शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुखानी शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा हुँदै, ओली र प्रचण्डले सम्बोधन गर्ने

बिहीबार, १५ फागुन २०७६, २२ : ०५
बिहीबार, १५ फागुन २०७६

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७औँ स्मृति तथा श्रद्धाञ्जलिसभाको आयोजना गरेको छ । भद्रपुरबाट कारागार सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जङ्गलमा विसं २०२९ साल फागुन २१ गते तत्कालीन राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र विरेन राजवंशीको हत्या गरिएको थियो । 

सो दिनको स्मरणमा हरेक वर्ष स्मृति दिवस मनाउने गरिएको छ । नेकपा झापाले आयोजना गरेको उक्त स्मृतिसभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

उनका अनुसार प्रम ओली, अध्यक्ष दाहाल, पार्टी महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताहरुले सुखानी शहीद स्मृति पार्क सालबारीमा शहीदको शालिकमा माल्र्यापण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, नेकपा १ नम्बर प्रदेश कमिटीको बैठक फागुन १९ गते बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम २० गते बिर्तामोडको सिटी सेन्टरमा आयोजना गरिएको नेकपा झापाका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख मणिकुमार साम्पाङले बताए ।
साम्पाङका अनुसार प्रदेश कमिटीको बैठकमा १ नम्बर प्रदेश अन्तर्गतका नेकपा केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहनेछ । यस्तै २० गतेको प्रशिक्षणमा १४ वटा जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका सचिवालय सदस्यहरु सहभागी हुने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

अग्रज चार  पत्रकार पुरस्कृत हुँदै

चार अग्रज पत्रकार एकैपटक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । पूर्वाञ्चल दैनिकले तत्कालीन प्रधान सम्पादक मदन ढकालको २०७३ मङ्सिर २३ गते निधन भएपछि पत्रकारितामा उनको योगदानको कदर र सम्झनाका लागि २०७४ सालमा ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको थियो ।

सम्पादक ढकालको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट अग्रज पत्रकार नकुल काजी, चन्द्र भण्डारी, चिन्तामणि दाहाल र लीला बराललाई सम्मान गरिने आज बिहान पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।  

उनीहरु सबैलाई दैनिकको रजत महोत्सवको अवसरमा यही फागुन १८ गते नगद रु १५ हजारका दरले सम्मान गरिने दैनिकका सम्पादक एकराज गिरीले बताए । हरेक वर्ष वार्षिकोत्सवमा वितरण गर्न शुरु गरिएको पुरस्कार पहिलोपटक पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादक, अग्रज पत्रकार गोविन्द क्षेत्रीलाई प्रदान गरिएको थियो । सम्पादक गिरीले पत्रिकाको रजत महोत्सवको अवसरमा यस वर्षको पुरस्कार पत्रकार दाहाल र बराललाई र अघिल्लो वर्षकोे पुरस्कार काजी र भण्डारीलाई प्रदान गरिने घोषणा गरेका थिए ।
पुरस्कार प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले वितरण गर्ने कार्यक्रम रहेको उनले बताए । सो अवसरमा स्थापनाकालदेखि अनवरत सेवारत् अग्रज पत्रकार पत्रिकाका डेस्क सम्पादक लक्ष्मण ढकाललाई ‘उत्कृष्ट पत्रकार’ सम्मान र व्यवस्थापक चन्द्रकान्त ढकाललाई ‘उत्कृष्ट व्यवस्थापक’ सम्मान प्रदान गरिने भएको छ । 

कार्यक्रममा पत्रिकाले प्रकाशनको २४ वर्ष पूरा गरी २५ वर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाले ‘पूर्वाञ्चल’ विशेषाङ्कको लोकार्पणसमेत गर्ने कार्यक्रम रहेको छ । पुस्तकमा विभिन्न खण्डमार्फत विषयवस्तु समेटिएको छ । झापाको मात्र नभएर मेची अञ्चल र मुलुककै पत्रकारिताको पृष्ठभूमि, अवस्था तथा पत्रकारिता विषयका विविध पक्ष समेटिएको हुनाले पत्रकारिता विषयमा खोज अध्ययन गर्न चाहनेहरुका लागि उक्त विशेषाङ्क स्रोत पुस्तक बन्नसक्ने विश्वास गरिएको सम्पादक गिरीको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप