शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीमा साम्प्रदायिक हिंसा : जाफराबाद, मौजपुरबाट भजनपुरासम्म आतङ्क फैलनु पछाडिको सम्पूर्ण कथा

बुधबार, १४ फागुन २०७६, १३ : २१
बुधबार, १४ फागुन २०७६

बीबीसी । २२ फेब्रुअरी । शनिबार राति दिल्लीको जाफराबाद मेट्रो स्टेसनमुनि केही महिला धर्नामा बसेको खबर आयो ।

सामाजिक सञ्जालमा भाइरल कैयौँ भिडियोमा उक्त समय सडकमा स्टेज लगाइँदै गरेको देखिन्छ ।

नागरिकता संशोधनसम्बन्धी कानुनको विरोध गरिरहेका मानिसले उक्त कार्य गरेका थिए । 

भोलिपल्ट (२३ फेब्रुअरी) भीम आर्मीका प्रमुख चन्द्रशेखर आजादले भारत बन्द आह्वान गरेका थिए ।

२२ फेब्रुअरीको रात कैयौँ स्थानमा नागरिकता कानुनविरुद्ध मानिसहरु भेला भएको समाचार आइरहेको थियो । भेला दिल्लीको यमुनापारी क्षेत्रमा भइरहेको थियो ।

भेला हुनेको ठूलो सङ्ख्या पाँच किमिको दूरीमा केन्द्रित थियो । त्यो क्षेत्रको स्थिति यस्तो छ : दिल्लीको काश्मीरी गेटबाट सात किमि टाढा सिलमपुर छ । उसँग जोडिएको छ जाफराबाद, त्यसपछि आउँछ मौजपुर, त्यसको छेउमा छ बाबरपुर ।

यही सडकबाट अगाडि बढ्दा आउँछ, यमुना बिहार र दायाँ मोडिँदा गोकलपुरी र बायाँ मोडिँदा करिब दुई तीन किमिको दूरीमा आउँछ भजनापुरा ।

यो क्षेत्रमा हिन्दु, मुसलमान र सिख समुदायको मिश्रित जनसङ्ख्याको बसोबास छ ।

२२ फेब्रुअरीको दिन सडक बन्द भएका कारण मानिसहरुलाई आवागमनमा अवरोध भएपछि आम सर्वसाधरणले विरोध जनाए । ट्राफिक लगभग बन्द भयो ।

२३ फेब्रुअरी, आइतबार

आइतबार बिहान नागरिकता संशोधन विधेयकको समर्थक र सर्वसाधरणले बाटो बन्दको विरोधमा प्रतिक्रिया दिन थाले ।

मानिसहरु भन्दै थिए– दिल्लीमा दोस्रो शाहीन बाग बन्न दिँदैनौँ । बालबच्चाको बोर्ड परीक्षा छ, तिनलाई अफ्ठ्यारो हुनेछ ।

तथापि जाफराबादको विरोध प्रदर्शनमा बसेका महिलाले फरक विचार व्यक्त गरेका थिए ।

‘हामी ४५ दिनदेखि केही किमि टाढा विरोध प्रदर्शन गरिरहेका थियौँ । तर सरकारले ध्यान दिएन । जबसम्म हामीले सरकारमाथि दबाब दिदैनौँ तबसम्म सरकार दबाबमा आउनेवाला छैन । यसैले हामी सडकमा उत्रिएका हौँ,’ एक धर्नाकारी महिलाले बताइन् ।

जाफराबादमा आइतबार दिउँसो यो सबै भइरहँदा, ठीक त्यही समय छेउको मौजपुरमा नागरिकता संशोधन विधेयक समर्थकको भीड जम्मा भयो । पक्ष र विपक्षी समूहबीच ढुङ्गा हानाहानको खबर आयो ।

त्यस दिन मौजपुर पुग्नेमध्येमा दिल्ली भाजपा नेता कपिल मिश्रा पनि थिए ।

केही समयपछि मिश्राले एक भिडियो ट्विट गरे । भिडियोमा कपिल मिश्रा प्रहरी र सर्वसाधरणसँग उभिएका छन् ।

