बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस खतरनाक ढङ्गले विश्वभरि नै फैलँदै

शुक्रबार, १६ फागुन २०७६, १३ : २२
शुक्रबार, १६ फागुन २०७६

कोभिड–२०१९ नाम दिइएको खतरनाक कोरोनाभाइरसको उद्गम मानिएको चीनमा कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको सुखद् खबर आउँदै गर्दा सोही भाइरसको सङ्क्रमण विश्वका अन्य विभिन्न देशहरुमा नसोचेको ढङ्गले देखापर्न र फैलिन थालेको दुःखद् खबर पनि सँगसँगै आउन थालेका छन् । कोरोनाभाइरस सङ्क्रमणको फैलावटको अहिलेको गति अत्यन्तै अप्रत्यासित, खतरनाक र अकल्पनीय बन्दै गइरहेको छ । यो स्थितिमा नियन्त्रण पाउन भइरहेको कठिनाइलाई हेर्दा चाँडै नै विश्व कोरोनाभाइरसको खतरनाक महामारीको चपेटामा पर्न सक्ने सम्भावना बढ्दै गइरहेको छ ।

कोरोनाभाइरस सङ्क्रमणको अहिलेको स्थितिलाई विश्व स्वास्थय सङ्गठनले औपचारिक रूपमा ‘वैश्विक महामारी’ (world panademic) को स्थिति घोषित त गरिसकेको छैन तर स्वास्थ्यविज्ञहरुले अहिले विश्व कोरोनाभाइरस महामारीको सँघारैमा पुगिसकेको चेतावनी दिन थालेका छन् । अहिलेको दरमा कोरोनाको सङ्क्रमण फैलिँदै जाने हो भने यसले विश्वमै ठूलो सङ्कट निम्त्याउने चिन्ता प्रकट हुन थालेको छ ।

सुरुमा चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोनाभाइरसको सङ्क्रमण विश्वका थुप्रै मुलुकमा फैलिइसकेको छ । यतिखेर यो सङ्क्रमण युरोप मध्यपूर्व र संसारका अन्य भागलाई चीनभन्दा पनि बढी गाँज्दै लगेको छ । पछिल्ला तथ्याङ्कअनुसार यो सङ्क्रमणले दक्षिण कोरिया, इरान, इटालीलाई चीनपछि सबैभन्दा बढी गाँजेको छ । महादेशको हिसाबले भन्दा यो अन्टार्कटिकाबाहेक बाँकी ६ वटै महादेशमा फैलिइसकेको छ ।

हालसम्म संसारभरि ८३,३८१ जनामा कोरोना सङ्क्रमण देखापरिसकेको छ भने २,८५८ जनाको मृत्यु भइसकेको छ । त्यसो त सङ्क्रमितमध्ये पनि बिहीबारसम्मा ३६,५८७ जना निको पनि भएका छन् । तीमध्येमा ३६,११७ जना त चिनियाँ नै छन् । स्मरण रहोस्, चीनमा हालसम्म सङ्क्रमितको सङ्ख्या ७८,८२४ र मृत्यु हुनेको सङ्ख्या २,७८८ पुगिसकेको छ ।

यतिखेर संसारभरिकै स्वास्थ्य विज्ञहरुलाई चिन्तित तुल्याएको एउटा तथ्य के हो भने कोभिड–२०१९ को उद्गमस्थल मानिएको चीन आफैमा सङ्क्रमणको दर घट्दै जाँदा त्यो सङ्क्रमणले चीनलाई नै माथ गर्ने गरी विश्वका विभिन्न भागहरुमा चाहिँ फैलिँदै गइरहेको छ । 

चीनपछि सबैभन्दा बढी सङ्क्रमण कोरियामा, मृत्यु इरानमा

 चीनपछि कोरोनाभाइरसको सबैभन्दा बढी सङ्क्रमण दक्षिण कोरियामा देखापरेको छ । पछिल्लो पटक मात्रै थप २५६ जनामा कोरोनाभाइरस सङ्क्रमितहरु फेला परेका छन् । तीसमेत गरेर हालसम्म कोरियामा २,०२२ जना सङ्क्रमित बनेका छन् । दक्षिण कोरियामा हालसम्म सोही सङ्क्रमणका कारण १३ जनाको मृत्यु भइसकेको छ ।

चीनपछि सबैभन्दा बढी मृत्यु हुनेहरुको देश चाहिँ इरान भएको छ । हालसम्म इरानमा २६ जनाको मृत्यु भइसकेको छ ।

उता कोरोनाको उद्गम चीनमा मात्रै हिजो बिहीबार ४४ जनाको मृत्यु भएको छ । त्यो समेत गरेर चीनभरिमा कोरोनाभाइरसकै कारण २,७८८ जनाको मृत्यु भइसकेको छ ।

चीनपछि इरानमा र दक्षिण कोरियामा देखापरेको कोरोना सङ्क्रमण विस्तारै युरोपतिर पनि सर्दै र फैलिँदै गएको छ । युरोपमा पनि सबैभन्दा बढी सङ्क्रमण र हताहती इटालीमा देखिएको छ ।  इटालीमा कोरोनाकै कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । हालसम्म इटालीमा ६५० जनामा सङ्क्रमण फेला परिसकेको छ । इटालीको छिमेकी देश फ्रान्समा कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्या रातारात दोब्बर भएको छ । हिजो बिहीबारसम्ममा फ्रान्समा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने १२ जना निको भएका छन् तथा २४ जना अस्पताल भनाए भएका छन् । सङ्क्रमितहरुमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाको सम्भावित महामारीसँग जुध्नका लागि फ्रान्सले १३८ ठाउँमा सुविधा सम्पन्न चिकित्सीय स्थानहरू बनाएको छ ।

उता जापानलाई पनि कोरोनाको सङ्क्रमणले गाँज्दै लगेको छ । पछिल्लो चरणमा कोरोना सङ्क्रमण जापानमा पनि देखापरेपछि टोकियोस्थित डिज्नी ल्यान्डलाई बन्द गरिएको छ । भोलि शनिबारदेखि लागू हुने गरी गरिएको यो बन्द अगामी मार्च १५ सम्म कायम रहने छ ।

यसअघि नै जापान सरकारले पूर्व सावधानीका रूपमा जापानका सबै स्कुलहरु बन्द गरिसकेको छ भने कम्तीमा दुई हप्तासम्मका लागि ठूला जमघट तथा खेलकुदहरुको आयोजना नगर्न सार्वजनिक आह्वान नै गरिसकेको छ ।

अमेरिकामा कोरोना सङ्क्रमित : अनौठा केस

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा एक महिलामा देखापरेको कोरोनाभाइरसको सङ्क्रमणले सबैलाई आश्चर्यचकित तुल्याइदिएको छ । यो यस अर्थमा कि ती सङ्क्रमित महिलाले विदेश यात्रा गरेकै छैनन् र उनी सङ्क्रमितको सम्पर्कमा पनि आएकी छैनन् । अहिले ती महिलामा सङ्क्रमण कसरी आयो भन्ने बारे गहन अनुसन्धान भइरहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा मात्रै आन्तरिक उडानबाट राज्य प्रवेश गरेका ८,४०० जनामाथि कोरोनाको सङ्क्रमण छ कि छैन भनेर निगरानी राखिएको छ ।

कोरोनासम्बन्धी पछिल्ला केही ताजा जानकारीहरु

० न्युजिल्यान्डले कोरोनाभाइरस सङ्क्रमणको चपेटमा परेको देश इरानबाट आउने यात्रीहरुलाई अस्थायी रूपमा देश प्रवेशमा रोक लगाएको छ र पछिल्लो १४ दिनमा इरानबाट फर्केकाहरुले पनि स्वःबन्देजमा बस्नु अनिवार्य गरेको छ ।

० कोरियाको पप स्टारहरुको समूह बीटीएसले दक्षिण कोरियाको राजधानी सियोलमा आगामी अप्रिलमा गर्ने भनेको आफ्नो कन्सर्ट रद्द गरेको छ । उक्त कन्सर्टमा २ लाखभन्दा बढी समर्थक–दर्शकहरु सहभागी हुने आँकलन गरिएको थियो ।

० कोरोनाभाइरस सङ्क्रमणकै कारण अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी केही खुकुलो बनाएको छ । उसले इरानमा पठाइने खाद्यपदार्थ, औषधि तथा अत्यावश्यक सामानहरु माथिको प्रतिबन्धमा मात्रै खुकुलो गरेको हो ।

० अमेरिकाको हेल्थ एन्ड ह्युम्यान सर्भिसेजका सेक्रेटरी एलेक्स अजरले ‘तत्कालका लागि अमेरिकी जनता कोरोनाभाइरस सङ्क्रमित हुने खतरा कम रहेको तर यो फेरिन सक्ने’ बताएका छन् । हिजो बिहीबार उक्त जानकारी दिँदै अजरले ‘अहिले नै अमेरिकी जनता आत्तिइहाल्नुपर्ने स्थिति नरहेको तर यो स्थितिमा परिवर्तन आउन सक्ने भएकाले सबै तयार अवस्थामा रहन जरुरी रहेको’ बताए ।

उनले जानकारी दिएअनुसार, अहिले अमेरिकाका ४० वटा सार्वजनिक प्रयोगशालाहरुले कोरोनाभाइरसको परीक्षण गर्न सक्ने अवस्थामा रहेको छ । बिहीबार बिहानसम्म अमेरिकाको सेन्टरर्स फर डिजिट कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले बिहीबार बिहानसम्ममा ३,६२५ नमुनाहरुको परीक्षण गरिसकेको छ ।

० गति बिहीबार मात्रै न्युजिल्यान्डमा कोरोनाभाइरसको पहिलो सङ्क्रमित फेला परेका छ । डच नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थले एक वक्तव्यमा जनाएअनुसार मुलुकको दक्षिणी सहर टिल्बर्गका ती सङ्क्रमित पछिल्लो पटक उत्तरी इटालीको भ्रमणबाट फर्केका थिए । निजको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

० उत्तरी आयरल्यान्डमा पनि पहिलो पटक कोरोनासङ्क्रमित देखापरेका छन् । ती व्यक्ति इटालीको यात्राबाट फर्केका थिए ।

हेक्का रहोस्, बेलायतमा पनि १५ जनामा कोरोनाका सङ्क्रमण देखापरिसकेको छ ।

० कोरोनाभाइरसकै सङ्क्रमणको डरले फेसबुकले एफ८ नाम दिएको आफ्ना डेभलपरहरुको वार्षिक सम्मेलन रद्द गरेको छ । सिलिकन भ्याली सिटीको सान जोसेमा आयोजना हुने भनिएको सो सम्मेलनमा संसारभरिका हज्जारौँ प्रोग्रामर भेला हुनेवाला थिए ।

० कुवेतले आफ्ना सैन्य कलेज तथा स्कुलहरुको पढाइलाई मार्च १ देखि लागू हुने गी दुई हप्ताका लागि बन्द गरेको छ ।

० युनाइटेड अरब इमिरेटले इरानसँगको आफ्नो यात्रुवाहक फेरी सेवालाई अनिश्चितकालका लागि बन्द गरेको छ ।

त्यसैगरी समुद्री बाटोबाट आउने सम्पूर्ण जहाजका कर्मचारीहरुको स्वास्थ्य स्थितिबारे पनि ७२ घण्टा अगावै जानकारी दिनुपर्ने व्यवस्था लागू गरेको छ ।

० रुसले इरानसँगको आफ्ना केही हवाइ उडानहरु आजदेखि नै रद्द गरेको छ । साथै उसले इरानीहरुलाई भिसा जारी गर्न आजैको मितिदेखि बन्द गरेको छ ।

० कोरोनासङ्क्रमणका विरुद्ध चालेको कदमका विरुद्धमा रुसस्थित चीनको दूतावासले ‘अस्वाभाविक र चिनियाँ जनताका विरुद्ध पक्षपातपूर्ण’ भन्दै असन्तोष प्रकट गरेपछि रुसले त्यसको जवाफ दिएको छ । मस्कोका मेयरले कोरोना सङ्क्रमण फैलिन नदिनका लागि मस्को सहरले अपनाएका तरिकालाई सम्मान गर्नुपर्ने बताएको छ । उनले चिनियाँ दूतावासले आफ्ना जनतालाई क्वरेन्टान्इनका उपायहरुलाई अपनाउन प्रोत्साहित गर्नुपर्ने पनि बताएका छन् ।

० इरानले राजधानी तेहरानमा शुक्रबारको नियमित प्रार्थना रद्द गरेको छ । कोरोनाभाइरसको सङ्क्रमितको सङ्ख्या १०० बाट बढेर २४५ पुगेपछि र २६ जनाको मृत्यु भएपछि त्यो कदम चालेको हो ।

इरानले चिनियाँ नागरिकहरुलाई देश प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ ।

० पछिल्लो पटक सबसहारा अफ्रिकी देश नाइजेरियामा पनि कोरोनाभाइरसको सङ्क्रमण देखापरेको छ । यो कुराको आज मात्रै नाइजेरिया सरकारले पुष्टि गरेको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप