शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर बढे पनि पेट्रोल र डिजेलको मूल्य नबढ्ने

आयल निगमको नाफा शून्य !
बिहीबार, १५ फागुन २०७६, १९ : ०४
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा थप ५ रुपैंया पूर्वाधार कर लगाइए पनि मूल्य भने नबढ्ने भएको छ । नेपाल आयल निगमले पूर्वाधार करमा थपिएको कर निगमले लिँदै आएको नाफाबाट समायोजन गर्ने तयारी गरेको हो । कर बढेकै कारण उपभोक्ताले थप मूल्य व्यहोर्नु नपर्ने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । 

‘हामी अहिले स्वचालित मूल्य प्रणालीमा छौं, त्यसैले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएसँगै हाम्रोमा पनि मूल्य घटबढ हुन्छ । तर सरकारले बढाएको करकै लागि हामी मूल्य बढाउँदैनौं, निगमसँग अहिले रहेको नाफाबाटै त्यो घट्ने हो’ नायव कार्यकारी निर्देशक भट्टराईले भने । 

निगमको नाफा शून्यतिर
भएभरको नाफा पूर्वाधार करको नाममा सरकारले तानिदिएपछि निगम अब नाफा नै नलिई काम गर्नुपर्ने अवस्थामा पुग्ने भएको छ । राम्रो नाफा हुँदै आएका पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैंया कर लगाएपछि त्यस्तो नाफा शुन्य नजिक पुग्ने भएको हो । 

अहिले काठमाडौंमा पेट्रोलको मूल्य १०८ रुपैंया, डिजेल र मट्टितेलको ९७ रुपैंया प्रतिलिटर मूल्य निर्धारण गरिएको छ । यो मूल्य अनुसार निगमले प्रतिलिटर ५ रुपैंया २४ पैसा, डिजेलमा ६ रुपैंया ६६ पैसा र मट्टितेलमा २५ रुपैंया ७४ पैसा, हवाई इन्धनमा १० रुपैंया ३ पैसा नाफा हुँदै आएको थियो । यो नाफाबाट अब प्रतिलिटर ५ रुपैंया नाफा निगमको घट्नेृछ । यसले गर्दा पेट्रोलको नाफा ५ रुपैंयामा सीमित हुनेछ भने २४ पैसामा सीमित हुनेछ भने डिजेलको नाफा ६६ पैसामा झर्नेछ । मट्टितेल र हवाई इन्धनमा नाफा राम्रै भए पनि त्यसको खपत कममात्रै हुन्छ । 

नायव कार्यकारी निर्देशक भट्टराईले कर वृद्धिपछि निगम ब्रेक इभन (नाफा वा घाटा केही नहुने अवस्था)मा आइपुग्ने बताए । ‘अब हामीसँग एकदमै कम नाफा हुन्छ । हामी लगभग ब्रेक इभेनमा हुन्छौं’ उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप