शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा बढुवाको बाटो खुल्यो, नेता समाएर फड्को हान्ने दौड शुरु

शुक्रबार, १६ फागुन २०७६, १० : २३
शुक्रबार, १६ फागुन २०७६

काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी जवानदेखि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सम्म बढुवाको लागि बाटो खुलेको छ ।

गृह मन्त्रालयले बिहीबार तीनजना डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस गरेसँगै अन्यको लागि समेत बाटो खुलेको हो । माथिल्लो प्रहरी अधिकृतमा पद रिक्त भएको १६ दिनपछि तीन एआईजी सिफारिस गरिएको हो ।

नेपाल प्रहरीमा उच्चदेखि तल्लो तहसम्म १४ प्रतिशत दरबन्दी खाली छ । बढुवा रोकिएको कारण महत्त्वपूर्ण विभागसहितका प्रदेश प्रहरी कार्यलयसमेत निमित्तको भरमा चलेका छन् ।

प्रहरीको अभिलेखअनुसार नेपाल प्रहरीमा कूल ६९ हजार ५२३ दरबन्दी छ । तीमध्ये ११ हजार २५१ पद खाली छ । हाल डीआईजीमा मात्रै २२ दरबन्दी खाली छ ।

यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा जनपदतर्फ ९ र प्राविधिकतर्फ ७ गरी १६, प्रहरी उपरीक्षक (एसपी) मा जनपदतर्फ ६ र प्राविधिकतर्फ ११ गरी १७ तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मा जनपदतर्फ ३२ र प्राविधिकतर्फ २० गरी ५५ दरबन्दी खाली छ ।

दुवैतर्फ प्रहरी निरीक्षकमा २१९, प्रहरी नायब निरीक्षकमा ४१७, प्रहरी सहायक निरीक्षकमा एक हजार आठ, प्रहरी हवल्दारमा एक हजार २२२ र प्रहरी जवानमा सात हजार ७७२ दरबन्दी रिक्त छ ।

बढुवाको बाटो खुलेसँगै २२ जना प्रहरी एसएसपीहरु डीआईजी बढुवाको लाइनमा छन् । प्रहरी नियमावली २०७१ मा एआईजी, डीआइजी र एसएसपीका लागि लागि गृहसचिवको अध्यक्षतामा सिफारिस समिति हुने उल्लेख छ ।

प्रहरी नियमावलीअनुसार कार्यसम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता, बढुवा समितिको अङ्क, शैक्षिक योग्यता, तालिम, विभूषण, चुनौतीपूर्ण जिम्मेवारी, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र ज्येष्ठतालाई महत्त्वपूर्ण आधार लिइन्छ ।

एआईजी सिफारिस समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव हुने तथा डीआईजी र एसएसपीको सिफारिस समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य–सचिव हुने प्रावधान छ । एआईजी मन्त्रिपरिषद्को र डीआइजी मन्त्रिस्तरीय निर्णयबाट बढुवा हुनेछन् ।

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनका ब्याचका २२ उच्च प्रहरी अधिकृतले ३० वर्षे सेवा अवधिका कारण गत माघ २८ गते एकैसाथ अनिवार्य अवकाश पाएपछि माथिल्लो तहमा धेरै दरबन्दी खाली हुन पुगेको हो ।

उक्त समयमा तीन एआईजी र १८ डीआइजीको पद खाली भएको थियो । त्यसपछि डीआइजीबाट ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् । उनको सेवाअवधि आगामी असार २५ सम्म छ ।

पद खाली भएको तीन महिनाभित्रै पदपूर्ति गरिसक्नु पर्ने भएकाले सरकारले छिट्टै नै बढुवा निकाल्नेछ । प्रहरीको बढुवामा वरिष्ठता र कार्यक्षमता भन्दा पनि नेताको चाकडीले खास अर्थ राख्ने गरेको नजिर बसिसकेकाले पनि कनिष्ठहरू निर्धक्क नेताका घरघरमा धाउन थालेका छन् ।

२२ डीआईजीका लागि ३५ जना एसएसपी मुख्य प्रतिस्पर्धामा छन् । २२ दरबन्दी पुर्तीमा एसएसपीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

वरिष्ठतालाई आधार मान्ने हो भने एउटै ब्याचका १३ जना छन् । बाँकी कसलाई डीआईजी बनाउने भन्नेमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय अन्यौलमा छ ।

यो विषयमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का आसेपासेलाई आकांक्षीहरूले लबिङ गर्न भ्याएका छन् ।

२०४९ वैशाख १९ मा सेवा प्रवेश गरेका राजेश कुमार लाल कर्ण, दिलीप कुमार चौधरी, देबबहादुर बोहरा, पुरुषोत्तम कँडेल, सौरभ राणा, प्रकाशजंग कार्की, सुरेश बस्नेत, गणेश बहादुर ऐन, घनश्याम अर्याल, वसन्त कुमार पन्त, ईश्वर बाबु कार्की, राम कृपाल शाह र उमेश रन्जितकार डीआईजीका लागि मुख्य प्रतिस्पर्धी छन् ।

यी १३ जना एआईजीमा सिफारिस भएका शैलेश थापा क्षत्री र हरि पालका ब्याची हुन् । १३ जना नै शैलेश थापा र हरि पालसँगै घर जानेछन् ।

२०४९ चैत ११ मा सेवा प्रवेश गरेका उत्तमराज सुवेदी, रविन्द्र धानुक, धिरजप्रताप सिंह, सहकुल बहादुर थापा, वसन्तकुमार लामा, दिवेश लोहनी पनि डीआईजीका मुख्य प्रतिस्पर्धी हुन् । सुवेदी, सिंह, थापा, लामा र लोहनी, कार्यसम्पादनका आधारमा बढुवा हुनुपर्ने अडानमा छन् ।

यस्तै सुशील कुमार यादव, अरुण विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी र पुजा सिंह पनि डीआईजीको लागि दौडधुपमा रहेका छन् ।

यता, २ वर्षपछि बढुवा भएका एसपी र डीएसपीहरू प्रधानमन्त्री ओलीदेखि नेकपा अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापादेखि अन्य शीर्ष नेताहरूकहाँ धाउने र दबाब दिइरहेका छन् ।

बिहीबार गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक (डीआइजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरेको छ ।

गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिको बैठकले उनीहरुलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भएका लम्सालले ६८ दशमलव ६६ प्रतिशत अङ्क प्राप्त गरेका छन् । हाल नेपाल प्रहरीका प्रवक्ता रहेका थापाले ६८ दशमलव ५५ र प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा दरबन्दी पालले ६७ दशमलव ५५ अङ्क प्राप्त गरेका छन् ।

लम्साल भने हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसँगै अवकास पाउने भएकाले अबको प्रहरी महानिरीक्षक (आईजीमा) थापा र पालमध्य एक जना हुनेछन् । उनीहरु २०४९ सालको एउटै ब्याची हुन् ।

अङ्कका आधारमा थापा एक तहमाथि रहेकाले उनका लागि बाटो खुला भएको छ । एआईजीको लाइनमा डीआइजीहरु नीरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल पनि थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप