शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : संसदमा सरकारको चर्को आलोचना, प्रधानमन्त्रीको राजीनामा माग

मङ्गलबार, १३ फागुन २०७६, १८ : ०६
मङ्गलबार, १३ फागुन २०७६

हेलिकप्टर दुर्घटनाको रिपोर्ट सार्वजनिक

गत वर्षको फागुन १५ गते ताप्लेजुङको पाथीभरास्थित सिस्नेखोलामा भएको हेलिकप्टर दुर्घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

उक्त दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । 

गत वर्ष फागुन १५ गते मन्त्रिपरिषदको निर्णयअनुसार गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम गठित दुर्घटना जाँच आयोगले तयार पारेको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको हो ।
आयोगले दुर्घटनासम्बन्धी तथ्य सङ्कलन, सम्बन्धित प्राविधिक एवम् व्यवस्थापन पक्षका पदाधिकारीहरुसँगको छलफल/अन्तरवार्ता, दुर्घटनास्थलको स्थलगत अध्ययन भ्रमण, मौसमी व्यवस्थाको विश्लेषण, वायुयान तथा चालकको रेकर्ड जाँच, चालकको पारिवारिक, सामाजिक एवम् मानवीय अवस्थाको मनोवैज्ञानिक अध्ययन, उडान कागजातहरु र म्यानुअलसमेतको विस्तृत अध्ययन गरी तथ्यगत विश्लेषणसमेत गरेर प्रतिवेदन तयार पारेको जनाइएको छ ।

दुर्घटना जाँच आयोगले गत असोज १० गते अन्तिम मस्यौदा प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमक्ष पेश गरी अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड तथा नेपालको प्रचलित कानुन बमोजिम सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाएको थियो । 

उक्त अवधिमा प्राप्त राय/सुझावसमेतको आधारमा मस्यौदा प्रतिवेदनलाई अन्तिम रुप दिइ अन्तिम प्रतिवेदनका रुपमा आइतबार सार्वजनिक गरिएको मन्त्रालयका सह–प्रवक्ता एवम् उपसचिव प्रकाश शर्मा ढकालले जानकारी दिए । 

एयर डाइनेस्टीको एयरबस हेलिकप्टर (९एन–एएमआई)ले शुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचथर र पाँचथरबाट काठमाडौँ आउने अनुमति लिए पनि पाइलटले अन्तिम समयमा उड्ने बेला मात्र भीएचएफबाट हेलिकप्टरमा भीआईपी रहेको बताउँदै पाँचथरको साटो तेह्रथुम जाने अनुमति मागेका थिए । त्यसपछि हेलिकप्टरलाई काठमाडौँ–तेह्रथुम–काठमाडौँ यात्राको अनुमति दिइएको थियो ।

तर, तेह्रथुमबाट काठमाडौँ फर्कनुपर्ने हेलिकप्टर कुनै पूर्वअनुमति बिना नै बिहान ११ बजेर ४९ मिनेटमा पाथिभरामा ल्यान्ड गर्न पुगेको थियो । त्यसको ४५ मिनेटपछि हेलिकप्टरले काठमाडौँको लागि उडान भरेकोमा एक मिनेटपछि नै दुर्घटनाग्रस्त बनेको थियो ।
प्रतिवदेनमा हेलिकोप्टर दुर्घटनामा पाइलटको तत्कालिन मानसिक अवस्था र मौसमलाई दोषी देखाइएको छ । 

संसदमा सरकारको आलोचना

मंगलबार बसेको संसद बैठकमा सरकारको चर्को आलोचना भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विना भेदभाव भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ । 

सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले गरेको बाचा र कार्यशैलीमा भिन्नता देखिएको भन्दै भ्रष्टाचार गर्दिनँ र हुनदिन्नँ भन्नेमा प्रधामन्त्रीले संसदलाई आश्वस्त तुल्याउनुपर्ने धारणा राखेका हुन् । प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने, संविधान र लोकतन्त्रलाई खतरा पुग्ने काम नर्गेमा संसदलाई आश्वस्त गराउने विश्वासका साथ संसद सुचारु गराउन प्रतिपक्षी दल तयार रहेको पनि उल्लेख गरे । 

कांग्रेसले सेक्युरिटी प्रेस कमिसन प्रकरणका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बरखास्त गरेर भ्रष्टाचारको अभियोगमा कारवाही अघि चलाउन माग गर्दै फागुन ८ गतेको संसद अवरुद्ध गरेको थियो । प्रधानमन्त्रीले संसदमा आएर मन्त्री बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको भनिएको भिडियो सामाग्री र बाँस्कोटालाई कारवाही गर्ने प्रतिवद्धता गर्नुपर्ने माग गरेको थियो ।

कम्युनिष्ट सरकार अनि जनताको प्रधानमन्त्रीले राजधानीबाट केक लगेर तामझाम गरेको देख्दा सर्वसाधारण जनताले अपमानित महसुस गरेको उनले बताए । 

यस्तै कांग्रेसका अर्का सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । 

सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरे । थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गरे । 
 उनले नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाइँ स्वास्थ्य लाभ गर्न जान प्रधानमन्त्रीलाई आग्रह गरे । 
थापाले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघि नै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन ? भन्दै प्रश्न गरे । 
नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीको विषयमा र भ्रष्टाचारको विषयमा ठूलो स्वरले बोल्न नसकेपनि आफुहरुसँग कानेखुसी गर्दै गुनासो गर्ने गरेको थापाले बताए । 

एमसीसी प्रकरणमा पार्टीका खाँटी राष्ट्रवादीहरुले प्रधानमन्त्रीलाई तह लगाएको भन्दै थापाले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याउने कुरामा कसरी कमजोर देखिनुभयो भन्दै थापाले प्रश्न गरे । 

त्यसैगरी, सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताइन् ।  सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिइन् ।  सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाइन् ।  नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उनले प्रश्न गरिन् । 

बास्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उनले बास्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गरिन् ।  हुवाई देखि लिएर यति होल्डिङसम्म सरकार अड्केको दाबी गर्दै गिरीले यो विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताइन् । 

प्रतिनिधिसभा, भीम रावल

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडकबाटो निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकषर्ण गराएका छन् । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै रावलले सुदूरपश्चिमको दार्चुलामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारती पक्षले नेपाली भूमिमा बाटो निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 
 स्थानीय प्रशासन र सरकारी पहलका कारण बाटो भत्काउने काम भएपनि भारतले नेपाली भूमिमा बाटो निर्माण गरी व्यापक रुपमा आफ्ना कर्मचारी र मानिसहरुलाई त्यहाँ उपस्थित गराउने काम गरेको भन्दै यसतर्फ सरकारले चाँडो आफ्नो कदम चाल्नुपर्ने बताए । 

शेर बहादुर तामाङ

त्यसैगरी, सत्तारुढ दलकै सांसदले राज्यले धान्न नसक्ने गरि साधरण खर्चको अनुपात बढ्दै गईरहेको भन्दै महंगो शासकीय स्वरुप परिर्वतन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।  सांसद शेरबहादुर तामाङले राष्ट्रपतीय शासन प्रणाली अबलम्बन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । 

 राज्यले धेरै ठूलो धनराशी खर्च गरेर पाल्नुपर्ने राज्य संरचनालाई घटाउनुपर्ने उनले तर्क गरे  । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने गरि संविधान संशोधन गरिनुपर्ने आवश्यकता औल्याए ।
राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरि संविधान संशोधन कार्यदर गठन भएका बेला सांसद तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकिय स्वरुपको व्यवस्थामा पनि संसोधन गर्न प्रस्ताव गरेका हुन्  ।

प्रतिनिधि सभा कोरोना

आजको प्रतिनिधि सभामा कोरियामा फैलिएको कोरोना भाइरसको संक्रमणबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण देखिएको भन्दै रावलले त्यहाँ रहेका नेपाली नागरिकहरुको विषयमा सरकारले अहिलेबाटनै ध्यान दिनुपर्ने बताए । 

 ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेकाले चीनबाट स्वदेश फर्काउने जस्तो सजिलो नभएको भन्दै यसतर्फ सरकारको ध्यान जानु आवश्यक रहेको बताए । 

चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारेमा यथार्थ जानकारी गराउन सांसदले माग गरेका छन् । 
नेकपाका सांसद धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गर्नुभया । उनले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्नेमा पनि जोड दिइन् । 
नेपाली काँग्रेसकी पुष्पा भुसालले भाइरस नियन्त्रणका लागि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै संयन्त्र स्थापना नगरिएकामा गुनासो गरिन् । 

कोरिया कोरोना 

दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ बाट एकैदिन ६० भन्दा बढी नयाँ संक्रिमत भएका छन् । कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार दिएको जानकारी अनुसार अहिलेसम्म ८ सय ९३ संक्रमितको पुष्टि भइसकेको छ भने आठ जनाको मृत्यु भएको छ । यो चीन बाहिरको सबैभन्दा धेरै संख्या हो । उता जापानको डायमन्ड प्रिन्सेसमा मंगलबार अर्का एक युवकको मृत्यु भएको छ ।

अहिलेसम्म क्रुजमा सवार तीनजनाको मृत्यु भइसकेको छ । साथै चीनमा एकैदिन ७१ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा धेरै हुबेई प्रान्तमा ६८ जनाको मृत्यु भएको छ । चीनको स्वास्थ्य प्राधिकरणले मंगलबार दिएको जानकारी अनुसार चीनमा सोमबार ५ सय ८ नयाँ संक्रमित भेटिएका छन् । यहाँ अहिलेसम्म २ हजार ६ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ । यसका साथै ७७ हजार ६ सय ५७ संक्रमितको पुष्टि भइसकेको छ । २७ हजारभन्दा बढीलाई अस्पतालबाट छुट्टी दिइएको पनि समाचारमा उल्लेख छ ।


महिला आयोग

सांसदहरुले महिला आयोगको पदाधिकारी नियुक्तिमा ढिलाई हुँदा महिलाको क्षेत्रमा गर्नुपर्ने कार्यक्रमहरु प्रभावित भएको गुनासो गरेका छन् ।  

महिला तथा सामाजिक समितिको बैठकमा सांसदहरुले महिला आयोगको पदाधिकारी नियुक्तिमा ढिलाई हुँदा महिलाका क्षेत्रमा गर्नुपर्ने कार्यक्रमहरु अगाडि बढ्न नसकेको गुनासो गरेका हुन् । सांसद लक्ष्मी

परियारले महिला आयोगमा पदाधिकारी नरहेको र जिल्ला विकास समितिमा रहेको महिला विकास कमिटी समेत हटाउँदा महिलाका अधिकारहरुका क्षेत्रमा काम गर्न कठिनाई भइरहेको बताइन् । 

सांसद बिमला नेपालीले समितिबाट पनि पटक पटक सरकारलाई निर्देशन दिएको र संसदमा पनि कुरा उठाउँदा समेत पदाधिकारी नियुक्तिमा ढिलाइ भएको बताइन् । 

सांसद खेमप्रसाद लोहनीले महिलाको क्षेत्रमा लागू गरिएका कार्यक्रमहरुको नतिजा देखिनेगरी कानूनहरु निर्माण गर्नुपर्नेमा जोड दिए । 

सैनिक अधिकृत विद्यार्थीहरु दीक्षित
नेपाली सेनाको ‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ शिवपुरीबाट स्नातकोत्तर उत्तिर्ण गरेका ६३ जना सैनिक अधिकृत विद्यार्थीहरु दीक्षित भएका छन् ।  

कलेजको २६ औं ब्याचका सैनिक अधिकृत विद्यार्थीहरुलाई मंगलबार दिक्षित गरिएको हो । दिक्षान्त समारोह कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले २१ औं शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न दिक्षित विद्यार्थीहरु सफल हुने बताए । 

उनले सैनिक क्षेत्रमा धेरै चुनौतिहरु रहेको र त्यसलाई सामना गर्न यस कलेजबाट उत्पादन भएका विद्यार्थीहरु सक्षम रहेको विश्वास समेत व्यक्त गरे । 

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले दिक्षित विद्यार्थीहरु विश्वले चाहेको आधुनिक सैनिक जनशक्ति बन्न सफल भएको विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप