केन्द्रीय संस्करण
मध्यपहाड यात्रा पुस्तकको अंश

५० किमि हिमयात्रा : माइनस तापक्रममा बितेको रात

person explore access_timeफागुन १४, २०७६ chat_bubble_outline0

पचास हजारसँग प्रत्यक्ष संवाद

हिउँले ढाकिएको पाँचथरको चिवाभन्ज्याङ्बाट आजभन्दा ठीक एकमहिना अघि माघ १५ गते सुरु गरिएको जनसंवाद यात्रा १८७९ किमी यात्रा पारगर्दै ३० दिनपछि आज फाल्गुण १५ गते२८ जिल्लाको १४४ स्थानमा कार्यक्रमसम्पन्न गर्दै समापन ग-यौं । अभियानमा ५० हजार नागरिकसँग प्रत्यक्ष र लाखौंसँग अप्रत्यक्ष संवाद ग¥यौं ।

समापनपछिको सङ्कट

प्रहरी प्रशासनले बाटोमा हिउँ पर्न सुरु गरेको सूचना दिइरहेको थियो । पानी राती पनि रोकिएन भने बाटोमा ५–६ फिट बाक्लो हिउँ जम्ने र कम्तिमा २–३ दिन बाटो बन्दहुने कुरा स्थानीयहरूले गरे । त्यसपछि हामीले आज यहीँ बस्ने निर्णय बदल्यौँ र तुरुन्तै कम्तिमा अमरगढी पुगेर बस्ने योजना बनायौँ । दुई मिनेटमा टोलीलाई नयाँ निर्णय जानकारी गरायौं । साथीहरूसँग राम्रो बिदा पनि हुन नपाई गोठालापानीबाट हिँड्यौँ ।

सतबाँझको डाँडोमा आइपुग्दा सडकलाई हिउँले पुरै ढाकिसकेको थियो । कालो सडकले रङ बदलेर हिमालजस्तै सेतो भैसकेको थियो । यसभन्दा अघि पनि धेरै पटक हिउँ परेको देखेको थिएँ । तर यसपटक जतिको बाक्लो र लामो समयसम्म हिउँ परेको कहिल्यै देखेको थिइनँ । रात पर्न लागिसकेको थियो । प्रशान्तजी हिउँ भनेपछि भुतुक्क हुने । डम्बरजी चिसोको डरले बाहिरै ननिस्कने । सतबाँझमा छाड्नु थियो नरेन्द्र भट्टजीलाई । उहाँलाई झार्दा प्रशान्तजी र म पनि झ¥यौं  र एकछिन हिउँ खेल्यौँ । फोटो खिच्यौँ । भिडियो खिच्यौँ । डम्बरजीभने कक्रिएर गाडीभित्रै बस्नुभयो । बाक्लो हिउँ पर्दा चिसो होइन, न्यानो हुन्छ भन्थे हो रैछ । चिसोको खासै अनुभूति भएन । तर डम्बरजीले हाम्रो कुरा पत्याउनु भएन ।

पाटन कटेपछि पुरै रात प¥यो । खोड्पेको लेकमा आइपुग्दा काठमाण्डौं हिँडेको ठुलठुला नाइटबसदेखि ट्रक र साना गाडीहरू सबै बीचबीचमा अड्किएको भेट्यौं । हाम्रो गाडीलाई भने हिउँले रोक्दैन भन्ने बिश्वास थियो हामीलाई । किनकि, प्रशान्तजीको गाडी हाइलक्स थियो । यो गाडी फोरह्वीलर मात्रै होइन, सारै बलियो पनि रहेछ । गाडी बलियो भएर मात्रै हुँदैन, चालक पनि त्यतिकै अनुभवी र सहासी हुन जरुरी छ । चिवाभन्ज्याङ्देखि पातिहाल्ने लेकको ६ फिट हिउँ जमेको लेक सकुशल पार गरेर प्रशान्तजी र उहाँको यस हाइलक्स गाडीले अग्निपरीक्षा पास गरिसकेको थियो । त्यसैले हामीलाई सानोतिनो हिउँको अवरोधले रोक्न सक्दैन भन्ने पूर्ण विश्वास छ ।

यही विश्वासकासाथ अघि बढ्दै गयौं । कैयौं गाडीलाई छाडेर हामी धेरै अगाडि आयौं । तर बाटोमा तेर्सिएको बसको कारण खोड्पे लेकको अन्तिम उकालो क्रस गर्न सकेनौं । हाम्रो टिममा भएका टुव्हीलर गाडीहरू पछाडि छुटिसकेको थियो । डा. भट्टराईको गाडी जसोतसो पछिपछि आउँदै थियो । सबको बलबुद्धी लगाएर बल्लतल्ल एउटा अबरोध छिचल्यौं । तत्कालै फेरि अर्को अवरोधको सामना गर्नुप¥यो । खोड्पेको लेक राति ९ बजेतिर बल्लतल्ल पार गरियो । अगाडि अनारखोलीमा फेरि उही दशा आइलाग्यो । रातभरि हिउँमा भोकभोकै कक्रिएर मरिन्छ कि जस्तो लाग्यो एकपटक त । झन्नै अढाई तीन घण्टाको प्रयत्नपछि अनारखोलीको अप्ठेरो पनि पार गरियो ।

भोकले आन्द्रा छिन्लाजस्तै भएको थियो । चिसो त्यस्तै । शरीर मूढाजस्तै हलचल गर्न नसक्ने भइसकेको थियो । अमरगढी पुग्ने त निश्चित भयो । तर खान र बस्न पाइने छाँट देखिएन । अमरगढी पनि हिउँले ढाकिएको रहेछ । चिसोले गर्दा बेलैमा सबै होटेलहरू बन्द भएको र होटेलहरूमा कोठा नभएको जानकारी प्राप्त भयो । बाटोमा यति हुस्सु लागेको थियो कि गाडीको हेडलाइटले कामै गरिरहेको थिएन । अनारखोली कटेर सजिलोमा आएपछि बाटो छाडेर भीर नजिक गएछौं । शंका लागेर गाडी रोक्दा त दुर्घटना नजिक पुगेको रहेछ हाम्रो गाडी । त्यसपछि गोरूगाडाको गतिमा सचेत भएर चलाउनुभयो प्रशान्तजीले ।

माइनस तापक्रममा बितेको रात

राति झन्नै १ बजेतिर बल्ल अमरगढी आइपुग्यौँ । हिजो बिहान खाना खाएको होटलवालालाई गएर उठायौं । ४० जनालाई खाना पकाउन अनुरोध ग¥यौं । मानिरहेको थिएन । प्रशान्तजीले चिनेको एकजना श्याम भट्ट नाम गरेको साथी रहेछन् । खानाको र हामी ४–५ जनालाई सुताउने जिम्मा श्यामजीले लिनुभयो । खाना त पाक्ने भयो । अब त्यत्रो टोलीलाई कहाँ सुताउने ? फसाद प¥यो । सबैभन्दा पहिले आइपुगेकै हामी । डा. भट्टराईलगायत सबै टोली पछाडि नै छ । डा. भट्टराईको गाडी रेस्क्यू गर्न प्रशासनले थप गाडीहरू परिचालन गरेको खबर आयो । यति भएपछि डा. भट्टराई अमरगढी आइपुग्ने कुरामा हामी ढुक्क भयौं । थप कुरा बुझ्नलाई फोन लाग्दैन । बेलाबेलामा झुक्किएर लागिहाले पनि कुरा बुझिदैँन ।

हामी आइपुगेको १ घण्टापछि डा. भट्टराईलगायतका फोरव्हीलर गाडीहरू अमरगढी आइपुग्यो । डा. भट्टराईको लागि साथीहरूले अर्कै ठाउँमा ब्यबस्था मिलाउनु भएछ । अरू साथीहरूले पनि आ–आफ्नै तरिकाले सकेसम्म गासबासको व्यवस्था मिलाउनु भएछ । हाम्रो सम्पर्कमा आउनुभएका साथीहरूलाई खानाको ब्यवस्था मिलाएको कुरा जानकारी दियौं । राति २:३० बजेसम्म सबै साथीहरू अमरगढी आइपुग्नुभयो । साथीहरू जसोतसो यताउता मिलेर सुत्नुभयो । हामीलाईभने श्यामजीले आफ्नै घरमा लगेर सुताउनु भयो । श्यामजी पनि होटेल सञ्चालनको तयारीमा हुनुहुँदो रहेछ । होटेलको लागि तयारी गरेकोे सिरक डसना हामीलाई प्रयोग गर्न दिनुभयो । सिल्पिङ्ब्यागले मात्रै जाडो नथेगिएर सिल्पिङ्ब्यागमाथि नयाँ सिरक खापेर सुत्यौँ ।

बिहान उठ्दा अमरगढी बजार हिउँले आधा ढाकिएको थियो । हामी सुतेको घर अगाडिको सडकमा हिउँ सेताम्मे थियो । तैपनि चिया पसलहरू हामी उठ्दा खुलिसकेको थियो । बिहानको घामको किरणले अमरगढी बजारलाई चुमीरहेको थियो । तैपनि तापक्रम शून्य डिग्रीमै थियो । तातोतातो चियाको सुर्की लगाउँदै हामी अमरगढीलाई बाई बाई गर्दै अघि बढ्यौं ।

५० किमि हिमयात्रा

खोड्पे र अनारखोली जत्तिकै अग्लो रहेछ हगुल्टेको लेक । हगुल्टेको लेक सुरु भएपछि हिउँको थुप्रो सुरु भयो । हामीभन्दा अगाडि केही गाडीहरू गुडेको डोव थियो । बिहानको कलिलो घाममा टल्किरहेको हिउँको थुप्रो आँखाको लागि बढो मनोहारी भए पनि शरीरको लागि एकदमै कष्टकर थियो । सुन्दर वस्तुको सुन्दरता केवल टाढाबाट हेर्दा मात्रै हो भन्ने भनाई जीवनमा राम्रैसँग अनुभूत भयो । कुनै गाडी छेउतिर जोतिएको कुनै भित्तातिर । कुनैभने बीच बाटोमै अटेरी साँढेझैँ बाटो छेकेर ढसमस उभिएका ।

सडक बीचमा साँढेझैँ उभिएका गाडीहरू पन्साउँदै झन्नै ५० किलोमिटर गुडेपछि हामी डोटी र कैलालीको सीमानानेरको बुडर बजार आइपुग्यौं । हाम्रो पछिपछि अरू सबै गाडीहरू पनि निस्किए । हामी खुशी भयौं । हामीले बुडरमै खाना खायौं । खाना खाएको होटलवाली दिदी पूर्वको हुनुहुँदो रहेछ । चिनजान भयो । खुब माया गरेर खाना खुवाउनु भयो । स्थानीयता र क्षेत्रीयताको माया पनि गज्जबै हुंँदोरहेछ ।

सूचनामूलक जानकारी स्थानीय भाषामा

डोटी, डडेल्धुरा र बैतडीमा स्थानीय भाषाप्रतिको प्रेम र सम्मान देखेर साँच्चै प्रभावित भएँ म । विशेष गरी सडकमा टाँगिएका ब्यानर र होर्डिङ्बोर्डहरूमा स्वास्थ्य, शिक्षा र यातायात सम्बन्धी सबै जानकारीहरू यहीँको स्थानीय भाषामा लेखिएको देखियो । भाषा भनेको विचार विनिमयको माध्याम हो । भाषाकै कारण कतिपय अवस्थामा मान्छेहरूले दुःख पाउने र दुर्घटना व्यहोर्नुपर्ने पनि हुन्छ ।

२०५४ सालमा म केन्द्रीय कारागारमा छँदा सिन्धुपाल्चोकका एकजना तामाङ दाइ भाषाकै कारण जेल जीवन बिताइरहेका थिए । गाई मारेर खाएको अभियोगमा अदालतले बयान लिँदा उनले दिएको बयानको भाषा न्यायाधीशले उल्टो बुझेपछि उनलाई जेल सजाय भएको थियो । “गाई मारेर काटी खाएको हो, होइन ?” भन्ने अदालतको प्रश्नको जवाफमा उनले “गाई मा¥यो, काड्यो, खायो” भनेछन् । खासमा तामाङ दाइले गाई म¥यो, मरेको गाई काटेर खाएको हो भनेका रहेछन् । यति कुरा नबुझेर ती न्यायाधीशले तामाङ दाइलाई जेल सजाय तोकेका थिए । ती तामाङ दाइले आफ्नै मातृभाषामा बयान दिन पाउने व्यवस्था भएको भए जेल जान पर्ने थिएन ।

संसारका धेरै देशहरूमा खासगरी सङ्घीय प्रणाली भएका देशहरूमा सरकारी कार्यालयलगायत सार्वजनिक स्थलहरूमा चारवटा भाषामा सूचनाहरू लेखिएको हुन्छ । जस्तैः पहिलो, अन्तर्राष्ट्रिय भाषाको रुपमा अंग्रेजी, दोश्रो, राष्ट्रिय भाषाको रुपमा देशमा अधिकांशले बुझ्ने भाषा, तेश्रो, प्रादेशिक भाषा र चौथो, स्थानीय मातृभाषा । जसको कारण भाषाको कारण कसैले पनि दुःख भोग्नु पर्दैन । मातृभाषामा पठनपाठन हुन्छ । जसले गर्दा बालबालिकाले राम्रोसँग शिक्षा आर्जन गर्नसक्छ ।

हाम्रो देश पनि सङ्घीयतामा गइसकेको छ । अब कम्तिमा पनि राज्यले त्रिभाषिक नीति र अनिवार्य मातृभाषामा शिक्षाको ब्यबस्था तुरुन्त लागु गर्न जरुरी छ । बेलैमा सरकारको ध्यान जाओस् ।

***

अठ्ठाईसौं दिन

घाइते पोलहरूसँग साक्षात्कार

निद्राले बेलैमा छाड्यो । तैपनि निंदभने पुगेको थिएन । आँखा बिझाइरहेको थियो । हिजो मंगलसेनको बारेमा कुरा मात्रै सुनियो । हेर्न, घुम्न पाइएन । बिहान एकछिन घुम्ने योजना बनायौं । खासै त घुम्न पाइएन । २०५८ सालको भीषण फौजी हमलाको बारेमा धेरै जान्ने इच्छा थियो । तर फौजी हमलाको बारेमा बताउने आधिकारिक ब्यक्ति हामीसँग कोही थिएन । बिहान सखारै भएकाले स्थानीयहरू सँग बुझ्न पनि संभव भएन ।

हिजो कार्यक्रम भएको टुँडिखेल नजिकैको बजारमा लिएर गए साथीहरूले । जहाँ युद्धको आलो घाउ बोकेर ठिङ्ग उभिरहेका बिजुलीका पोलहरू रहेछन् । एउटा पोलमा त दर्जनौं गोली लागेको रहेछ । राइफलको गोलीले दर्जनौं ठाउँमा वारपार प्वाल पारेको । घरका भित्ताहरूमा पनि गोलीका डोबहरू ताजै देखिन्थे । यी पोलहरूले आफैँले लडेका कयौं भीषण फौजी कार्बाहीहरूको याद स्मृतिमा ताजा भएर आयो । लडाईका मैदानमा चुँइक्क..चुँइक्क आवाजसहित कन्चट नजिकबाट गोली चिप्लिएको याद आयो । मुटुको चाल बढ्यो केहिक्षण त !

२०५८ मा भएको भयानक भिडन्तमा घाइते पोलहरू युद्धको डोब बोकेर इतिहास बाँचिरहेका रहेछन् । जनयुद्धका साक्षी हुन् यी घाइते पोल र घरहरू । युद्धमा  ध्वस्त दरबार हेर्ने अवसर जुरेन । स्थानीयहरूका अनुसार अहिलेसम्म दरबार पुनर्निर्माण भइसकेको छैन रे ! कछुवा गतिमा हुँदै छ रे ! शीघ्र पुःनर्निर्माण कार्य सम्पन्न गर्न सरकारको ध्यान जाओस् । साथै, राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाका लागि लडिएका यस्ता भीषण युद्धहरूको इतिहास मेटिन नदिन सरकारले विशेष योजना पनि बनाओस् । यस्ता ऐतिहासिक स्थानहरूको राम्रो संरक्षण गर्न सकेको खण्डमा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न पनि सकिन्छ ।

बयलपाटाको नमूना अस्पताल

बयलपाटा हुँदै साँफे बगर जानुथियो हामीलाई । मंगलसेनबाट उत्तर पश्चिम लाग्यौं । सिधै तल खोला झरेपछि उकालो चढ्यौं । सबै कालोपत्रे गरेको सजिलो सडक । एकघण्टामै पुग्यौं बयलपाटा हस्पिटल । खड्क साउदजीलाई भेट्यौं । अबस्था सामान्य रहेछ । खुसी लाग्यो । हस्पिटलको भौतिक पूर्वाधार र सेवा सुविधा गज्जबको लाग्यो ।

नाफा कमाउने उद्देश्यले ठुलठुला सहरमा खोलिएको निजी अस्पतालजस्तो अस्पताल होइन रहेछ यो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा नेपालकै निजीक्षेत्र र सरकारी अनुदानमा सञ्चालित अस्पताल रहेछ । यस अस्पतालले वर्षेनी एक लाख बिरामीको उपचार गर्ने, पूर्ण डिजिटल प्रविधि, सामुदायिक र दिगो स्वास्थ्य र पूर्ण निःशुल्क सेवा दिइरहेको कुरा हस्पिटल सञ्चालक समिति र डाक्टरहरू बताउँदै थिए । साथै, हस्पिटल चलाउँदा भोग्न परेका कठिनाई र समस्याहरू पनि सुनाउँदै थिए ।

कठिनाई र समस्याहरूसँग संघर्ष गर्दै सञ्चालनमा रहेको यो अस्पताललाई देशकै नमूना अस्पताल भन्दा हुन्छ । अठोट, इमान्दारिता र लगनशील भएमा असंभव भन्ने केही छैन भन्ने प्रमाण हो यो अस्पताल ।

साँफेको सानो सभा

बयलपाटाबाट हामी साँफेबगर पुग्यौं । बजार ठिकैको रहेछ । बजार नजिकै सानो विमानस्थल देखियो । “हप्तामा कति उडान हुन्छ ?” एकजना स्थानीयलाई सोधेँ । उनको कुरा सुनेर अचम्म लाग्यो । उनी भन्दै थिए– “जम्माजम्मी धनगढीबाट हप्तामा एक उडान हुन्छ ।” तैपनि उनको जवाफमा गौरव घोलिएको थियो ।

कार्यक्रम स्थलबारेमा साथीहरूको विवाद भएछ । कोही बजार बीचमा गरौं भनेर तर्क गर्दै थिए, कोही अलग्गै एउटा कुनाको होटेलमा गरौं भन्दै थिए । मैले बजार बीचमा गरौं भने । तर स्थानीय साथीहरू मान्नुभएन । कार्यक्रम बजारछेउको होटलमा नै गर्ने निधो गरे साथीहरूले । नगरपालिकाको मेयर एमालेले जितेको रहेछ । साथीहरू अरू ठाउँमा जस्तै यहाँ पनि मेयरमाथि अलि बढी भर परेछन् । अन्तमा आउँदा मेयर सम्पर्कमा आएनछन् । अनि साथीहरू जिल्लिएका रहेछन् ।

कार्यक्रम स–सानो भयो । विनायक र मंगलसेनको कार्यक्रमले उत्साहित भएका साथीहरू अलिकति खुम्चिए । खिस्रिक्क भए । कार्यक्रम सकिएपछि चियानास्ता ग¥यौं ।

रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र जाजरकोटको केही भागमा मध्यपहाडीको ट्रयाक ठाउँठाउँमा नखुलेको हुँदा जसरी वैकल्पिक बाटो प्रयोग गरेका थियौं, यहाँ पनि सेती नदीमा पुल नभएको र ठाउँठाउँमा ट्रयाक बनिनसकेको कारण बाजुरा लाग्नुपर्ने हामी डोटीतिर लाग्यौं । बाटो निक्कै रमाइलो थियो । अलि ढिला भए पनि बिहानको खाना खान डोटी सदरमुकाम सिलगढी पुग्यौं ।

सदरमुकामवरिपरि ३०० छाउगोठ

डोटी जिल्ला हाम्रो पार्टीका सचिवालय सदस्य दुर्गा सोबको गृहजिल्ला हो । सदरमुकाम सिलगढी भिरालो पाखामा भए पनि सुन्दर लाग्यो । रमाइलो लाग्यो । तर सबैभन्दा बढी खुसीचाहिँ दुर्गाजी देखिनुहुन्थ्यो । स्वाभाविकै हो । किनकि, आफ्नो गृहजिल्ला सिन्धुली पुग्दा यति हो कि कसैले व्यक्त गर्छन् कसैले गर्दैनन् । खाना खाएको घरबाट चोरिऔंलाले पश्चिमतिर देखाउँदै– “ऊ तलको त्यही हो म जन्मेको गाउँ” भन्दै हुनुहुन्थ्यो दुर्गाजी ।

बजारबीचमा सिडिओ कार्यालय अगाडिको चोकमा कार्यक्रम सुरु ग¥यौं  । दुर्गाजीले सञ्चालन गर्नुभयो कार्यक्रम । डोटीभरी सबै ठाउँको कार्यक्रम उहाँलेनै सञ्चालन गर्ने सल्लाह भएको थियो । कार्यक्रम चल्दाचल्दै हल्का पानी प-यो । झुरूप्प जम्मा भएको मास तितरवितर भयो । साथीहरूले दुर्गाजीलाई जिस्क्याउन भ्याइहाले– ‘आयो डोटी खायो रोटी, जाने बेला धोती न टोपी । यो पानीको पारा हेर्दा त यस्तै होलाजस्तो छ है दिदी ।’ ‘उहिलेका कुरा खुइलिए अब त्यस्तो हुँदैन ।’ दिदीले पनि ठट्यौलो जवाफ दिनुभयो ।

चोकको कार्यक्रम सकिएपछि नगरपालिका भवनमा जनप्रतिनिधिसँग अन्तक्रिया थियो । तर प्रशान्तजी र हामी त्यस कार्यक्रममा गएनौं । व्यवस्थापनको लागि हामी अलि अघि जानुपर्ने भएकाले कार्यक्रममा नबसी दिपायलतिर हिँड्यौं । सो कार्यक्रममा नगरपालिकाकी मेयर माला मलासेले गम्भीर कुरा उठाउनुएछ । मेयरका अनुसार– ‘सदरमुकाम वरिपरिमात्र करिब ३०० छाउगोठहरू छन् । सदरमुकाम बाहिरको के कुरा गर्नु ?’

साथीहरूको कुरा सुनेपछि सितांग भएँ म । यहाँका दिदीबहिनीहरूको कष्टकर जीवन सम्झेर शरीरभरी काँडा उम्रियो । २१ औं शताब्दीमा पनि महिलाहरूले संस्कृतिको नाममा यस्तो विकृति भोग्नु सबैभन्दा लज्जाको विषय हो ।

यहाँका यस्ता अन्धविश्वासले दिदीबहिनीहरूको ज्यान लिएकोलिएकै छ । एनजीओ, आइएनजिओले पैसाको खोलो बगाएको बगाएकै छ । सरकारले पनि सधैं विज्ञापन बजाएको बजाएकै छ । तर खोइ रोकिएको ? अब सबैले बुझ्नुप-यो कि, पैसा खर्च गरेर मात्रै यस्ता अन्धविश्वास हट्दैन । यसका लागि आवश्यक कडा कानुन बनाएर अभियानात्मक रूपमा यस्ता अन्धविश्वास विरूद्ध संघर्ष गर्नुपर्छ ।

दीप निभ्दै गएको दिपायल

सेती नदीको बायाँ काखतिर चिटिक्क मिलेको फाँटिलो ठाउँमा रहेछ, दिपायल । सुदूरपश्चिमको निक्कै नाम चलेको ठाउँ हो, दिपायल । राज्य पुनर्संरचना हुनुअघि सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो दिपायल । एउटा ठूलो व्यापारिक केन्द्र । प्रशासनिक केन्द्र । तर अहिले पूरै ओझेलमा परेको छ । खसहरूको सिञ्जा र डोट्याल गरी दुई सभ्यता मानिन्छ । अहिलेको राज्य पुनर्संरचनाले डोट्याल सभ्यता पुरै छायामा परेकोछ । दिपायल आइपुगेपछि थाहा भयो, यहाँका मान्छेहरू सङ्घीयतासँग खुसी छैनन् । संघीयताले आफ्नो व्यापारिक र प्रशासनिक केन्द्र खोसेर आफूहरूलाई शक्तिहीन र कमजोर बनाएको बुझाई छ दिपायलबासीको ।

काँग्रेसका शेरबहादुर देउवादेखि बीरबहादुर बलायरसम्म अनि कम्युनिस्टका भीम रावलदेखि लेखराज भट्टसम्मको प्रत्यक्ष परोक्ष नेतृत्वमा प्रदेश सीमाङ्कनको बेला “अखण्ड सुदूरपश्चिम” आन्दोलन चल्यो । थरूहट प्रदेश माँग गर्ने थारूहरूमाथि भएनभएको आरोप लगाइयो । मधेसी भनेका बिहारी हुन् यिनीहरूलाई अलग्गै प्रदेश दियोभने मधेश भारतमा लगेर गाभ्छ भनेर पूर्वी मधेसमा हल्ला गरेझैं पश्चिममा पनि थारूहरूलाई अलग्गै प्रदेश दियोभने भारततिर गाभ्छ भनेर अखण्डवालाले हल्ला चलाए । कैलाली, कञ्चनपुरका थारूहरूले पहाडतिर आउने नुनतेल रोक्छ भनेर भ्रम फिजाए । दुःख गरेर कैलाली, कञ्चनपुरमा जोडेको घर जग्गाजमिन थारूहरूले खाइदिन्छ भनेर हल्ला पिटाए । ठुला पार्टीका ठुला नेताहरूले भनेको कुरा पक्कै साँचो होला भनेर सर्वसाधारणले पत्याए । पहाडका जनताहरू अखण्ड आन्दोलनलाई साथ दिए । थारूमाथि दमन भयो । थारूहरू बिचरा र निम्छरो भए । अखण्ड आन्दोलन बुलन्द भयो ।

सिलगढीमा परेको सिमसिम पानी दिपायलमा बेजोडले दर्किरहेको थियो । छिनमा पर्ने र छिनमा थामिने क्रम जारी थियो पानीको । दिपायलमा पनि महोत्सव चलिरहेको रहेछ । महोत्सवमा गएर कार्यक्रम गर्ने योजना बनाएका थिए साथीहरूले । तर पानीको कारण सम्भव भएन । २–३ पटक जमर्को गर्दा पनि कार्यक्रम गर्न संभव नभएपछि भोलिपल्ट बिहान गर्ने भन्ने सल्लाह भयो । रात पनि पर्न लागिसकेको थियो । पानीले जाडोको मात्रा ह्वात्तै बढाएको थियो । डा. भट्टराईलाई कार्यक्रम बिहान मात्रै हुने जानकारी गराएँ मैले । त्यही बीचमा दिपायल उद्योग वाणिज्य संघका प्रतिनिधिहरू र प्रतिष्ठित ब्यापारीहरू डा. भट्टराईलाई भेट्न आए ।

व्यापारीहरूको टिम फर्कने बित्तिकै सयौं जनताले हामी पानीमै भिजेर बाबुराम भट्टराईको कुरा सुन्छौं । हामी सडकमा उभिन्छौं । बिहान होइन अहिलेनै कार्यक्रम गर्न प¥यो भनेर दवाब गर्न थाले । पानी परिरहेको थियो, मान्छेको भीड पनि बढिरहेको थियो । सम्बोधनका लागि सडकको पेटीमा उभिनुभयो डा. भट्टराई । भीडले उत्साहपूर्वक ताली बजाएर डा. भट्टराईको स्वागत ग¥यो ।

यहाँका जनताको मनोविज्ञान कस्तो छ ? मैले पहिलेनै डा. भट्टराईलाई व्याख्या गरिसकेको थिएँ । उहाँले निक्कै गम्भीर तर आवेगात्मक शैलीमा कुरा राख्नुभयो ।

“प्रशासनिक र व्यापारिक मात्रै नभएर खस सभ्यताको पनि एउटा केन्द्र हो, तपाइँहरूको दिपायल । सङ्घीयतालाई ठीक ढंगले बुझ्न नचाहने वा सङ्घीयता नै नरुचाउने ठुला पार्टीका केही ठुला नेताका कारण आज तपाइँहरूको दिपायल कमजोर बन्दै गएको छ । सङ्घीयता पहाड र नदीलाई चाहिएको होइन, जनतालाई चाहिएको हो । देशको आकार र जनसंख्या हेरेर सङ्घीयता बनाइँदैन । नेपालभन्दा धेरै साना देश र थोरै जनसंख्या भएको देशमा पनि सङ्घीयता छ, धेरै ठूलो भूगोल र जनसंख्या भएको देशमा पनि सङ्घीयता छ । बिशेष गरेर सांस्कृतिक, भाषिक, जातीय विविधता भएको देशमा सम्पूर्ण नागारिकहरूको सत्ताका हरेक अङ्गमा समान सहभागिता, पहुँच र अवसर कायम गर्न सङ्घीय प्रणाली अपनाउने गरिन्छ ।

सङ्घीयतामा सबै जनता शक्तिशाली हुन्छन् । सङ्घीयतामा आ–आफ्नै अलगअलग केन्द्र हुन्छ । भूगोल र दूरीको आधारमा प्रदेशको नामाकरण गरिँदैन । काठमाण्डौंबाट सबैभन्दा टाढा भएकोले हिजो पञ्चायतले तपाईंहरूलाई सुदूरपश्चिम भनेर नामाकरण ग¥यो । आज काँग्रेस र कम्युनिस्टले पनि पञ्चायती नामलाई नै निरन्तरता दिएको छ । के काँग्रेस र कम्युनिस्टले पनि हिजो पञ्चायतले जस्तै तपाईंहरूलाई सिंहदरबारबाट सुदूर बनाउन खोजेको हो ? यदी होइन भने तपाईंहरूको आफ्नै समृद्ध डोट्याल सभ्यता छ, आफ्नो छुट्टै पहिचान छ । यही सभ्यता र पहिचानको आधारमा प्रदेशको नामाकरण गरेको भए के बिग्रन्थ्यो ? हिजो पञ्चायतलेसम्म क्षेत्रीय सदरमुकाम बनाएको यस दिपायललाई आज प्रदेश राजधानी बनाएको भए के हुन्थ्यो ?” जनताले जोडले ताली बजाए ।

“सङ्घीयता गलत होइन । नेताहरूको आफ्नो स्वार्थको कारण सङ्घीयताको बारेमा तपाईंहरूलाई गलत कुरा बुझाइएको छ । तपाईहरूमाथि अन्याय गरिँदै छ । गलतका विरूद्ध संघर्ष गर्ने हो । सम्झौता गर्ने होइन । दाउरा काट्ने खुकुरीले कसैले मान्छे काट्योभने खुकुरीलाई दोष दिन मिल्दैन । सजाय खुकुरीलाई होइन, मान्छे काट्ने अपराधीलाई दिनुपर्छ ।”

डा. भट्टराईको कुराले सबै खुसी भए । बल्ल पो कुरा बुझियो । कांग्रेस, कम्युनिस्टले त हामीलाई मुर्गा बनाएको रहेछ भन्दै घर फर्किए । यता डा. भट्टराई पनि अलि अगाडि रहेको कृषि केन्द्रमा जानुभयो । किनकि, दिउँसैदेखि मदन राई अगाडि गएर डा. भट्टराईको लागि अलग्गै व्यवस्थापन मिलाउनु भएको थियो । हामीभने सबै दिपायल बजारमै बस्यौं ।


लेखक : गंगा श्रेष्ठ

पुस्तकको नाम : मध्यपहाड यात्रा

विमोचन मिति : २०७६ फागुन १५, युनियन हाउस, अनामनगर ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...