शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हुलाकी सडक निर्माणका लागि दवाव, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बिहीबार, १५ फागुन २०७६, १७ : ०८
बिहीबार, १५ फागुन २०७६

काठमाडौं –हुलाकी सडक निर्माणका लागि सर्लाही जिल्ला समन्वय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । 

जिल्ला प्रशासन कार्यालयमार्फत बुझाएको ज्ञापनपत्र अनुसार समयमा हुलाकी सडक निर्माण नभए चरणवद्ध आन्दोलनको घोषणा गरिने उल्लेख छ । हुलाकी सडक संघर्ष समितिले बुधवार सो ज्ञापनपत्र बुझाएको हो । 
हुलाकी सरकारको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा पर्नुका साथै राष्ट्रिय गौरबको आयोजना पनि समेटिएको छ । तर हालसम्म सडक निर्माण भने भएको छैन । 

सर्लाही जिल्लाको पूर्व शीतलपुरदेखि पश्चिम बलरा नगरपालिकाको छतौनासम्म सरकारबाट ठेक्क प्रक्रियामा सम्झौता भएपनि सो आयोजना प्रदेश सरकारको मातहतमा राखी रकम विनियोजन नगरेको गुनासो गर्दै समितिले हुलाकी सडक निर्माण आयोजनालाई संघीय सरकारमा राखी चालु आर्थिक वर्षदेखि नै काम सञ्चालन गर्न आग्रह गरेको छ । 

सडक निर्माणका लागि ट्रयाक खोलेको कारण त्यहाँबाट उड्ने धुलोले जनस्वास्थ्यमा पनि असर गरेको बताउँदै समितिले जनतालाई धुलोबाट बचाउनका लागि भएपनि चाँडै भन्दा चाँडै सडक निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । 

सो माग फागुनमसान्त भित्र पुरा नभएमा चरणवद्ध आन्दोलनमा जाने समितिले जनाएको छ । चैत १ देखि १० गतेसम्म हुलाकी सडकमा जागरमा अभियान, चैत ११ देखि १५ सम्म नेपाल भारत सिमाना क्षेत्रमा बसोबास गर्ने नागरिकहरु बीच हुलाकी सडक सम्बन्धी नागरिक संवाद आयोजना गर्ने, चैत १६ देखि २१ गतेसम्म सदरमुकाम मलगंवामा रिले अनसन, चैत २२ गते मानव साङ्गलो बनाएर विरोध गर्ने, चैत २३ गते मसाल जुलुस र चैत २४ गते जिल्ला बन्द गर्नेसम्मको कार्यक्रमको घोषणा गरिएको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले जानकारी दिए ।

उनले यो मागलाई सरकारले तत्काल सुनुवाई नगरे यसैको नाममा सशक्त आन्दोलन हुन सक्ने अवस्था पनि आउन सक्ने चेतावनी समेत दिए । संयोजक रायले सर्लाहीबाट प्रतिनिधिसभा चुनाव जितेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप