केन्द्रीय संस्करण

चीनमा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु (अपडेट)

person explore access_timeफागुन १४, २०७६ chat_bubble_outline0
FILE PHOTO

बेइजिङ । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु (भाइरस) कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७१५ जना पुगेको छ । 

पछिल्लो समय मृत्यु भएका सबै कोरोनाको प्रकोपको केन्द्र हुबेई प्रान्तका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार ४०१ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएको पनि जनाएको छ । चीनमा हालका दिनहरूमा नयाँ सङ्क्रमित व्यक्तिको संख्या घटेको देखिएको छ, र चीनका अरु धेरै प्रान्तमा नयाँ रोगी बिल्कुलै देखिएका छैनन् । 

हुबेई प्रान्त बाहिर पाँच जनामा मात्र कोरोना देखिएको थियो, र यो एक महिनाको अवधिमा सबैभन्दा कम हो । तर हुबेईको राजधानी उहानमा गत वर्षको अन्त्यतिर शुरु भएर चीनमा मात्र ७८ हजारभन्दा बढीलाई सङ्क्रमित तुल्याएको यो भाइरस विश्वका दर्जनौं देशहरूमा फैलिइ सकेको छ । 

दक्षिण कोरियामा मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११ जना पुगेको छ र सङ्क्रमितको संख्यामा वृद्धि भएर एक हजार १४६ पुगेको छ । चीन बाहिर यतिठूलो संख्यामा संक्रमण भएको कोरिया नै हो । कोरियामा तैनाथ अमेरिकी सेनामा सेवारत एक सैनिकमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ । 

करिब १० जनाको मृत्यु र ३०० भन्दा बढीमा सङ्क्रमण देखिएको इटालीले ११ वटा शहरमा आवातजावत बन्द गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले योक्रम केही हप्तासम्म जारी रहन सक्ने बताएका छन् । नानजिङ शहरका अधिकारीहरूले सियोलबाट मङ्गलबार आइपुगेको बिमानमा सवार तीन जनालाई ज्वरो आएपछि ९४ जनालाई क्वारेन्टाइनमा राखेको बताएका छन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.