शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदमा जनार्दनको गर्जन: सरकारमाथि विश्वासको संकट पैदा भयो (भिडियो सहित)

जनता र मतदातालाई ढाँट्ने सरकारले कहिल्यै पनि काम गर्न सक्दैन
बिहीबार, १५ फागुन २०७६, १४ : ५८
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले सरकारप्रति विश्वासको संकट पैदा भएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।  बिहीबार प्रतिनिधिसभा संसदको विशेष समयमा बोल्दै पूर्वमन्त्री शर्माले सरकारले ढाँटिरहेको भन्दै सरकारप्रति विश्वास गर्न सकिने अवस्था नरहेको बताएका हुन् ।

नेपाल ट्रष्टको नाममा रहेका जग्गाहरु विभिन्न समूहलाई भाडामा दिने सम्बन्धमा आफ्नो संलग्नता रहेको भन्दै सरकारले श्वेतपत्र नै जारी गरेकोप्रति शर्माको आपत्ति थियो ।  उनले भने, ‘सरकारले २ दिनअघि श्वेतपत्र जारी गर्यो । श्वेतपत्र भनेको के हो मलाई थाहा छैन । सायद कुनै विषयमा जस्ताको तस्तै कुरा जनताको सामु ल्याउने कुरालाई स्वेतपत्र भन्छ जस्तो मलाई लाग्छ । मैले मिडियाबाट थाहा पाएँ कि फलाना–फलानाहरु पनि जग्गा बेच्न लागे, लिजमा दिन लागे भनेर लेखियो । पढिसकेपछि तथ्य के होला भनेर खोज्नका लागि म नेपाल ट्रष्टको कार्यालयमा गएँ । ट्रष्टको कार्यालयमा माइन्युटमा के लेखिएको छ भनेर मैले हेर्न मागे । तर मलाई माइन्युट हेर्न दिइएन । निवेदन दिएर हेर्न पाउँ भन्दा पनि ताल्चा लगाइएको छ भन्दै मलाई हेर्न दिइएन । मैले त्यहाँका कर्मचारी साथीहरुसँग सोधेँ । मेरो नाम पनि आयो । म ट्रष्टको कार्यालयमा गृहमन्त्री हुँदा कहिले पनि पसेको थिइन । आज त आएँ । तर कसरी आयो मेरो नाम भनेर सोधें ।’

उनले अगाडि भने, ‘कर्मचारीले त हामीले त उहाँको नाम छैन । उहाँले मिटिङ गर्नुभएको छैन भनेर भनेका थियौँ । उहाँको पालममा कुनै निर्णय भएको छैन भनेर भनेका थियौं भनेर भने । मैले यो कुरा मुख्य सचिवलाई पनि सोधेँ । मुख्य सचिवज्यू यो नाम कसरी लेखियो त । मैले त त्यस्तो कुनै निर्णयमा हस्ताक्षर गरेको जस्तो पनि लाग्दैन, त्यतिबेला गृह मन्त्रालयको सचिव त तपाईँ नै हुनुहुन्थ्यो । कतै झुक्किएर हस्ताक्षर पो गरिएछ कि भनेर सोधें । उहाँले यो सबै झूटा हो, हजुरको पालामा पनि भएन र अन्य माननीयको पालामा नि भएन भनेर उहाँले भन्नुभयो । अनि म आश्चर्यमा परें कि यो श्वेतपत्र हो कि अश्येत पत्र हो ?’

नेता शर्माले सरकारले ल्याएको श्वेतपत्र श्वेत नभएर अश्वेतपत्र भएको पनि टिप्पणी गरे । उनले भने ‘श्वेतपत्र हो भने जस्ताको तस्तै आउनुपर्यो, अश्वेत पत्र हो भने यसलाई मान्ने कुरा भयो । यहाँ के भनिएको छ भने २०७४ कात्तिक १३ गते निर्णय भएको भनेर मेरो नाम समेत त्यहाँ जोडिएको छ । त्यहाँ लेखिएको छ, ‘२०७४–७–१३ गते थामसेर्कु प्रालिको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन नेपाल ट्रष्टको संरक्षक सम्माननीय शेरबहादुर देउवा र गृहमन्त्री माननीय जनार्दन शर्मा भनिएको छ । यसैलाई आधार मानेर पत्रिकाहरुले, अनलाइनहरुले फलाना फलाना पनि सहभागी भएको भन्दै समाचार लेखे ।’

उनको आक्रोश अझ बढी चुलियो । उनले अगाडि थपे, ‘यो कुरा मैले अन्त पनि हेरें ।अस्तिभर्खर भएको निर्णयमा पनि हेरें । त्यहाँ पनि यसरी नाम र मिति लेखिएको छ कि भनेर हेरें । नयाँ निर्णयमा नाम लेखिएको छैन तर यति यति मितिमा फलानो रिसोर्ट लगायतको विषयमा निर्णय भएको मात्रै लेखिएको छ । त्यहाँ नाम छैन ।’

त्यतिबेला म गृहमन्त्री नै थिइन, नियतवश मेरो नाम लेखियो
नेता शर्माले उक्त निर्णइ भएको भन्दै नियतवश मेरो नाम लेखिएको आरोप लगाए । उनले भन, ‘नाम कहीँ लेख्नु नपर्ने र कहीँ लेख्नुपर्ने किन ? लेख्नुपर्दा पनि किन यसरी लेखिन्छ ?म कात्तिक १३ गते होइन, असोज ३० गतेबाट गृहमान्त्रीको जिम्मेवारीबाट हटेको छु । असोज ३० गते नै मैले पत्रकार सम्मेलन पनि गरेँ र मलाई बिना विभागीय मन्त्री बनाइयो । त्यसपछि म गृहमन्त्री हुने कुरै भएन । तर जब कर्मचारीले उहाँ होइन हजुर भन्दाभन्दै पनि मेरा नाम किन लेखियो र लेख्नुपर्ने मान्छेका नाम किन लेखिएन ? त्यसकारण यो श्वेतपत्र नभएर अश्वेतपत्र हो भन्ने मलाई लागेको छ ।’

मैले भ्रष्टाचार र अनियमितताको बिरुद्ध बोल्दा यस्तो लेखियो

नेता शर्माले आफू भ्रष्टाचार र अनियमितताको बिरुद्ध बोल्ने गरिएकाले नियतवश यस्तो लेखिएको टिप्पणीसमेत गरे । उनले भने, ‘यो अश्वेतपत्र किन लेखियो होला भनेर यसो विचार गर्दा म राज्यव्यवस्था समितिमा पनि छु सभामुख महोदय । म राज्य व्यवस्था समितिमा हुँदा कतिपय ऐनहरु यस्ता पनि आउँछन्, जो संविधानको मर्मभन्दा बाहिरका हुन्छन् ।

संविधानभन्दा बाहिर गएका ऐनहरुलाई संशोधनको माध्यमबाट मिलाउनुपर्छ भनेर अन्य माननीय सदस्यहरुसँगै म पनि बोल्ने गर्छु र त्यसलाई परिमार्जन गर्न म पनि लाग्ने गरेको छु । र, कतिपय ऐनहरु हामीले सच्याएर पनि पठाएका छौँ र यो सदनले पारित पनि गरेको छ ।

दोस्रो कुरा, मैले उठाउँदै आएको कुरा यो देश विकासको लागि भ्रष्टाचारको अन्त्य हुनुपर्छ, सरकार दलालहरुको घेराबाट बच्नुपर्छ भनेर सरकारलाई सहयोग गर्नका लागि मैले आग्रह र अनुरोध गर्ने गरेको छु । जनताको विकास निर्माणको अपेक्षा तीब्र छ यतिबेला । त्यो तीब्र विकासको अपेक्षा पूरा गर्न कामचलाउ तरिकाले हुँदैन र तीब्र रुपमा अगाडि बढाउ भनेर मैले सरकारलाई भनिरहेको छु ।’

उनले अगाडि थपे, ‘मौलिक अधिकारका रुपमा शिक्षा स्वास्थ्य रोजगार भनिएको छ । र, त्यतातिर बढ्नका लागि, रोगीले सम्पूर्ण उपचार प्राप्त गर्ने अवस्था सिर्जना गर्नतिर अग्रसर हुनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ, कृषिलाई आधुनिकीकरण र औधोगिकीकरण गर्नुपर्छ भनेर मैले बारम्बार सुझाव राख्ने गरेको छु ।’

असत्यको अगाडि आत्मसमर्पण गर्दिन

नेता शर्माले आफूलाई नियतवश विवादमा ल्याउन लागिएको भन्दै त्यो आफूलाई तर्साउन खोजिएको टिप्पणीसमेत गरे । उनले भने, ‘के मलाई यहाँ यसरी नै तर्साउन खोजिएको हो ? के मलाई आत्मसमर्पण गराउन खोजिएको हो ? म असत्यको अगाडि कहिल्यै आत्मसमर्पण गर्दिन र म तर्सिन पनि तर्सिन्न् । जसरी यो कुरा लेखियो, सरकारले मलाई त ढाँट्न सक्ला, ठग्न सक्ला, तर के जनतालाई ढाँट्न सक्छ ? मतदातालाई ढाँट्न सक्छ ? किमार्थ स्क्दैन । जनता र मतदातालाई ढाँट्ने सरकारले कहिल्यै पनि काम गर्न सक्दैन ।

त्यसकारण सरकारलाई कसरी विश्वास गर्ने सभामुख महोदय, विश्वासको संकट पर्यो यहाँ । विश्वासको संकट हुने गरी यहाँ विषयहरु किन राखियो, किन लेखियो ? लेख्ने ठाउँमा नाम नलेख्ने र नलेख्ने ठाउँमा नाम लेख्ने ? त्यतिबेला म गृहमन्त्री नै छैन । अनि नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गर्ने र गराउने कुराहरु किन गरियो ? कर्मचारी तथा मुख्य सचिवले गलत छ भन्दाभन्दै नामहरु किन लेखियो ? त्यसकारण मलाई शंका उत्पन्न भयो सभामुख महोदय, यसको मलाई जवाफ चाहिन्छ । विश्वासको संकट पर्यो ।’

आफूले सरकारलाई साथ र सहयोग गर्दा गर्दै पनि सरकारले नियतवश आफूलाई विवादमा ल्याएको टिप्पणीसमेत उनले गरे । भने, ‘सकारात्मक रुपले सहयोग र समर्थन गरिरहेको आफ्नै पार्टीको सरकारलाई मद्दत गर्दागर्दै यी विषयहरु लेख्नुको तात्पर्य के ? भ्रष्टाचारको अन्त्य हुनैपर्छ । ट्रष्टबाट बाँडिएका सबै कुराहरु फिर्ता ल्याउनुपर्छ र नयाँ ढङ्गले अगाड बढ्नुपर्छ । ऐन कानूनको दुरुपयोग भएको छ, त्यसलाई सच्याउनुपर्छ । मेरो माग छ र म जवाफ चाहन्छु, रक्षा मन्त्री र प्रधानमन्त्री ज्यूबाट। सरकारबाट म यसको जवाफ चाहन्छु ।’

करिब ८ मिनेट सम्बोधन गरेका शर्माले सरकारमाथि जनताको मात्रै नभएर संसदकै विश्वास संकट भएको भन्दै जनता र मतदातालाई ढाँट्ने सरकारले राम्रोसँग काम गर्न सक्दैन भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप