शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन विकासका लागि लुम्बिनीलाई मिनी ठमेल बनाउनु पर्छ : मुख्यमन्त्री पोखरेल

बिहीबार, १५ फागुन २०७६, १७ : १८
बिहीबार, १५ फागुन २०७६

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पर्यटन विकासका लागि लुम्बिनीलाई काठमाडौंको ठमेल र पोखराको लेकसाइड जस्तो बनाउनु पर्ने धारणा राखेका छन् ।

 बिहीवार बुटवलमा सिद्धार्थ पब्लिकेशनद्धारा प्रकाशित दैनिक लुम्विनी पत्रिकाको ३२ औं बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो धारणा राखेका हुन् ।

 ‘ठूला होटेल खोल्दैमा पर्यटक आउने होइनन् । होटेल व्यवसायीले ठमेल र लेकसाईडबाट सिक्न जरुरी छ,’ उनले भने,‘लुम्बिनीमा मायादेवी घुम्ने पर्यटक धेरै हुँदैमा आर्थिक विकास हुन सक्दैन । अव लुम्बिनीलाई पनि मिनी ठमेलका रुपमा विकास गर्नु पर्छ ।’

उनले ठमेलमा जस्तै पर्यटकले पाउने सुविधा लुम्बिनीमा हुन सक्यो भने आर्थिक गतिविधि बढ्ने बताए । ‘पर्यटक बढ्ने तर अर्थतन्त्र सुक्ने हुनु हुँदैन,’ उनले भने  । 
 मुख्यमन्त्री पोखरेलले सञ्चारकर्मीले सूचना सम्प्रेषणको नाममा व्यक्तिगत दृष्टिकोण सम्प्रेषण गर्न नुहेनमा समेत जोड दिए । 

 मुख्यमन्त्री पोखरेलले सञ्चारकर्मीको जिम्मेवारी नागरिकलाई आफ्नो दृष्टिकोण बनाउन सहयोग गर्नुमात्रै भएको बताए । ‘सञ्चारकर्मीले निष्कर्ष निकाल्न हतार गर्छ । निष्कर्ष निकाल्ने काम जनताको हो । दृिष्टकोण बनाउन नागरिकलाई सहयोग गर्ने हो ।’

मुख्यमन्त्री पोखरेलले आम सञ्चार माध्ययममा यस्तोखालको मान्यता स्थापित गर्न समेत आग्रह गरे । मुख्यमन्त्री पोखरेलले राज्यप्रतिको विद्रोही चेतले सूचना सम्प्रेषण भएको बताउँदैं त्यस्तो चेतले पत्रकारिता गरेर बलियो राज्य निर्माण नहुने बताए । 

  मुख्यमन्त्री पोखरेलले लुम्बिनीसहितका क्षेत्रको अध्ययन अनुसन्धानका लागि प्रदेश सरकारले अनुसन्धानवृत्ति उपलब्ध गराएपनि अनुसन्धानकर्ता आउन नसकेकोप्रति निराशा व्यक्त गरे । यस क्षेत्रको पर्यटन विकासका लागि अनुसन्धान पहिलो शर्त भएको उनले बताए ।

  साथै मुख्यमन्त्री पोखरेलले थोरै लगानीमा सञ्चालन गरिएको भएपनि दाङमा सञ्चालन गरिएको प्रदेश एक्पो सफल भएको समेत दावी गरे । उनले प्रदेशमा लगानी भित्र्याउनका लागि बैशाखमा लगानी सम्मेलन गर्न लागिएको समेत जानकारी दिए । 
सिद्धार्थ पब्लिकेशनका अध्यक्ष मोहन चापागाईले मुलुकको समृद्धि  र जनताका ेअधिकारका लागि लुम्बिनीले निरन्तर कलम चलाउने प्रतिवद्धता जनाए । 

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराई, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरी,  साइन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, पूर्वसम्पादक डि.आर घिमिरे, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली लगायतले मन्तब्य राखेका थिए ।

पत्रिकाका सम्पादक यानेन्द्र जिसीको संचालनमा भएको कार्यक्रममा पूर्वसम्पादकहरु कर्णबहादुर कार्की, डिआर घिमिरे, विनोद पहाडी, चतुर्भूज आत्रेय, गिरी श्रीष, दिपक ज्ञवाली, सुरेश गुरागाईलाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप