जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्छः पञ्चा सिंह
गोरखा । अनेरास्ववियूकी नेतृ पञ्चा सिहले जनयुद्धका सम्पूर्ण सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने बताएकी छिन् ।
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २५ औँ स्मृति तथा वलिदान दिवसका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
बुधबार सिंह सहितको अनेरास्ववियूको टोलीले रम्तेलकै घरमा पुगी उनको परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
उक्त सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायतका आन्दोलनका सहिद, बेपत्ता, घाइते तथा अपांगलगायतको योगदानले मुलुकमा गणतन्त्र ल्याउन सम्भव भएको बताइन् ।
उनले दिल बहादुर भौतिकरुपमा यो संसारमा नभए पनि उनी इतिहासमा सधै जिबित रहिरहने बताइन् ।
बुधबार नै अनेरास्ववियू र राष्ट्रिय युवा सङघ गोर्खाको आयोजनामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
तत्कालीन माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धका क्रममा रम्तेलको ११ वर्षको उमेरमा राज्यपक्षबाट हत्या भएको थियो ।
यसैबीच सत्तारुढ नेकपा निकट अनेरास्ववियूले आज साँझ ५ बजे २५ औं दिलबहादुर रम्तेल स्मृति तथा वलिदान दिवसको सन्दर्भमा माइतीघर मण्डललामा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको अनेरास्ववियूका केन्द्रिय लेखा आयोगका सचिब मदन भुलले जानकारी दिए ।