बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

३ हजार रोपनी जग्गाको भाडा वार्षिक ७ करोड मात्रै !

मङ्गलबार, १३ फागुन २०७६, १९ : ५२
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । नेपाल ट्रष्टको नाममा रहेको ३ हजार रोपनी जग्गा भाडा तथा लिजमा दिइएको पाइएको छ । ट्रष्टको नाममा भएको कुल २१ हजार ५ सय ६२ रोपनी जग्गामध्ये करिब २ हजार ९ सय ६८ रोपनी जग्गा लामो समयका लागि लिजमा तथा छोटो समयका लागि भाडामा दिइएको पाइएको हो । नेपाल ट्रष्टले आफ्नो सम्पत्ति सम्बन्धी विवरण सार्वजनिक गर्दै त्यसरी दिइएको जग्गामध्ये करिब २ हजार ८ सय ३० रोपनी जग्गा लिजमा दिइएको जनाइएको छ । बाँकी १ सय ३८ रोपनी जग्गा भने छोटो अवधिको लागि भाडामा दिएको जनाएको छ । 

त्यसरी भाडा र लिजमा दिँदा चालु आर्थिक वर्षमा ट्रष्टलाई करिब ७ करोड ३४ लाख रुपैंया रकम प्राप्त हुनेछ । त्यसमध्ये लिजमा दिइएको २ हजार ८ सय ३० रोपनी जग्गाको ६ करोड २९ लाख हो भने छोटो अवधिका लागि भाडामा लिइएको १३८ रोपनी जग्गाको वार्षिक १ करोड ५ लाख रुपैंया प्राप्त हुनेछ । भाडामा दिइएको मध्ये पनि ताहाचलको ४ रोपनी जग्गाबाट मात्रै ट्रष्टलाई १ करोड ३ लाख प्राप्त हुन्छ । भाडामै दिइएको धनकुट्टाको १३४ रोपनी जग्गाको भाडा वार्षिक २ लाख रुपैंयाँ मात्रै आउँछ । 

लिजमा दिइएका जग्गामध्ये गोकर्ण फरेष्ट रिसोर्टको २ हजार ७ सय ९२ रोपनी पर्छ । सम्झौता अनुसार यो वर्ष सो जग्गाको वार्षिक भाडाबापत ३ लाख १२ हजार अमेरिकी डलर प्राप्त हुनेछ । अहिलेको विनिमय दरअनुसार त्यो करिब ३ करोड ६० लाख रुपैंया बराबर हुन आउँछ । सन् २०५० सम्म लिज अवधि रहेकोमा ५/५ वर्षमा ५ प्रतिशतका दरमा भाडा बढ्दै जानेगरी सम्झौता गरिएको छ ।  

त्यस्तै, कमलादीस्थित काठमाडौं प्लाजा रहेको ५ रोपनी जग्गाबाट ७५ लाख रुपैंया ट्रष्टलाई आउँछ । २०७७ असारसम्म मात्रै सम्झौता अवधि रहेको उक्त भवन त्यसपछि भने नयाँ ठेक्का प्रणालीअनुसार भाडामा दिइनेछ । 
उता, स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको लाजिम्पाटस्थित भवन ६ रोपनी १३ आनामा फैलिएकोमा सो जग्गाबापत वार्षिक १ करोड ३ लाख रुपैंया प्राप्त हुने गरेको जनाइएको छ । आगामी जुनदेखि १ वर्षका लागि १ करोड १५ लाख प्राप्त हुनेछ भने त्यसपछि सम्झौता सकिनेछ । 

त्यस्तै, टेकुस्थित बिजिनेस पार्कको अवधि भने सन् २०८३ मा मात्रै सकिन्छ । अहिले वार्षिक २५ लाख रुपैंया मात्रै भाडा तिर्दै आएको सो कम्प्लेक्स १९ रोपनी १२ आजा क्षेत्रफलमा फैलिएको छ । ५/५  वर्षमा ५ लाखका दरले भाडा वृद्धि गर्दै जाने सम्झौता यसमा छ । 

दरबारमार्गमा निर्माण भइरहेको कम्प्लेक्सको भने अहिले वार्षिक ५० लाख भाडा आउँछ । २०७७ सम्म निर्माण अवधि रहेकोमा सो अवधि सकिएपछि वार्षिक ४ करोड ५० लाख भाडा त हुनेछ भने ५/५ वर्षमा यसको भाडा ५ प्रतिशतले बढ्दै जानेछ । यसको सम्झौता अवधि वि.सं. २१०४ सम्म रहेको ट्रष्टले जनाएको छ । 

अर्कोतर्फ, ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्सको भवनका लागि पनि वि.सं. २१०४ सम्मका लागि सम्झौता भएको छ । ४ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गाको निर्माण अवधि २०७७ सालसम्म छ । त्यो अवधिसम्म वार्षिक ६ लाखको दरमा भाडादर तय गरिएको छ । सो अवधिपछि वर्षिक ६१ लाख ४४ हजार र ५/५ वर्षमा ५ प्रतिशतका दरमा भाडा वृद्धि हुँदै जाने सम्झौता गरिएको छ । 

छोटो अवधिका लागि दिइएका भाडामध्ये ताहाचलको जग्गामा रहेको भवनबाट १ करोड ३ लाख र धनकुट्टाको जग्गाबाट वार्षिक २ लाख समेत कुल १ करोड ५ लाख रुपैंया भाडा प्राप्त हुने विवरणमा उल्लेख गरिएको छ । ताहाचलमा अहिले सार्वजनिक खरिद अनुगमन कार्यालय, गरिबी निवारण कोष र वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय भाडामा बसेका छन् । धनकुटामा भने निजामति आवासीय विद्यालय सञ्चालनमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप