मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गैँडा गणना चैत १ गतेदेखि

मङ्गलबार, १३ फागुन २०७६, २१ : २०
मङ्गलबार, १३ फागुन २०७६

दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि शुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ । 

    फागुनको अन्तिम साता प्राविधिक कर्मचारीलाई तालीम दिएर गणना गर्न लागिएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैँडा गणना गरिने छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने श्रेष्ठले जानकारी दिए । नेपालका चारवटा निकुञ्जमा गैँडा रहेका छन् । 

    चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि ३५ वटा हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ । प्रत्यक्ष रुपमा गणना गरिँदै छ । बीस दिनमा गणना गरिसक्ने योजना छ । गणनाको शुभारम्भ चितवनबाट गर्न लागिएको हो । श्रेष्ठका अनुसार निकुञ्जलाई विभिन्न भागमा छुट्याएर गणना गरिँदै छ । शुभारम्भ कहाँबाट गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । वनमन्त्री, सचिवलगायतका उच्च अधिकारीको उपस्थितिमा गणना शुभारम्भ गर्ने विभागको तयारी रहेको छ । 

    विगतका वर्षमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ । उहाँका अनुसार गैँडा गणनाका लागि विभागले रु एक करोड १० लाख ३५ हजार रकम बिनियोजन गरेको छ । बाढीले गैँडा बगाएपछि गत वर्षनै गैँडाको सङ्ख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन । दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारलेनै बजेट विनियोजन गरेको थियो । 

    हरेक पाँच÷पाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ । यस अघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो । त्यतिबेला ६४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप