शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले जी टु जी प्रक्रियाबाट अमेरिकासँग ‘एम १६’ हतियार किन्ने

बुधबार, १४ फागुन २०७६, २० : ४७
बुधबार, १४ फागुन २०७६

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अमेरिकासँग जी टु जी प्रक्रियाबाट एम १६ हतियार किन्ने बताएका छन् । रक्षा मन्त्रालय सम्हालेको २ वर्ष पुगेको अवसरमा मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले हतियार किन्ने निर्णय भएपनि प्राविधिक कारणले ढिलाई भएको बताए । 

रकम भूक्तानीको प्रक्रियाबारे टुङ्गो लगाउन बाँकी रहेकाले ढिलाई भएको बताउँदै उनले हतियार किन्ने कुरा साँचो भएको बताए । 

मन्त्री पोखरेलले पत्रकारले राखेको जिज्ञासामा अमेरिकी सहयोग परियोजना एमसीसीमा सेनाको भूमिका राखिएको वा नराखिएको बारे अध्ययन गरिने भन्दै नेपाली सेना अन्तर्राष्ट्रिय वा क्षेत्रीय रुपमा कुनै अर्को पक्षसँगको सैन्य गठबन्धनमा सहभागी नहुने बताए । उनले क्षेत्रीय वा विश्वब्यापी कुनै पनि सैन्य गठबन्धनमा रहेर काम नगर्ने घोषित नीति भएको स्पष्ट पारे । 

आवश्यकताका आधारमा सेना घटबढ
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले आवश्यकताका आधारमा नेपाली सेनाको आकार घटबढ हुने बताए । उनले भने–‘हिजो द्धन्द्धका बेला जति आवश्यकता थियो त्यही आधारमा सेनाको संख्या बढ्यो, अहिले आवश्यकता कम होला, त्यही आधारमा संख्या व्यवस्थापन हुन्छ ।’

नेपालले भारतसँग ३ अर्ब हाराहारीको सैन्य सामग्री लिएको विषयमा उनले भारतबाट प्राप्त गरेको हतियारको पैसा तिर्नुपर्ने भए तिर्ने र अनुदानमा पाइने भए त्यसमा पनि सरकार प्रष्ट भएको बताए । 
मन्त्री पोखरेलले शान्ति सेनामा जाने सेनाले यसअघि भनसुन गर्नुपर्ने अवस्था रहेको गुनासो आएपनि अब ब्यवस्थित पद्धति बसालेको बताए । उनले अगाडि नै शान्ति सेनामा को जाँदैछ र आफ्नो पालो कहिले आँउछ भन्ने थाहा हुने व्यवस्था गरेको जानकारी दिए । अहिले प्रतिबर्ष ५ हजार सेना शान्ति स्थापनाका लागि विश्वका विभिन्न देशमा खटिएको बताउँदै सेनाको १० प्रतिशत सो काममा खटाउने प्रतिबद्धता व्यक्त गरेको बताए ।  

सेनाको जुनसुकै पदमा भएपनि भष्टाचारी दण्डित हुन्छन्
रक्षामन्त्री पोखरेलले भष्टाचारी जो कोही जुनसुकै पदको भएपनि दण्डित हुने बताए । उनले समाजमा जे छ, त्यसको प्रतिविम्ब हरेक संस्थामा हुने बताउँदै सेनाभित्र पनि भष्टाचारी कोही छ भने कारवारीमा पर्ने बताएका छन् । 

उनले भने, ‘सेनाभित्र पनि भष्ट्रचार भएको छ भने जंगी अड्डाको विधि र प्रक्रियाबाट जुनसुकै पदका भएपनि दण्डित हुन्छन् ।’

दुई वर्षमा रक्षा मन्त्रालयका यी हुन केही उपलब्धी 
मन्त्री पोखरेलले २०७४ फागुन १४ गते मन्त्रालय सम्हालेपछि मन्त्रालयले गरेका काम कारवाही समावेश गरेको पुस्तक सार्वजनिक गरेका छन् । उनले यो बीचमा राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरेर मन्त्रिपरिषदबाट पारित गरेको बताए । 

उनले राष्ट्रिय सुरक्षा विधेयक अगाडि बढाएको, प्रतिरक्षा नीतिलाई अपडेट गरेको,सैनीक ऐन २०६३ मा नमिलेका कुराहरुलाई संसोधन गरेको बताए । 

यस्तै नेपाली सेनासँग जोडिएको हवाई सेवा नियमावलीलाई संसोधन गरेर लगेका, शान्तिसेना कार्यविधि तयार गरेको जानकारी दिए । 

यसका साथै सरकारले पहिलोपटक नेपालमा सुरक्षा सम्बन्धी राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापना गर्नका लागि प्रक्रिया अघि बढाएको उल्लेख गरे । 

यस्तै गत बर्ष चैतमा आएको भिषण आँधीले बारा पर्सामा घरहरुमा पुगेको क्षतिपछी सेनाले छोटो अवधीमा घर निर्माण गरेर हस्तान्तरण गरेको बताए । 

यस्तै नेपाल एकीकरणको बेलाका ऐतिहासिक गढी किल्लाको संरक्षण थालेको, संविधानले नेपाली सेनालाई विकासका काममा लगाउन सकिने व्यवस्था अनुसार विभिन्न आयोजनाहरुमा सेनाले काम गरिरहेको बताए । 
यस्तै हालै सम्पन्न भएको साग गेममा नेपाली सेनाका जवानहरुले २६ खेलमध्ये २१ खेलमा सहभागिता जनाएको र २३ वटा स्वर्णपदक जितेको जानकारी गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप