शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँस्कोटा लगायतकाविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

शुक्रबार, १६ फागुन २०७६, १४ : ४४
शुक्रबार, १६ फागुन २०७६

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार प्रकरणमा संग्लग्न तत्कालीन मन्त्री गोकुल बाँस्कोटासहित अन्य मतियारहरुलाई कुनै पनि शक्ति केन्द्रको दवाव र प्रभावमा नपरी निष्पक्ष तथा निर्भिकतापूर्वक यथाशीघ्र कारवाही प्रकृया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष खेमराज रेग्मीले सरकारले भ्रष्टाचार विरुद्व शून्य सहनशिलताको नीति अपनाउने घोषणा गरे पनि व्यवहारमा त्यो नदेखिएको बताएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले कहिले मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा त कहिले सरकार–सरकारका बीचमा हुने खरिद सम्झौताका नाममा एकपछि अर्को हुँदै पटक–पटक अनियमितता र भ्रष्टाचारका प्रकरणले वर्तमान सरकारको भनाइ र गराईमा सामान्जस्यता नदेखिएको अनुभूति हुन थालेको जनाएका छन् ।

हालै मात्र सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन बाँस्कोटा र दलालका बीचमा ७० करोडभन्दा बढि रुपैयाँ कमिशनको नाममा भ्रष्टाचार गर्ने बदनियतबाट बार्गेनिङ्ग भइरहेको श्रव्य सामाग्री प्रचारमा आएपछि सुशासन र समृद्धिको नारा दिइरहेको वर्तमान सरकारको विश्वसनीयता माथि समेत ठूलो प्रश्न चिन्ह खडा भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको अति विश्वास प्राप्त मन्त्रीबाटै नेपाली जनताको खुन पसिनाको कमाइबाट संकलित राजस्वको ठूलो रकम दलालसँगको मिलिभगतमा भ्रष्टाचार गर्न लागिएको दुष्प्रयासलाई गम्भीर अपराधको रुपमा लिनुपर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप