बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाभित्रका ढुंगेधारा र पोखरीहरुलाई जीवन्तता दिनेछौंः खानेपानी मन्त्री

शुक्रबार, १६ फागुन २०७६, १७ : ५७
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका ढुंगेधारा र पोखरीहरुको संरक्षण गर्ने खानेपानी मन्त्रालयको योजनामा प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच शुक्रबार समझदारी भएको छ ।
 
खानेपानी मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र भ्याली बोर्डका कार्यकारी निर्देशक डा.सञ्जिविक्रम राणाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । मध्यपुर थिमी र महालक्ष्मी नगरपालिकाभित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण र पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता दुवै नगरपालिकाले गरेको छ ।

बोर्डले उपत्यकाभित्रका १० वटा नगरपालिकाहरुमा रहेका ढुंगेधारा र पोखरीहरुको अवस्थाबारे अध्ययन गरेर संरक्षणका लागि सबै नगरपालिकाहरुसँग समझदारी गर्ने योजना अनुरुप पहिलो चरणमा यी दुई नगरपालिकासँग समझदारी गरेको हो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै खानेपानीमन्त्री मगरले उपत्यकाभित्रका सबै ताल तलैया पोखरी र ढुंगेधाराहरुको संरक्षण र सौन्दर्यीकरण गर्दै जाने बताए । मन्त्रालयको योजना अनुसार नै ढुंगेधारा र पोखरीहरुको संरक्षणमा जुट्न सबै स्थानीय तह र समुदायको सहयोग अति आवश्यक रहेको उनले बताए ।

‘प्राचीन शैली र कला कौशलमा निर्माण भएका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण गर्दै जाने हाम्रो योजना छ ।’ मन्त्री मगरले भने, ‘हाम्रो ऐतिहासिक सम्पदासँग जोडिएका यस्ता ढुंगेधारा र पोखरीलाई जीवन्तता दिन खोजेका छौं । कतिपय ढुंगेधारा तथा पोखरीहरु सुकेका छन् तिनीहरुलाई रिचार्ज सिस्टममा लगेर आम उपभोक्तालाई खानेपानी सेवा पु¥याउने हाम्रो योजना हो ।’

‘ढुंगेधारा पोखरीको पानी प्रयोग गरे बापत कुनै शुल्क लिंदैनौं ।’ उनले जोड दिँदै भने, ‘पानी निशुल्क प्रयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो चाहना हो, किनकी यो सेवा हो । सबै स्थानीय तह र समुदायसँग सहकार्य गरेर नै अबको दुई वर्षमा यस्ता सम्पदाहरुको संरक्षण गर्दै अघि बढ्ने हाम्रो योजना छ ।’  

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्रेष्ठले आफ्नो नगरपालिकाभित्र रहेका सबै ढुंगेधारा र पोखरीहरुको संरक्षण दुई वर्ष भित्र गरिसक्ने प्रतिबद्धता जनाए । उनले यो कार्यलाई विशेष प्राथमिकता दिएर अघि बढ्ने र यसका लागि समयमै बजेट विनियोजन हुनुपर्ने बताए ।

त्यस्तै मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले ढुंगेधाराको पुनर्निर्माण र पोखरीहरुको संरक्षण गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । आम स्थानीय उपभोक्ताहरुको सहभागितामा यो अभियानलाई पुरा गरेर छाड्ने अठोट गरे ।
 
बोर्डले काठमाडौं उपत्यका भित्रका महानगर सहित १० वटै नगरपालिका भित्र रहेका कूल ५ सय ७३ ढुंगेधारा र २ सय ७३ पोखरीहरुको विस्तृत अध्ययन र नक्सांकन गरेको थियो । जसमध्ये ४ सय ७९ वटा ढुंगेधाराहरु स्थलगत रुपमा भेटिएका र ९४ वटा ढुंगेधाराहरु हराएको अध्ययनले देखाएको छ । त्यसैगरी १ सय ९३ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएका र ४० वटा पोखरीहरु हराएको बोर्डले जनाएको छ ।

मध्यपुर थिमी नगरपालिका भित्र ५९ वटा ढुंगेधाराहरु रहेका छन् भने १७ वटा पोखरीहरु छन् जसमा ३ वटा पोखरीहरु लोप भएका छन् । त्यस्तै महालक्ष्मी नगरपालिकाभित्र १० वटा ढुंगेधारा र १४ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएको देखिएको छ भने ६ वटा पोखरीहरु विभिन्न कारणले लोप भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप