शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रास : सांसदहरु भन्छन्, ‘कोरोनामुक्त भनेर मूर्खता प्रदर्शन नगरौँ’

‘चेकजाँच थप कडा बनाऔँ, भ्रमण वर्ष स्थगन गरौँ’
शुक्रबार, १६ फागुन २०७६, १२ : ४५
शुक्रबार, १६ फागुन २०७६

काठमाडौँ । बिहीबार थप ७ देशमा कोरोना भाइरस (कोभिड–१९)को पहिलो सङ्क्रमण देखिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले सबै सदस्य राष्ट्रलाई तयारीका लागि चेतावनी दियो । ‘प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले भने, ‘कुनै पनि मुलुकले कोभिड–१९ भित्रिन्न भनेर बस्न हुँदैन, त्यस्तो गरे गम्भीर गल्ती हुनेछ ।’

महानिर्देशक गेहब्रेयससले कोरोना भाइरसले जात र जातीयताको फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकलाई सतर्कता अपनाउन सुझाव दिए ।

कोभिड–१९ को उत्पत्ति भएको मुलुक चीनमा तुलनात्मक रूपमा सङ्क्रमण घट्दै गए पनि युरोप र मध्यपूर्वमा यसको असर देखिन थालेको छ । बिहीबार मात्रै ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा कोभिड–१९ को सङ्क्रमण पहिलो पटक देखिएको छ ।

अन्य मुलुकमा कोभिड–१९ को सङ्क्रमण दरले चीनलाई उछिनेको छ । बिहीबारसम्म भाइरसको सङ्क्रमण कम्तीमा ५० देशमा पुगेको छ ।


डिसेम्बरमा भाइरस देखिएयता चीनबाहिर मात्र ५ हजारभन्दा बढीमा सङ्क्रमण पाइएको छ भने ७० जनाको मृत्यु भइसकेको छ । चीनमा मात्रै २ हजार ७ सय ८८ जनाको मृत्यु भइसकेको छ । ७८ हजार ८ सय ३२ सङ्क्रमित भएका छन् ।

मृत्युको आँकडालाई हेर्ने हो भने कोभिड–१९ का कारण चीनपछि सबैभन्दा धेरै इरानमा २६ जनाको मृत्यु भएको छ । सङ्क्रमण फैलिएपछि तेहरानले सबै सार्वजनिक क्षेत्र बन्द गरेको छ । चीनपछि सबैभन्दा धेरै सङ्क्रमित दक्षिण कोरियामा पाइएको छ । दक्षिण कोरियामा दुई हजार २२ सङ्क्रमित पाइएको छ । बिहीबारसम्म दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि साउदी अरबले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मक्का र मदिनालगायतका धार्मिक क्षेत्रमा विदेशी तीर्थालुलाई रोक लगाएको छ । अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास स्थगित भएको छ । पहिलो पटक बुधबार दुई जनामा कोभिड–१९ को सङ्क्रमण पाइएपछि पाकिस्तानले बिहीबार केही क्षेत्रका विद्यालय बन्द गरेको छ ।

चीनसँग सीमा जोडिएको नेपालमा हालसम्म यसबाट सङ्क्रमित र मृत्यु भएको घटना प्रकाशमा छैन । तर यसो भन्दैमा के नेपाल कोरोना अर्थात् कोभिड–१९ को जोखिममुक्त छ ? हाम्रा स्रोत साधनले हामीलाई कोभिड–१९ को सङ्क्रमण देखा परिहालेको अवस्थामा पनि जोगाउन र सुरक्षित राख्न सम्भव ? स्वाभाविक रूपमा यस्ता प्रश्न उब्जिन थालेको छ । किनकि सरकार कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने सम्भावित खतरालाई नजरअन्दाज गरिरहेको देखिन्छ । बरु यसै समयमा भ्रमण वर्षको रन्कोले सरकारलाई छोएको छ । ‘नेपाल सुरक्षित छ’ भन्दै पर्यटकलाई निर्वाध भित्र्याइरहेका छौँ ।

कोभिड–१९ बाट साँच्चै नै हामी जोखिममुक्त छौँ ? यतिबेला कोभिड–१९ को सङ्क्रमण भित्रिन नपाओस् भनेर हामीले विदेशी पर्यटकलाई रोक्ने कि भ्रमण वर्ष सफल पार्नका लागि पर्यटकहरुलाई निम्त्याइरहने ? नीति निर्माण तहमा रहेका केही सांसदसँग रातोपाटीले जिज्ञासा राखेको थियो । प्रस्तुत छ, उनीहरुको भनाइ–  

चेकजाँच कडा बनाउनुपर्छ : खगराज अधिकारी, सांसद नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

कोरोनाबारे जति संवेदनशील र सतर्क हुनुपर्ने वा गर्नुपर्ने हो त्यो अहिलेको अवस्थामा पर्याप्त छैन । विश्वरभर फैलिसकेको कोरोना सङ्क्रमण नेपालमा नभित्रिएला भन्न सकिन्न । यसलाई रोक्न वा फैलन नदिन हामीले अवलम्बन गर्न सक्ने उपायहरु सबै अवलम्बन गर्नुपर्छ । त्यसमा सरकारको विशेष ध्यान जानुपर्छ । विमानस्थलदेखि सडक नाकामा समेत परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ त्यसो गरिएन भने अन्य देशबाट नेपाल आउने मानिसहरुबाट यो सङ्क्रमण सहजै भित्रिन सक्छ । विभिन्न सञ्चार माध्यमहरुका अनुसार अझै एक महिना यो रोगको सङ्क्रमण फैलन सक्छ भन्ने सुनिएको छ, त्यसबेलासम्म हामीले उच्च सतर्कता अपनाउन जरुरी छ । त्यसका लागि सरकारले प्राविधिक जनशक्ति र स्रोत साधनमा ध्यान दिन जरुरी छ । हामीले संसदमार्फत बारम्बार यसबारे सरकारको ध्यानाकर्षण गराइरहेका छौँ । तर सरकारले जति सतर्कता अपनाउनुपर्ने हो, त्यति नगरेको हो कि जस्तो लाग्छ ।

सरकार गम्भीर भएन : डा डीला सङ्ग्रौला, सांसद नेपाली काँग्रेस

कोरना भाइरसबारे सरकारले जति सतर्कता र सावधानी अपनाउनुपर्ने हो त्यो गरेको पाइँदैन । यसअघि संसदमा हामीले सरकार, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग सवालजवाफ पनि गर्यौँ । त्यो सवाल जवाफपछि सरकारले चीनबाट विद्यार्थीलाई ल्याउने र क्वारेन्टाइनमा सुरक्षित राख्ने व्यवस्था गर्यो त्यसलाई सकारात्मक रूपमै लिनुपर्छ । तर त्यसपछि सरकारले सबै जिम्मेवारीबाट मुक्त भएजसरी अघि बढेको महसुस भइरहेको छ । यो महामारीबाट जोगिन र जनतालाई जोगाउन सरकार गम्भीर नभएको हो कि भन्ने उसका गतिविधिबाट बुझ्न सकिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका २ वटा थर्मल स्क्यानरमध्ये एउटा बिग्रेको एक महिना भइसक्यो, बनाएको छैन । त्यो मात्रै होइन, विदेशबाट आउनेहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच नै नगरी प्रवेश गर्ने गरेको भन्ने सुनिएको छ । यदि त्यस्तो हो भने सङ्क्रमित पनि सहजै नेपाल प्रवेश गर्ने र रोगसमेत फैलने खतरा छ । यसमा सरकार संवेदनशील हुन सकेको देखिँदैन । यस्तो लापरबाही रहिरहने हो भने कोरोना हाम्रो गाउँ, सहर हुँदै देशभर फैलन्छ र हामी सबै सकिन्छौँ । विश्व स्वास्थ्य सङ्गठनले समेत कोरोना भित्रिँदैन भनेर चेतावनी दिइसकेको अवस्थामा हामी अझै सतर्क हुन जरुरी छ ।

पर्यटक भित्रिन रोक्नु पर्छ : सांसद सरिता गिरी, समाजवादी पार्टी

कोरोनाभाइरसका कारण विश्वका विकसित मुलुक पनि प्रभावित भएका छन् । विश्वका दर्जनौँ मुलुकमा यसको सङ्क्रमण देखिएको छ । चीनबाट सुरु भएको यो भाइरसको सङ्क्रमण इटालीजस्ता मुलुकमा पनि पुगिसकेको छ । नेपाल र चीन छिमेकी मुलुक हुन् र दैनिक आवतजावत भइरहन्छ । यस्तो अवस्थामा हामी कोरोना सङ्क्रमणप्रति जति सचेत हुनुपर्ने हो, सरकारले त्यो सचेतता अपनाएको देखिँदैन । यो चिन्ताको विषय हो ।

कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि सरकारीस्तरमा जति सावधानी अपनाउनुपर्ने हो, जति तयारी गर्नुपर्ने हो, मेरो विचारमा सरकारले त्यसको पाँच प्रतिशत पनि काम गरेको छैन । अहिलेसम्म एउटा पनि ‘आइसोलेसन वार्ड’ तयार पारेको छैन । कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने भएका कारण एक जनामा यसको सङ्क्रमण देखिएको खण्डमा त्यसले भयावह रूप लिन सक्छ । यसतर्फ सरकार गम्भीर भएको छैन ।

सरकारलाई जसरी हुन्छ पैसा चाहिएको छ, चाहे त्यो इन्धनमा कर बढाएर होस् या भ्रमण वर्षका नाममा पर्यटक भित्र्याएर होस् । तर आम मानिसका लागि आफ्नो जीवन नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । नेपालको सन्दर्भमा राज्य र सरकारले जनताको जीवनलाई कम प्राथमिकता दिएको देखिन्छ ।

जसरी विश्वमा कोरोनाको सङ्क्रमण फैलिँदै गएको छ, यो अवस्थामा हामी साँच्चै नै गम्भीर हुने हो भने विदेशी पर्यटकलाई नेपाल आउनै दिनु हुँदैन । हामीसँग कोरोनाबाट जोगिनका लागि त्यस्तो के सुरक्षा उपाय छ र हामीले यत्रो जोखिम मोल्ने ? विकसित मुलुकहरुसमेत यसको सङ्क्रमणबाट बच्न र रोकथाम गर्न असफल भइरहेको अवस्थामा हामीले पर्यटक भित्र्याइरहनु उचित होइन ।

मूर्खता प्रदर्शन गर्नु हुँदैन : राजेन्द्र लिङ्देन

नेपाल कोरोनाभाइरसको सङ्क्रमणको जोखिमबाट मुक्त छ भनेर विश्वास गर्न सकिने आधार छैन । विशाल जनसङ्ख्या भएको र शक्तिशाली छिमेकी मुलुक चीनमा देखिएको यो सङ्क्रमण हाल विश्वका कैयौँ मुलुकमा फैलिसकेको छ । विश्वव्यापी रूपमा कोरोनाको सन्त्रास छ । यसबाट प्रभावित हुने मानिसको सङ्ख्या बढिरहेको छ ।

कैयौँ मुलुकले यसको सङ्क्रमण फैलिन नदिन विभिन्न उपाय अवलम्बन गरिरहेका छन् । विभिन्न मुलुकले सङ्क्रमण देखा परेका मुलुकबाट आउने नागरिकलाई रोक लगाउनेदेखि लिएर आवश्यक सतर्कता अपनाइरहेका छन् । नेपालमा यस प्रकारको सतर्कता अपनाएको देखिएन । उल्टै, सरकारले पर्यटन वर्ष सफल पार्नुपर्छ भनेर अडान लिइरहेको छ । यस्तो मूर्खता प्रदर्शन गर्नु हुँदैन ।

अहिले पर्यटन वर्ष सफल पार्ने भनेर अडान लिइरहनुभन्दा पनि यसलाई पूर्वाधार निर्माणको वर्षका रूपमा मनाउन उचित देखिन्छ । हामीले यहाँ पूर्वाधार निर्माण गर्न सकेमा जहिले पनि पर्यटकहरु नेपाल आउन आकर्षित भइरहन्छन् । त्यसैले कोरोना सङ्क्रमणले विश्वलाई आतङ्कित तुल्याइरहेको समयमा हामीले पनि विदेशी पर्यटकलाई रोकेर पूर्वाधार निर्माणमा जोड दिन जरुरी छ ।

भ्रमण वर्ष स्थगन गरौँ : रामकुमारी झाँक्री, सांसद नेकपा

हामीले राम्रो तयारी गर्दागर्दै पनि विश्वमा महामारीका रूपमा कोरोना भाइरसको त्रास बढ्दो छ । यस्तो अवस्थामा हामीले भ्रमण वर्षलाई निरन्तरता दिने होइन, केही समयका लागि स्थगन गर्नुपर्छ । सरकारले अहिलेसम्म सहयोग गर्ने निजी सङ्घ सस्थालाई धन्यवाद दिँदै अविलम्ब भ्रमण वर्ष स्थगित भएको घोषणा गर्नु नै बुद्धिमानी हुन्छ ।

हाम्रो देशमा धेरै पर्यटक आउने भनेको चीनबाट हो । चीनमा सङ्क्रमणको महामारी छ । त्यहाँबाट आउने पर्यटक शून्यजस्तै छ । भारतको बिहार, बङ्गलादेश, श्रीलङ्का यी देशबाट गाडीका गाडी पर्यटक भित्र्याइए पनि क्वालिटीका हुँदैनन् । अहिले त  युरोप, अमेरिका सबैतिर यसको त्रास छ । कतिपय देशहरुमा विमानस्थलमा चेकजाँच गरेरै पठाइने गरे पनि बीचैमा सङ्क्रमण बढ्न सक्ने त्रास पनि कायमै हुन्छन् ।

अर्कोतर्फ हाम्रो देशमा पर्याप्त चेकजाँचका लागि पर्याप्त जनशक्ति र पूर्वाधार समेत छैन । नेपालले चीनबाट ल्याएका नेपालीहरुलाई क्वारेन्टाइनमा राखेको छ, त्यो राम्रो हो तर नेपालीहरु अन्य देशमा पनि धेरै छन्, जहाँ सङ्क्रमण फैलँदो छ । यदि ती देशबाट पनि नेपाली ल्याउनुपर्ने अवस्था आयो भने नेपालले थेग्न सक्दैन । त्यसैले हामी (सरकार, सांसद, जनता) सबै मिलेर यो सङ्क्रमणबाट जोगिने र जोगाउने प्रयासमा लाग्नुपर्छ । रोग लागिसकेपछि उपचार गर्नुभन्दा लाग्न नै नदिनु राम्रो हुन्छ । हामीले संसदमा पनि यसबारे सरकारको ध्यानाकर्षण नगराएका होइनौँ । तर त्यो मात्र पर्याप्त छैन, यसबारे सञ्चारमाध्यमहरुले पनि ध्यान दिन र त्यसखालको जनचेतना फैलाउन जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप