बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पुस्तकमा कर ज्ञानको, मानवीय सम्मानको र पुर्खाहरुको कमाइमा हाम्रो अधिकारमाथिको हमला

भन्सारको सुब्बा वा खरदारलाई जिन्दगीमा देख्दै नदेखेको पुस्तकमा कर लगाउने जिम्मा दिँदाखेरि के हुन्छ ? : विश्लेषक सिकेलाल
बिहीबार, १५ फागुन २०७६, १४ : ०२
बिहीबार, १५ फागुन २०७६

किताबले ज्ञानको बाटोमा डोर्‍याउन हात दिन्छ । शारीरिक होइन, मानसिक हात दिन्छ । डाक्टर बाबुराम भट्टराईले तपाईहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँछु भन्नुभयो । समस्या यहाँनिर छ । उहाँले ‘यो आन्दोलन हाम्रो आन्दोलन हो, यसमा सहभागी छु’ भन्ने आँट जुटाउन सक्नुु भएन ।

यद्यपि उहाँ आज जे हुनुहुन्छ, यही पुस्तकले गर्दा यही किताबले गर्दा हुनुहुन्छ । यो सबैको आन्दोलन हो । आन्दोलन गर्नुपर्ने कुरा होइन । अघि एकजना युवा साथीले भन्नुभए जस्तो आन्दोलन गर्नु त यो देशमा धेरै कुरा छ : बाटो खराब छ,  मेलम्ची आइपुगेन, स्वास्थ्य सेवा चौपट छ, शिक्षाको, स्वास्थ्यको व्यापारीकरण भयो । आन्दोलन गर्ने धेरै कुरा छन् मानव जीवनसँग सम्बन्धित । तर   किताबमा कर नलगाउ भनेर आन्दोलन गर्नुपरेको छ । 

फेसबुकशालामा पनि पढ्नुहुन्छ । त्यहाँ पाइने सबै कुरा बेकार होइन ।‘गुगल बज्यै’लाई त झन सबै कुरा थाहा छ । उहाँलाई सोध्नुभयो भने थाहा नभएको कुरा केही पनि छैन् ।   त्यो हुँदाहुँदै पनि पुस्तकको महत्व यथावत महत्व किन रहन्छ भने अरु माध्यमले तपाईले सोधेको कुरा बताउछ, पुस्तकमात्रै एउटा माध्यम हो, जसले तपाईंले सोचेको कुरातिर डोर्‍याउछ ।

अग्रेजीमा रिफ्लेक्सन भन्छ । तपाई सेलफोनमा पुस्तक पढ्न सक्नुहुन्छ । किन्डेलमा पुस्तक पढ्न सक्नु हुन्छ । त्यो भनेको एकोहोरो हो । आफ्नो चिन्तनलाई त्यसले सघाउँदैन । चिन्तनलाई संघाउने अहिले पनि पुस्तक नै हो ।  पुस्तकको विकासमा त लामो समय लागेको हो नि ।


पहिला पहिला हाम्रो पुर्खा जब शिकार खेल्न जान्थे  । जब एउटालाई चाहिँ बाघले खायो अनि तिनले  आफ्ना सन्तानलाई के भने भने बाघ देखेपछि  रुख चढ्नु । बाघ रुख चढिहाल्दैन, अनि जोगिन्छ । त्यसपछि त्यो कुरा भित्तामा कोरियो होला । भित्तामा कोरिएकोबाट अक्षरको विकास भयो । ढुङ्गा, ताम्रपत्र, ताडपत्रहरुमा  लेखियो । कागजको विकास भयो, मसीको विकास भयो र पुस्तौंदेखिको ज्ञान हस्तान्तरण हँुदै आयो । यो भनेको मानवजातिको सम्पत्ति हो ।

यही कुरासोमालियामा विकसित भएको छ भने अमेरिकाको पनि अधिकार लाग्छ ।अमेरिकामा विकसित भएको छ भने नेपालको पनि अधिकार लाग्छ ।  नेपालमा विकसित भएको छ भने जसको पनि अधिकार लाग्छ । त्यसैले पुस्तकलाई अनुदान दिएर सघाउन नसकेपनि कमसेकम गर्न सकिने के हो भने त्यसै पनि पठन संस्कृति कम भइरहेको समयमा यसमा कर लगाउने !

यो यति उति प्रतिशतको मुद्दा नै होइन । त्यो त व्यापारको कुरा भयो । एक प्रतिशत लगाउन मिल्छ भने ५ प्रतिशत मिल्छ । १५ प्रतिशत मिल्छ, ५० प्रतिशत मिल्छ । धनीले पढ्छन् । गरिवले पढ्दैनन् ।  एकै प्रतिशत लगाए पनि पुस्तक किन्न नसक्नेले त पढ्न सक्दैनन् । त्यो बहसको मुद्दा बेग्लै हो ।

बहसको मुख्य मुद्दा भनेको के हो भने ज्ञानमा सबैको अधिकार राजनीतिक नियन्त्रणबाट मुक्त रुपमा हुन दिने कि नदिने भन्ने हो । यो चाहिँ पछाडिको ढोकाबाट नियन्त्रण गर्न खोजिएको हो नि त !

अब १० पाउण्डको किताब होला ।  केही समयपछि नयाँ सस्करण आउँछ । तौलमा बेचिन्छ । दिल्लीको जनपथमा ५० रुपैयाँ भारुमा किन्न पाउँछ, ८० रुपैयाँ भयो । रक्सौलको सिमानामा आएपछि ८० रुपैयाँको १५ प्रतिशत हो कि १० पाउण्डको १५ प्रतिशत हो ?


यो कुनै उपाए त भएन । भन्सारको सुब्बा वा खरदारलाई उसले जिन्दगीमा देख्दै नदेखेको दर्शनशास्त्रको पुस्तक, न्यूक्लियर फिजिक्सको पुस्तकमा कर लगाउने जिम्मा दिँदाखेरि  के हुन्छ ?

यो त नियन्त्रणतिर उन्मुख भयो । त्यसैले तपाईंको यो आन्दोलन मेरो पनि आन्दोलन हो । म पाठक हुँ लेखक कम हुँ, लेखक कम पाठक बढी भन्न रुचाउछु । भनाइ के छ भने एक पाना लेख्नलाई कम्तीमा १ सय पाना पढेर पचाउनुपर्छ,  सोच्नुपर्छ, चिन्तन गर्नुपर्छ  अनि मात्र बल्ल एक पाना लेख्न सकिन्छ ।

पुस्तक पसलमा करको कुरा आएदेखि नयाँ पुस्तक आएका छैनन् ।  प्रकाशित भएको कतिपय पुस्तक काठमाडौँमा हप्ता दिन, १० दिनभित्र पसलमा आइपुग्थ्यो । अहिले त्यस्तो छैन । अहिले पसलमा पुस्तक छैन । तिनीहरुले मगाएका छैनन् । १५ प्रतिशत कर व्यापारीले तिर्न नसक्ने त होइनन् नि त । पसलेले आयतकर्ताको खल्तीबाट त तिर्नुपदैन । पुस्तकमा कर लगाउनका साथ फारम भर्नुप¥यो, भन्सारको कार्यालयमा जानुप¥यो, लाम लाग्नुप¥यो, त्यहाँ दुईचार दिन रोकिएला, पालो आउन अनि लिएर आउला यो कसले झन्झन्ट गर्छ ? यो गर्नुभन्दा त नाफाको लागि पैसा कमाउनु हो भने पुस्तक पसल किन खोल्नु ? पुस्तक आयातकर्ता किन बन्नु ? रक्सी पसलमा त धेरे बढी नाफा छ नि ।

पुस्तकको व्यापार त ज्ञानसँग, पुस्तकसँग माया हुनेले मात्रै गर्न सक्छ, अरुले गर्नै सक्दैनन् । अघि भर्खर कुरा भइरहेको थियो  सन्देशगृह किन बन्द भयो । किनभने सुचनाको स्रोत  सबैमा पु¥याउने, ज्ञानको स्रोत पु¥याउने रुचि कम हुँदै जाँदा सन्देश गृह बन्द हुँदै गयो ।

दुनियाँभरि कति ठाउँमा पुस्तक पसलहरु बन्द भइरहेका छन् । त्यसैले यसमा अनुदानको र यसलाई बढावा दिनुपर्ने आवश्यकता छ । कर लगाएर अत्यन्तै घृणीत काम भएको छ । जोसुकै यसमा लागेको होस्, त्यसलाई अविलम्ब फिर्ता मात्रै होइन, माफी मागेर फिर्ता लिनुपर्छ ।

यो पैसाको कुरा होइन । यो ज्ञानको, मानव जातिको मानवीय सम्मानको र पुर्खाहरुको कमाइमा हाम्रो अधिकारमाथि हमला भएको छ  । यसको विरोधमा म चाहिँ स्पष्टरुपमा यहाँ आफूलाई उभ्याउन चाहन्छु ।

‘अन सोलिडारी फर मेक बुक्स ट्याक्स फ्रि’ले हिजो बुधबार पाटन दरवार स्क्वायरमा ‘हामी निरन्त्रर आन्दोलनमा  छौं’ भन्ने नाराका साथ   आयोजना गरेको कार्यक्रममा राजनीतिक विश्लेषक सिकेलालले व्यक्त गनुभएको विचारको सम्पादित उतार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सिके लाल
सिके लाल
लेखकबाट थप