैली विरासत थियौँ हामी । हाम्रा धाईहरुले हामीलाई आफ्ना छोरीहरुसँगै १४–१५ वर्षसम्मको हुँदा पनि सँगै नाङ्गै नुहाइदिन्थे । सँगै एउटै ओच्छ्यानमा सुताइदिन्थे ।

त्यो वातावरणको हुर्काइले जगाएको यौन उत्सुकता र त्यस्ता मनोवृत्तिको सङ्गतले गर्दा पनि यौन सहज र मामुलि थियो मेरा लागि ।

पछि गोविन्दप्रसाद लोहनीकोमा साहित्यमा सेक्सको विषयमा खुबै बहस हुनेगथ्र्यो । एकतिर मलाई गोविन्दप्रसाद लोहनीले यौन साहित्यको मोरल लिसन दिनुहुन्थ्यो ।

अर्काेतिर मेरो बुबाले यौन साहित्यमा लाग्दा फसिने डर देखाउनुहुन्थ्यो, कानुनी रूपमा फसिने कुराको ज्ञान पनि दिनुहुन्थ्यो । 

ती दुई विचारात्मक द्वन्द्वको चेपुवामा परेको थिएँ म । पछि गोविन्दप्रसादको बौद्धिकताले छोप्यो मलाई, यौनका विषयमा धेरै कुरा सिक्ने अवसर पाए, अध्ययन पनि गरेँ र यौन साहित्यको यात्रा सुरु भयो मेरो । 
त्यसपछि विश्व साहित्य अध्ययनको क्रममा भारतीय साहित्यकार अज्ञय, बच्चन र अङ्ग्रेजी कथाकार अल्बर्ट मोरेबियाको प्रभाव पर्न थाल्यो र म यौन साहित्यतर्फ अभिप्रेरित भएँ ।

यौन सधैँ एकनासले रहन्छ । कहिल्यै तलमाथि हुँदैन । यौन नभई हुँदैहुँदैन । यौन नै जीवन हो । जुन दिन मानिसको मृत्यु हुन्छ त्यही दिन यौन पनि सकिन्छ । 

नेपाली समाज यौनको विषयमा खुल्ला हुन सकेको छैन । समाज नै यौनको विषय उठ्दा तर्सिने गरेको छ । मेरो त ब्रेनवास भइसकेको छ । यौन केही होइन र यसलाई दुरपयोग गर्नुहुन्न । यौन स्वाभाविक प्रक्रिया रहेकाले यसलाई ठिक्क ठाउँमा राख्न सक्नुपर्छ । 

हरेक ठाउँमा यौन हुन्छ । कसैले पूजा गरिरहेको छ भने पनि म त्यसमा यौन देख्छु । हिन्दु सम्प्रदायमा अर्घ चढाउने तथा शिवलिङ्गको पूजा गर्ने कार्यले यौनलाई कति महत्त्व दिएको छ भन्ने कुराको पुष्टि गर्दछ । 
यौन साहित्यलाई अहिले त्यति सम्मान दिइँदैन । यो विवाद नेपाली साहित्यमा मात्र नभई अङ्ग्रेजी साहित्यमा पनि छ । अङ्ग्रेजी साहित्यमा पनि ३ वटा प्रख्यात उपन्यासहरु १६औँ १७औँ शताब्दीमा निस्किए जसले यौन साहित्यको विषयमा व्यापक मन्थन हुनसक्यो ।

मेरो दुःख
साधारण रूपमा बाँच्ने साधन भएन भने त्यो दुःख हो । ससाना कुराहरुले पनि मनमा चोट पु¥याउँछ भने त्यो नै दुःख हो । धन, सम्पत्ति र जग्गा जमिन जोड्ने रहर चाहिँ मनमा कहिल्यै आएन । 
अहिले आफूले जानेको कुरा सिकाइ रहेको छु । आफूले सिकाएका व्यक्ति साहित्यको क्षेत्रमा माथि उठेपछि उनीहरुले मलाई हेय दृष्टिले हेर्ने, फाल्ने, पन्छाउने, घँचेड्ने गर्दछन् । त्यस्ता कार्यबाट दुःख लाग्छ ।

मेरो मापसे 
खुब पिएँ मैले रक्सी । ठर्राबाट सुरु भएको मेरो रक्सीयात्रामा देश विदेशी ब्रान्डका रक्सीको सेवन त कति गरियो कति । भनेर साध्यै छैन ।
उमेरमा सँगै बसेकाले १ पेग खाँदा मैले ३ पेग खाइसकेको हुन्थेँ । तर त्यो रक्सीले मलाई खाएन, मैले रक्सी खाएँ । १ वर्ष जति भयो  मैले त्यति रक्सी खाएको छैन । उमेरले गर्दा नत्र मापसेमा म कम होइन । म रक्सी खानका लागि प्रतिस्पर्धामै उत्रन्थेँ । घरमा पनि धेरैथरि रक्सी राखेको छु ।

मेरो गीतसङ्गीत 
गीत सङ्गीतप्रति मेरो अभिरुचि छ । केटाकेटीदेखि नै रेडियोलाई सानो स्वरमा राखेर गीत सुन्ने बानी प¥यो । प्रेम, विरह र ट्रयाजिडीका गीतसङ्गीत धेरै सुन्छु । अङ्ग्रेजी र हिन्दी पुराना गीतहरु सुन्छु । धार्मिक भजनहरु पनि सुन्छु । यसमा पनि यौनका सिम्बोलहरु खोज्छु ।

मेरो भूल
जीवनमा धेरै भूल भएको छ । हरेक पाइला पाइलामा मैले भूल गरेको छु । जानी नजानी भूल गरेको छु । मैले ११ सालमा एसएलसी दिएको । धेरै पहिले अङ्ग्रेजी र नेपाली साहित्यमा एमए गरेको मान्छे । बुबाको इच्छा अनुसार कहिल्यै पढिनँ, काम गरिनँ । बुबाले सिकाउनु भएको बाटोमा हिँडिनँ । उहाँले अभिप्रेरित गर्नुभएको विषयमा लेखिनँ । मैले भूल धेरै गरेँ तर निरास चाहिँ भइनँ । तर पछुताउनुपर्ने त्यस्तो भूल भएको जस्तो लाग्दैन ।

मेरो रोग 
अहिलेसम्म मलाई त्यस्तो ठूलो रोग केही पनि छैन । १ वर्षयता डाक्टरले डायबिटिज हो कि भनी शङ्का गरेका कारण २ महिना औषधि खाएँ । तर त्यो पछि आफैँ छाडेँ, समस्या देखिएन । यो रोग पछिल्लो समय नुवाकोट घुम्न जाँदा त्यहाँ खाएको कोदोको रक्सी र सुकुटीको असर रहेछ । आज पनि निरोगी छु ।

मेरो राशि  
मेरो राशि सिंह हो । ग्रहदशामा विश्वास गर्छु । म अफैँ हेर्छु पनि हेराउँछु पनि । 

मेरो मृत्यु 
मृत्यु स्वाभाविक प्रक्रिया हो । आखिर मर्नुपर्छ । मृत्यु केही होइन । मृत्यु आफ्नो बसमा छैन । त्यसकारण मृत्युबाट डराउने मानिस म होइन । पहिले पहिले मृत्युदेखि डराउँथेँ, तर्सन्थेँ । छायाँदेखि पनि तर्सन्थेँ । 
तर जब उमेर बढ्दै गयो रातिराति पनि हिँड्ने गर्थे । आन्दोलनमा पनि हिँडिन्थ्यो । आखिर मर्नु नै छ । तर मृत्यु सहज होस् भन्ने चाहना चाहिँ छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...