कपिल भिडियोमा भन्छन्, ‘यी दिल्लीमा आगो लागिरहोस् भन्ने चाहन्छन् । यसैले तिनले यो मार्ग बन्द गरे । यो दङ्गाजस्तो माहोलमा पनि हामीले एउटा पनि ढुङ्गा हानिरहेका छैन । डीसीपी साहेब हामीसँगै हुनुहुन्छ । तपाईंको सबैको तर्फबाट यो कुरा राखिरहेको छु, ट्रम्प भारतमा रहुन्जेल हामी धेरै वितण्डा मच्चाउन चाहँदैनौँ, त्यसैले फर्किरहेका छौँ । ट्रम्प गएपछि हामी फर्कनुपर्नेछ ।’

आइतबार साँझ हुँदासम्म केही स्थानमा ढुङ्गा हानाहानको खबर आयो । दुवैतर्फबाट परस्पर विरोधी नारा लागेको भिडियो सामाजिक सञ्जालमा सेयर हुन लागेका थिए ।

आइतबार राति यमुनापारी क्षेत्रमा ट्याक्टरमा ढुङ्गा ल्याइएको भिडियो सामाजिक सञ्जालमा सेयर हुन थालेको थियो । तथापि यी ढुङ्गा किन जम्मा गरिँदै थियो स्पष्ट थिएन ।

२४ फेब्रुअरी, सोमबार

सोमबार बिहान एकातर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहमदाबाद पुग्नेवाला थिए । ठीक त्यही समय दिल्लीको त्यस क्षेत्रमा हिंस्रक झडपको खबर आउन थाल्यो ।

यो झडप मौजपुरदेखि लिएर भजनपुराको चान्दबाग क्षेत्रसम्म भइरहेको थियो । सोमबार बिहान ११ बजेतिर दिल्लीको भजनपुरा क्षेत्रमा हुल्याहाले पेट्रोल पम्प नजिक उभिएको गाडीमा आगो लगाइदिए ।

यो समयसम्म हिंसाको आगो जाफराबाददेखि लिएर भजनपुराको लगभग धेरै क्षेत्रमा फैलिसकेको थियो । भजनपुरा चोक, मौजुद मजार तथा पसलमा आगो लगाइयो ।

मौजपुरमा खुला पेस्तोल देखाउँदै एक युवक नागरिकता संशोधन कानुनको विरोधमा धर्नामा बसेका स्थनमा गएको देखियो ।

प्रहरीले त्यस व्यक्तिको परिचय हालसम्म आधिकारिक रूपमा दिएको छैन ।

सोमबार दिउँसो हिंसामा एक प्रहरी रतन लाल र एक युवकको मृत्यु भएको खबर भयो ।

यी घटना भइरहँदा राजनीतिक दलका प्रतिक्रिया दिन थालेको थियो । दिल्लीका उप–राज्यपाल अनिल बैजलले ट्विट गर्दै दिल्ली प्रहरीलाई कानुनी व्यवस्था कायम राख्नका लागि निर्देशन दिएका छन् ।

अरविन्द केजरीवालले ट्विटरबाट शान्तिका लागि अपिल गरे । तर धेरैले केजरीवाल ट्विटरबाट मात्र सक्रिय भएको सडकमा मानिसका सहयोगको लागि नउत्रिएको भन्दै आलोचना गरे ।  

भाजपा नेता कपिल मिश्राले शान्तिका लागि अपिल गर्दै ट्विट गरे । ‘हिंसा कुनै विवादको पनि समाधान होइन । दिल्लीको भाइचारा कायम राख्नुस् । नागरिकता संशोधन विधेयक समर्थक हुन् वा नागरिकता संशोधन वियेयक विरोधी या जो सुकै हुन् । हिंसा तुरुन्त बन्द हनुपर्छ ।’

सोमबार साँझसम्ममा घाइतेको सङ्ख्या बढ्दै गयो र रातसम्म चार मानिस मारिएको पुष्टि भयो  ।

फोटो एजेन्सीहरुले खिचेका तस्विरहरु साँझसम्म जारी हुन थाले । तिनले हिंसाको स्तर जनमानसमाझ ल्यायो । धेरै तस्बिरमा पसलमा आगो लागेको र सडक ढुङ्गाले भरिएको देखिएको थियो ।

यी दुई दिनमा प्रहरीले केही स्थानमा अश्रु–ग्यास र लाठी चार्जमार्फत हिंसात्मक भीडलाई तितरबितर पारेको खबर आयो । 

२४ फेब्रुअरीको रात

कर्दमपुरी, गोकलपुरी र ब्रह्मपुरी क्षेत्रमा रातभरी नारा लगाउँदै मानिसको भीड सकडमा घुमिरहेको थियो ।

केही भाइरल भिडियोमा भीडले ‘जय श्री राम’को नारा लगाइरहेको देखिन्थ्यो । त्यस्तै अन्य भिडियोमा ‘नारा–ए–तकबिर’ र ‘अल्लाह–हू–अकबर’को नारा पनि लगाइरहेको सुनिन्छ । 

हुल्याहा समूहले गाकलपुरीमा टायर मार्केटका कैयौँ पसलमा आगो लगाइदिए । केही क्षेत्रमा सडकमा जल्दै गरेको वाहन देखिइरहेको थियो । जाफराबादसँग जोडिएको ब्रह्मपुरीमा बिजुलीको लाइनसमेत काटिएको थियो ।

बाबरपुरबाट विधायक गोपाल रायले ट्विट गरे, ‘बाबरपुरमा चारैतर्फ आतङ्कको माहौल छ । दङ्गाकारी गोली हान्दै, आगो लगाउँदै घुमिरहेका छन् । प्रहरी कमिसनर फोन उठाइरहेका छैनन् । म उपराज्यपाल अनिल बैजल र गृहमन्त्रीजीसँग तुरुन्त प्रहरी फोर्स पठाउन आग्रह गर्छु ।’

सोमबार राति १०–११ बजे यो सबै भइरहँदा आम आद्मी पार्टीका विधायक एलजी अनिल बैजलबाट भेट्न पुगे ।

यो समयसम्म न्युज एजेन्सीमा वा आधिकारिक ट्विटर ह्यान्डलमा भारतका गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट कुनै प्रतिक्रिया आएको थिएन ।

२५ फेब्रुअरी, मङ्गलबार

२५ फेब्रुअरी बिहानसम्म कैयौँ स्थानमा आगजनीको घटना भए । नर्थ इस्ट दिल्लीको आग्नि नियन्त्रण ब्रिगेड विभागको फायर डाइरेक्टरले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार मङ्गलबार बिहान तीन बजेसम्म ४५ वटा आगजनीका फोन आएका थिए । 

तीन अग्निनियन्त्रक घाइते भए र एक फायर ब्रिगेडमा त आगो नै लगाइयो । दिल्ली प्रहरीले पनि रातभर हिंसाको घटना भएको भन्दै मानिसका फोन निरन्तर आइरहेको बताए ।

मङ्गलबार बिहान जाफराबाद क्षेत्रको छेउमा जोडिएको ब्रह्मपुरीमा ढुङ्गा हानाहानको तस्बिर बाहिर आइरहेका थिए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गरे र शान्तिको अपिल गरे । मङ्गलबार बिहान गृहमन्त्री अमित शाह र दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालबीच सुरक्षा कानुनलाई लिएर बैठक भयो ।

मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि सबै दलको बैठकपछि मिडियासँग भने, ‘हामी सबैले पार्टी राजनीतिबाट माथि उठेर दिल्लीमा शान्ति कायम गर्ने विषयमा कुरा ग¥र्यौं ।’

केजरीवालले यी कुरा भनिरहँदा मङ्गलबार दिउँसो एक बजे दिल्लीको गोकलपुरी र भजनपुरा क्षेत्रमा ठूलो भीड सकडमा थियो । नारा अझै लागिरहेको थियो ।

मङ्गलबार बिहान अढाई बजेसम्म सात मानिस मारिएको पुष्टि भइसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप