मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

थाम्नै नसकिने गरी बढ्यो शेयरबजार

बिहीबार, १५ फागुन २०७६, १६ : २२
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा उतार चढावबीच नेप्से परिसूचक बढेर बन्द भएको छ । खरिदकर्ता र बिक्रीकर्ताको चाप परिवर्तन भइरहदा बजार खुलेको केहीसमयसम्म तीब्र उतारचढाव देखिएको थियो । तर पछि खरिदकर्ता हावी भएपछि नेप्से बढेर बन्द भएको छ । 
शेयर बजारमा परिसूचक नेप्से बिहीबार पनि बढेको छ । कारोबार रकमले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूक ३६ दशमलव शुन्य ५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ अंकमा बन्द भएको छ । 
सेन्सेटिभ परिसूचक पनि ११ दशमलव ६३ अंकले बढेर ३ सय ४७ दशमलव ६८ अंकमा बन्द भएको छ । बिहीबार कारोबार रकम ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २ सय ५१ रुपैयाँ पुगेको छ । जुन अहिले सम्मकै उच्च कारोबार हो । त्यस्तै १ सय ८० कम्पनीको १ करोड ८ लाख ५९ हजार ६ सय ५६ कित्ता शेयर खरिद विक्री भएको छ ।

पछिल्लो एक महिनामा नेप्से परिसूचक ३ सय २६ दशमलव २९ अंकले बढेको छ । गत माघ १५ गते नेप्से परिसूचक १ हजार ३ सय ५ दशमलव ८८ अंकमा बन्द भएको थियो । बजारमा उच्च कारोबार हुनु र शेयरको माग बढ्नुको मूख्य कारण चीनमा देखिएको नोेवल कोरोना भाइरस रहेको केही लगानीकर्ताहरुको भनाई छ ।
 लगानीकर्ता हरिश दाहालले चीनमा कारोना भाइरस देखिएपछि चीनसँग हुने व्यापारिक कारोबार ठप्प भएको र उक्त पैसा शेयर बजारमा आएकाले कारोबार रकम उच्च भएको बताए । उनले दैनिक २ अर्ब भन्दा बढी रकमको आयात चीनबाट हुने गरेकोमा अहिले व्यापार रोकिदा व्यवसायीहरुले शेयर बजारमा लगानी गरेको तर्क गरे । 
 चीनसँगको व्यापार सहज भएपछि शेयर विक्री गरी व्यापार गर्न सजिलो हुने भएकाले पनि त्यस्ता व्यवसायीहरुले आफ्नो पूँजीलाई शेयर बजारमा लगाइरहेका छन् । जसका कारण कारोबाररम दिन दिनै बढेको छ ।  

बजारका विश्लेषकहरु भने अर्थतन्त्रका अधिकांश सूचकहरु सकरात्मक हुनु, बैंकहरुले शेयरमा लगानी बढाउनु र कम्पनीहरुको वित्तीय प्रगति राम्रो देखिनु नै बजार बढ्नुको मूख्य कारण भएको बताउँछन् । शेयर विश्लेषक रुक्मागत काफ्लेले अर्थतन्त्र सकारात्मक भएको अवस्थामा ठूला लगानीकर्ताले शेयर खरिद बढाउँदा बजार सकारात्मक भएको बताए । उनले कुनैपनि बेला ठूला लगानीकर्ताले विक्री बढाउन सक्ने भएकाले लगानी गर्दा ध्यान दिनुपर्ने समय आएको समेत बताए । 
बजारमा ठूला लगानीकर्ता र म्युचुअल फण्ड कम्पनीहरुले शेयर खरिद बढाएकोले लगातार कारोबार रकमसँगै नेप्से बढेको छ । विश्लेषक काफ्लेले कुनैपनि बेला ठूला लगानीकर्ता र स्पेकुलेसन गर्ने लगानीकर्ताले विक्रीचाप बढाएमा बजार फेरि  तल आउन सक्ने र त्यो अवस्थामा नयाँ र साना लगानीकर्तालाई समस्या हुन सक्ने सम्भावना फेरिपनि दोहोरीन सक्ने देखिएको बताए । 

बिहीबार नेप्से परिसूचक बढेपनि अधिकांश समूहका सूचकहरु भने घटेका छन् । बैंकिङ, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहका सूचक मात्र बढेका छन् । बैंकिङ समूह ६ दशमलव १४ प्रतिशतले, विकास बैंक समूह १ दशमलव ९१ प्रतिशतले र उत्पादन तथा प्रशोधन समूह शुन्य दशमलव ५१ प्रतिशतले बढेको छ । त्यसबाहेक ९ वटा समूहका सूचकहरु घटेका छन् ।

बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार २८ करोड ९२ लाख ३७ हजार २ सय ८३ रुपैयाँ, एनआइसी एसियाको शेयर २० करोड ५९ लाख ४६ हजार ५ सय ५ रुपैयाँको खरिद विक्री भएको छ । सबैभन्दा बढी एभरेष्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । त्यस्तै नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नबिल बैंक, वोमि माइक्रोफाइनान्सका शेयरधनीले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् । तर ङादि ग्रुप पावरका शेयरधनी, सिनर्जी पावर र समृद्धि फाइनान्सका शेयरधनीले ६ प्रतिशत भन्दा बढीले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप