शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३५ जिल्लामा सकियो काँग्रेसको सांगठनिक समायोजन

शुक्रबारदेखि क्रियाशील सदस्यता वितरण
बुधबार, १४ फागुन २०७६, १६ : २८
बुधबार, १४ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुनेमा आशंका बढेको छ । 

काँग्रेसले अर्काे वर्ष फागुन ७ देखि १० गतेभित्र पार्टीको महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

स्थानीय तह संगठन पुनःसंरचनाको अन्तरिम व्यवस्था निदेशिका २०७६ अनुसार सहमतिबाट संरचना बनाउने व्यवस्था काँग्रेसमा छ ।

तर, संघीय संरचनाअनुसार पार्टी कमिटीलाई समायोजन गर्न गृहकार्य सुरु भएको ७ महिना बितिसक्दा पनि अझै सकिएको छैन । 

गत साउन २६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले कात्तिकभित्र संघीयताअनुसार स्थानीय तहमा पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्ने निर्णय गरेको थियो ।

त्यसपछि मंसिर–पुस हुँदै महाधिवेशन कार्यतालिकाअनुसार माघभित्र समायोजन टुंग्याउने निर्णय भएको थियो । 

फागुन–चैतमा साधारण र क्रियाशील सदस्यता वितरण गर्ने कार्यतालिका अनुसार माघमा समायोजन नसकिएपछि निर्णय परिमार्जन गरिएको थियो । योबीचमा पनि कामले गति लिन सकेन ।

त्यसपछि गत बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकबाट फागुन १५ गतेभित्र समायोजनका सबै काम सम्पन्न गरिसक्ने गरी केन्द्रीय कार्यालयले निर्वाचन समितिसँग सहजीकरण गर्न भनियो ।

तर, बुधबारसम्म ३५ जिल्लामा मात्र समायोजनकार्यले पूर्णता पाएको छ ।  फागुन १५ भित्र समायोजन टुंग्याएर डेढ महिना सदस्यता वितरण गर्ने केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णय पनि प्रभावित हुने देखिएको छ ।
काँग्रेसमा जिल्ला, प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीयस्तरका सांगठनिक संरचनापछि अहिले नगर र गाउँ र वडा तहको समायोजनको प्रक्रिया जारी छ ।

काँग्रेसका विगतका ७५ जिल्ला कार्यसमितिलाई ७७, २ सय ४० क्षेत्रीय कार्यसमितिलाई १ सय ६५ संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, ३ हजार ९ सय स्थानीय तह (गाउँ÷नगर) कार्यसमितिलाई समायोजन गरी ७ सय ५३ गाउँ÷नगर कार्यसमिति निर्माण गर्नुपरेको थियो ।

मंसिरमा सक्नुपर्ने समायोजनको काम चैत लाग्नैलाग्दा समेत पूरा नभएपछि तोकिएको मितिमा महाधिवेशन हुनेमा शंका बढाएको देखिन्छ । 

साउन १७ गतेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभाका सांसद एवं कानुन व्यवसायी राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई मंसिर मसान्तसम्ममा समायोजन गरिसक्न जिम्मा दिएको थियो । 
पार्टीले पछिल्लो पटक फागुन १५ गतेभित्र समायोजन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएको थियो ।

संयोजक राधेश्यामले यतिबेला केन्द्रीय कार्यालयमार्फत हरेक जिल्ला कार्यसमितिलाई समायोजनको प्रतिवेदन माग गरे पनि अटेर गरेको धेरैको बुझाइ छ । 
समितिका संयोजक अधिकारीका  अनुसार ३५ जिल्लाको मात्र सम्पूर्ण विवरण केन्द्रमा आएको छ ।

रातोपाटीसँगको उनले भने , ‘अहिलेसम्म ३५ वटाको पूर्ण विवरण आइसकेको छ । ३६ जिल्लाको समायोजन करिब करिब टुंगिएको छ । ६ जिल्लाको कुनै पनि विवरण आएको छैन । हामीले ताकेता गर्न भने छोडेका छैनौँ ।’

बारम्बारको निर्देशनलाई समेत जिल्ला, क्षेत्र र स्थानीय तहले नटेरेपछि निर्वाचन समितिले क्रियाशील सदस्यहरूको नामावली पनि अद्यावधिक गर्न सकेको छैन ।

आगामी शुक्रबारबाट समायोजन सकेका जिल्लाममा क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको काम सुरु गरिने अधिकारीले बताए । 

समायोजन सकेका प्रदेश एकका जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, ओखलढुंगा, उदयपुरमा क्रियाशील सदस्यता सम्बन्धी काम सुरु हुनेछ । 

यस्तै बागमती प्रदेशका दोलखा, सिन्धुली, भक्तपुर, ललितपुर  र चितवनमा पनि शुक्रबारबाट क्रियाशील सदस्यताको काम कारबाही सुरु हुनेछ ।

गण्डकी प्रदेशका कास्की गोरखा, तनहुँ, मनाङ, पर्वत र लमजुङबाट सबै विवरण प्राप्त भएको छ ।

प्रदेश पाँचमा पाल्पा, अर्घाखाँची र कपिलवस्तुको समायोजन सकिएको छ ।

यस्तै कर्णाली प्रदेशमा रोल्पा, रूकुम (पश्चिम), हुम्ला, मुगु, कालीकोट र जाजरकोटमा पनि समायोजन सकिएको छ ।  

यस्तै सुदूपश्चिम प्रदेशमा कैलाली, बाजुरा, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुर जिल्लाले पनि समायोजन टुंग्याएका छन् । 

उक्त जिल्लाहरुले १३ औँ महाधिवेशनको समयमा अद्यावधिक गरिएको क्रियाशील सदस्य र क्षेत्रीय प्रतिनिधिको नामावलीको सफ्टकपी पनि पठाएका छन् ।

२९ माघको काँग्रेसको केन्दीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको थियो ।

विधान बमोजिम वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि आवश्यक पर्ने संख्या भन्दा क्रियाशील सदस्यताको संख्या कम भएमा विधान बमोजिम कार्यसमिति र क्षेत्रीय प्रतिनिधि हुन आवश्यक पर्ने संख्यासम्म क्रियाशील सदस्यता वितरण गर्न सकिने भनिएको छ ।

प्रत्येका वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने निर्णय काँग्रेसको उक्त निर्णयले  १३ औँ महाधिवेशनमा क्रियाशील सदस्यता संख्या करिब ४ लाख ९० हजारको हाराहारीमा रहेकोमा आगामी १४ औँ महाधिवेशनमा क्रियाशील सदस्यता संख्या बढेर करिब साढे ७ लाखको पुग्ने देखिएको छ । 

समायोजनको ढिलाइले उब्जाएको आशंका
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको कार्य सकिएपछि मात्रै केन्द्रीय महाधिवेशन प्रक्रिया अघि बढ्छ ।

क्रियाशील सदस्यताले क्षेत्रीय प्रतिनिधि चुन्ने र क्षेत्रीय प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था विधानमा छ । 

काँग्रेसमा क्रियाशील सदस्यहरूको सोझै प्रभाव नरहे पनि तिनले चुनेर पठाउने प्रतिनिधिको प्रभाव केन्द्रमा पर्छ ।

गाउँ वडा र नगर वडा अधिवेशनमा क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि चुनेर पठाउँछन् । क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका प्रतिनिधि चुन्छन् ।

समायोजनमै भएको ढिलासुस्तीले सभापति शेरबहादुर देउवा पक्षले संविधानले दिएको सुविधान पनि प्रयोग गर्ने छनक देखाएको पाइन्छ । 

काँग्रेसले महाधिवेशन गर्न नसकेको विशेष कारण देखाएर एक वर्षको कार्यकाल बढाएको छ । त्यस अतिरिक्त थप ६ महिना बढाउन सकिने सुविधा संविधानले दिएको छ ।

समायोजको गृहकार्य हेर्दा वर्तमान केन्द्रीय कार्यसमितिले विधानको एक वर्षसँगै संविधानले दिएको अतिरिक्त ६ महिनाको समयसमेत प्रयोग गर्न खोजेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप