बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘आमा’ हेरेर रोए रवि लामिछाने

बिहीबार, १५ फागुन २०७६, १६ : २७
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । बरिष्ठ कलाकार नीर शाहले फिल्म ‘आमा’ उत्कृष्ट भएको बताएका छन् । बुधबार आयोजित ‘आमा’को विशेष शोमा  फिल्म हेरेपछि शाहले उक्त प्रतिक्रिया दिएका हुन् । ‘जुन कथामा निर्देशक अगाडि बढ्नुभयो त्यस्तै बनेको छ र त्यही देखाइएको छ फिल्ममा पनि’ शाहले भने ‘जीवन आमा होइन भन्नेका लागि आमा बेग्लै संसार होला । तर, जीवन आमा पनि हो भन्नेहरुका लागि यो क्लासिक फिल्म हो ।’ शाहले ‘आमा’ सबैले हेर्नुपर्ने फिल्म बनेको प्रतिक्रिया समेत दिएका थिए ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले छोरी पनि छोरा बनेर देखाउन सक्छ भन्ने कुरा फिल्म उत्कृष्ट तरिकाले देखाएको बताए । ‘पशुपति प्रसाद’ भन्दा पनि ‘आमा’ उत्कृष्ट लागेको अधिकारीको भनाई रहेको थियो ।

त्यस्तै चर्चित सञ्चारकर्मी रवि लामिछानेले ‘आमा’ हेरेर आफु रोएको बताए । ‘फिल्म हेरिरहँदा ५ र १० पटक दिवंगत आमालाई सम्झिए’ रविले भने ‘मेरो जीवनमा पनि फिल्मले उठाएको जस्तै घटना घटेको थियो । म अमेरिकामा हुँदा आमा वित्नुभयो । कागजी झमेलाले म पनि आउन पाइन ।’ रविले आफुलाई विश्वास गर्नेलाई आमा हेर्न समेत सुझाए ।

अभिनेत्री ऋचा शर्माले पनि फिल्मले आफुलाई रुहाएको बताउँदा चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेलले पनि फिल्म बुलन्द रहेको बताइन् । दीपेन्द्र के.खनालको निर्देशन रहेको फिल्म ‘आमा’ले अहिले दर्शक रुवाइरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मलाई  समिक्षकले राम्रो भनेपछि दर्शक बढेका हुन् । फिल्मका लागि मल्टिप्लेक्सले पछिल्लो समय शोहरु बढाएका छन् । माउथ पब्लिसिटी उच्च रहेको कारण पनि फिल्ममा दर्शक दिन प्रतिदिन बढ्दै गएको निर्देशक दीपेन्द्र के खनालले बताए ।

तीन आमाको माध्यमबाट आम मानिसको कथा बाचन गरेको फिल्म ‘आमा’ मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी लगायतको अभिनय देख्न सकिन्छ । फिल्म शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप