मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ वर्षमा  ९४ मात्रै गुनासा : धुलोमुक्त काठमाडौँ बनाउन आग्रह

बिहीबार, १५ फागुन २०७६, १३ : ०३
बिहीबार, १५ फागुन २०७६

काठमाडौँ महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा गुनासो बढी आएको छ ।
     
डेढ वर्षदेखि कामपाले नागरिकको जनगुनासो सुन्न हटलाइन नम्बर तय गरे पनि यो नम्बरबारे पर्याप्त जानकारी नहुँदा उल्लेख्य गुनासो पर्न सकेको छैन । हटलाइनमा डेढवर्षमा हालसम्ममा परेको ९४ गुनासो मध्ये धेरै धुलोमुक्त र नियमित फोहर उठाउनका लागि परेको हो । यसको अर्थ कामपामा अन्य गुनासो नभएर भने होइन ।

सफा काठमाडौँ, कामपाका प्रमुख विद्यासुन्दर शाक्यको चुनावको समयमा मुख्य नारा नै हो । तर नागरिकको चाहनाअनुसार शहर सफा हुन नसकेकाले नै गुनासोकै रूपमा यो विषय उठ्न थालेको हो । कामपामा ३२ वडा रहेको छ । त्यसमध्ये सबैभन्दा बढी वडा १६, ७ र १८ बाट गुनासो आएको मानव संशाधन विकास महाशाखाका शाखा अधिकृत सन्तु श्रेष्ठले जानकारी दिए । 
 
हालसम्म पनि धेरै नगरवासीलाई हटलाइन नम्बरबारे जानकारी छैन न त यसबारे कामपालेनै जानकारीका लागि चासो देखाएको छ । नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधैँ सुन्नका लागि महानगरले ‘हेल्लो महानगर’ भनेर ‘हटलाइन नं ११८०’ को व्यवस्था गरेको डेढ वर्ष  बितिसकेको छ । 

अघिल्लो भदौ १ गतेदेखि कामपाले जनताको चाहनाअनुरूप काम गर्नकै लागि हटलाइन नम्बर प्रयोगमा ल्याएको थियो । महानगरवासीको समस्या हटलाइनमार्फत राख्ने र समस्याको उचित समाधान खोज्नकै लागि उक्त व्यवस्था गरिएको हो । तर गुनासो अत्यन्तै कम आएको कामपा कार्यालयले जनाएको छ ।  

मुख्य समस्याको रुपमा फोहर र धुलोको आए पनि अन्य विषय पनि नआएको भने होइन । अन्य गुनासामा फोहर नउठेको, फुटपाथमा जहाँतहीँ पसल राखिएका कारण पैदलयात्रुलाई आवतजावत गर्न समस्या भएको, छाडा छोडिएका जनावर नियन्त्रण नगरिएको, सार्वजनिक शौचालय निर्माण र सरसफाइ गर्नुपर्नेजस्ता गुनासो रहेको छ । त्यस्तै मदिरा र चुरोट बेच्ने स्थान निश्चतरूपमा तोकिनुपर्ने, सार्वजनिक स्थानको संरक्षण गरिनुपर्नेजस्ता जनगुनासो छ । 

त्यस्तै खुलामञ्च, बसपार्क व्यवस्थित नभएको, पार्किङमा बढी शुल्क लिएको गुनासो दर्ता भएका छन् । खाल्डाखुल्डीले समस्या पारेको, फोहर व्यवस्थापन नभएको, विद्युत्को समस्या, आकाशे पुलको अभाव, पार्किङले पैदलयात्रुलाई समस्या पारेको, निर्माणाधीन भवनबाट निस्किएको माटोले पु¥याएको सास्ती, विश्व सम्पदामा सूचीकृत वसन्तपुरमा पार्किङ गरिएको, चिनियाँ राष्ट्रपतिको स्वागतमा रोपिएका बिरुवाको संरक्षण नभएको गुनासो पनि स्थानीयवासीको छ ।

महानगरका अनुसार गौशाला–चाबहिल बाटोको अवस्था, काटेर राखेको तारले हिँड्न समस्या भएको, वाग्मती करिडोरमा मोटरसाइकल मर्मत पसलका कारण हिँड्न समस्या भएको, सडकपेटी अपाङ्गमैत्री नभएको, चाबहिल–साँखु खण्ड मर्मत गर्नुपर्ने, सार्वजनिक शौचालय अभावलगायत गुनासा आएका छन् । 
 
किन गुनासा कम 

कामपामा रहेको समस्यालाई हेर्ने हो भने एकै दिनमा १० बढी जनगुनासा आउनुपर्ने हो । अव्यवस्थित सडक, खानेपानीको समस्या र फोहरको दुर्गन्ध, भूकम्पपछिको पुनःनिर्माणजस्ता समस्या धेरै नै रहे पनि गुनासोकै रूपमा भने आएका छैनन् । 

महानगर आफैँ गुनासो सुन्ने भनेर अघि सरेको अवस्थामा पनि गुनासो नआएको सम्बन्धमा महानगरले सञ्चालनमा ल्याएको हटलाइनबारे कसैलाई जानकारी नभएर यसको प्रचारको अभावमा गुनासो अत्यन्तै कम आएको  श्रेष्ठ बताउँछन् ।

थप प्रचारकै लागि आगामी दिनमा कामपाले फेसबुक र इमेलमार्फत पनि जनगुनासो सङ्कलन गर्ने तयारी गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले जनताको समस्या सिधै सुन्ने भनेर नै हटलाइन राखिए पनि महानगरको हटलाइन प्रमुख सचिवालयसँगै छैन । हटलाइनलाई कामपाको वातावरण विभाग टेकुमा राखिएको छ ।  

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार शहर, बस्ती धुलोमुक्त बनाउनका लागि दैनिक बु्रमरले सडक सफा गरिरहेको, नियमित फोहरको व्यवस्थापनका लागि दीर्घकालीन फोहर विसर्जनस्थल निर्माणको काम अघि बढिरहेको र सार्वजनिक शौचालय निर्माणको काम पनि अघि बढिसकेको छ । गुनासोका रुपमा आएका जायज समस्या समाधानका लागि कामपा निरन्तर लागिरहेको डङ्गोलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप