शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बामदेवका नाममा नेकपामा भाँडभैलो, ओलीले किन गरे माधव नेपाललाई फोन ?

बुधबार, १४ फागुन २०७६, २१ : ५२
बुधबार, १४ फागुन २०७६

काठमाडौं । मंगलबार बेलुकापख बुधबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको भन्दै सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का सचिवालयमन सबै सदस्यलाई खबर गरियो । सोेही अनुसार बुधबार बिहान सचिवालयका सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटर पुगे । 

निर्धारित समयमै बैठक पनि सुरु भयो । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने प्रस्ताव अघि बढाए । 

प्रचण्डको प्रस्तावलाई अरु सदस्यहरुले सहमति जनाए । बामदेवले राष्ट्रियसभामा जानेबारे यसअघि असहमति जनाएपनि पछिल्लो पटक भने सहमत भैसकेका थिए । बामदेव हालकै अवस्थामा राष्ट्रिय सभा सदस्य बन्ने भएपछि  यसअघि संविधान संशोेधनका लागि गठन गर्ने भनिएको कार्यदल खारेज गर्ने निष्कर्षमा नेताहरु पुगे । 

झण्डै दुई घण्टापछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बाहिर आएर सोही निर्णय सुनाए । ‘आजको सचिवालय बैठकले हम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष बामदेव गौतमलाई चाँडै रिक्त हुने राष्ट्रिय सभा सदस्य पदमा मनोनित गर्न सरकारलाई सिफारिस गर्न अनुरोध गर्ने निर्णय गरको छ,’ प्रवक्ता श्रेष्ठले बालुवाटार पुगेका सञ्चारकमीहरुलाई सुनाउँदै  भने, ‘संविधान संशोधन आवाश्यकता अनुसार गर्न सकिन्छ तर चर्चामा रहेको भनिएको कार्यदल खारेज गर्ने निर्णय गरिएको छ ।’ 

तर सचिवालयको यो निर्णय श्रेष्ठले सुनाएको दुई घण्टा नवित्दै प्रधानमन्त्री समेत रहेका केपी ओलीले वामदेवलाई राष्ट्रियसभा सदस्य मनोनितका लागि सिफारिस नगर्ने भन्ने आशयको खवर सार्वजनिक भयो ।
प्रधानमन्त्री ओलीले अर्का नेता माधव कुमार नेपाललाई फोन गरेर बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफरिस गर्न आफू तयार नभएको सुनाएका थिए । नेपालसँगको टेलिफोनमा ओलीले असन्तुष्टि जनाउँदै आफूलाई धेरै पेलेको र आफू त्यसको सामना गर्न तयार रहेको पनि बताएका थिए ।

 यसमा ओलीले अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा बामदेवलाई पठाउन अनिच्छा देखाएका थिए । लगत्तै नेता नेपाल ओलीको आग्रहमा बालुवाटार पुगे । 

 नेता नेपालसँगको भेटमा पनि ओलीले गौैतमको स्थानमा युवराज खतिवडालाई नै निन्तरता दिन उपयुक्त हुने धारणा राखेका थिए । ओलीको यस्तो चाहाना सुनेका नेपालले बैठकमै छलफल गर्न पाएको भए राम्रो हुन्थ्यो भन्ने जवाफ फर्काएका थिए । नेपाल ओलीसँगको छलफलपछि बालुवाटारबाट साँझ बाहिरिएका थिए । 

बुधबारको यो ‘भाँडभैलो’सँगै नेकपाका नेताहरुबीच एकले अर्कोलाई कसरी कमजोर पार्ने र सिध्याउने भन्ने खेल छ भन्ने तथ्य छरपस्ट भएको छ । चाहे त्यो शनिबारको कार्यदल गठनको विषय होस् या बुधबार गौतमको सिफारिसमा ओलीको असन्तुष्टि । जसको सन्देश राम्रो गएको छैन । 

एमसीसी, गोेकुल वाँस्कोटा प्रकरण, सभामुख चयन, ललिता निवास जग्गा प्रकरण, लगायतका विषयको प्रवेशपछि नेकपाभित्रको शक्ति संघर्षमा पनि उथलपुथल जस्तै भएको छ । यी विषयमा नेकपाभित्र आफ्नै अनकुलका व्याख्या र विश्लेषणहरु भइरहेका छन् । त्यसैको अर्को रुपमा वामदेवको राष्ट्रिय सभा सदस्य पदमा मनोनित जोडिएको छ । 

नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘निर्णयप्रति नै कसैको असन्तुष्टि हो भने बैठकमै राख्नुपर्छ । निर्णय गरेर सार्वजनिक भइसकेपछि होइन, गर्दिन भन्नुको अर्थ छैन । यसले राम्रो सन्देश जाँदैन ।’ ती नेताका अनुसार नेताहरुले व्यक्तिगत फाइदा हेरेकाले यो समस्या भएको हो । तर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा सर्वसम्मत भएको निर्णयविपरित कोही नेताले के भन्यो भन्नेको अर्थ नहुने प्रतिक्रिया दिए । ‘बिहान सर्वसम्मत निर्णय भएको हो, अरु थाहा भएन’, उनले भने । 

गत पुस २३ गते नेता वामदेव गौतमको भैंसेपाटी निवासमा बहुमत सचिवालयका सदस्यहरुको जमघटलाई प्रधानमन्त्री ओलीले आफूविरुद्धको षड्यन्त्रका रुपमा बुझ्दै आएका छन् ।

यसैबीच नेकपा बैठकको निर्णयबारे भिन्नभिन्न समचारहरु सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार तथा प्रचार विभाग उपप्रमुख समेत रहेका सूर्य थापाले पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सदस्य संख्या थप्ने कुनैपनि प्रस्ताव नराखेको स्पस्ट पारेका छन् । उनले वामदेव र युवराजको विषयमा भने थप उल्लेख गरेका छैनन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप