बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी भएको थियो रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना

के भन्छ आयोगको प्रतिवदेन ?
मङ्गलबार, १३ फागुन २०७६, १६ : १५
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौँ । गत वर्ष फागुन १५ गते ताप्लेजुङको पाथीभरास्थित तारेढुङ्गा सिस्नेखोलामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु हुनेगरी भएको हेलिकप्टर दुर्घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

गत वर्ष फागुन १५ गते मन्त्रिपरिषदको निर्णयअनुसार गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम गठित दुर्घटना जाँच आयोगले तयार पारेको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको हो ।

आयोगले दुर्घटनासम्बन्धी तथ्य सङ्कलन, सम्बन्धित प्राविधिक एवम् व्यवस्थापन पक्षका पदाधिकारीहरुसँगको छलफल÷अन्तरवार्ता, दुर्घटनास्थलको स्थलगत अध्ययन भ्रमण, मौसमी व्यवस्थाको विश्लेषण, वायुयान तथा चालकको रेकर्ड जाँच, चालकको पारिवारिक, सामाजिक एवम् मानवीय अवस्थाको मनोवैज्ञानिक अध्ययन, उडान कागजातहरु र म्यानुअलसमेतको विस्तृत अध्ययन गरी तथ्यगत विश्लेषणसमेत गरेर प्रतिवेदन तयार पारेको जनाइएको छ ।

दुर्घटना जाँच आयोगले गत असोज १० गते अन्तिम मस्यौदा प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमक्ष पेश गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड तथा नेपालको प्रचलित कानुन बमोजिम सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाएको थियो ।

उक्त अवधिमा प्राप्त राय÷सुझावसमेतको आधारमा मस्यौदा प्रतिवेदनलाई अन्तिम रुप दिइ अन्तिम प्रतिवेदनका रुपमा आइतबार सार्वजनिक गरिएको मन्त्रालयका सह–प्रवक्ता एवम् उपसचिव प्रकाश शर्मा ढकालले जनाएका छन् ।

के छ प्रतिवदेनमा ?

एयर डाइनेस्टीको एयरबस हेलिकप्टर (९एन–एएमआई) ले शुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचथर र पाँचथरबाट काठमाडौँ आउने अनुमति लिए पनि पाइलटले अन्तिम समयमा उड्ने बेला मात्र भीएचएफबाट हेलिकप्टरमा भीआईपी रहेको बताउँदै पाँचथरको साटो तेह्रथुम जाने अनुमति मागेका थिए । त्यसपछि हेलिकप्टरलाई काठमाडौँ–तेह्रथुम–काठमाडौँ यात्राको अनुमति दिइएको थियो ।

तर, तेह्रथुमबाट काठमाडौँ फर्कनुपर्ने हेलिकप्टर कुनै पूर्वअनुमति बिना नै बिहान ११ बजेर ४९ मिनेटमा पाथिभरामा ल्यान्ड गर्न पुगेको थियो । त्यसको ४५ मिनेटपछि हेलिकप्टरले काठमाडौँको लागि उडान भरेकोमा एक मिनेटपछि नै दुर्घटनाग्रस्त बनेको थियो ।

प्रतिवदेनमा हेलिकोप्टर दुर्घटनामा पाइलटको तत्कालिन मानसिक अवस्था र मौसमलाई दोषी देखाइएको छ । आयोगले उच्च पहाडी क्षेत्रमा अक्सिजनको कमीले हुने ‘हाइपोक्सिया’ को शुरुवाती चरण ‘युफोरिया’ बाट पाइलट प्रभावित भएको र काठमाडौँ फर्कनका लागि उडान भर्ने बित्तिकै पाइलटले हिमपात र तीव्र हावाबीच खराब मौसमको सामना गर्नुपरेको निष्कर्ष निकालेको छ ।  खराब मौसमबीच आँखाले देखेको दृश्यमा भन्दा मेसिनको भरमा उडान भर्दा ‘युफोरिया’ बाट ग्रस्त पाइलटले सही निर्णय लिन नसकेको हेलिकप्टर जमिनमा ठोक्किएर दुर्घटना भएको आयोगले बताएको छ ।

पाइलटका कारण दुर्घटना भएको उल्लेख गरिए पनि उडानअघि भने उनको मानसिक र शारीरिक स्वास्थ्य ठीक रहेको प्रतिवेदनमा बताइएको छ ।

आयोगका अनुसार दुर्घटना हुँदा पहिले हेलिकप्टरको पुच्छर पहाडमा ठोक्किएको थियो । त्यसपछि त्यो मुख्य भागसँग छुट्टिएपछि हेलिकप्टर दुर्घटना हुने पुगेको थियो । दुर्घटनापछि मात्र हेलिकप्टरमा आगलागी भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवदेनमा हेलिकप्टरको निर्धारित समयमा मर्मत सम्भार भइरहेको र कुनै प्राविधिक समस्या नदेखिएको उल्लेख गरिएको छ । प्रत्यक्षदर्शीको बयान र दुर्घटनास्थलको तस्विरबाट हेलिकप्टरको इन्जिन अन्तिम समयसम्म चालु रहेको आयोगको निष्कर्ष छ ।

त्यस्तै, उच्च पहाडी भेगमा यात्रा गर्दा यस्तो हेलिकप्टरमा ७ जना यात्रुले यात्रा गर्दा अगाडिका सिटमा बस्ने यात्रुहरुको वजन १ सय ५४ केजीभन्दा बढी हुन नहुने नियम छ । यसअघि भएका तीनवटा दुर्घटनामा यही कारण देखिएको थियो । नेपालमा उडान अघि यात्रुको वजन जाँच नगरिने हुँदा यो दुर्घटनामा पनि यही कारण हुनसक्ने आशंका गरिएको छ ।

दुर्घटनाको अन्य कारणमा पाथिभरामा भइरहेको हिमपातको कारण हेलिकप्टरको सिसामा बरफ जमेको र त्यसलाई पाइलटले नहटाएको कारण भिजिबिलिटीमा समस्या भएको पनि उल्लेख गरिएको छ । त्यस्तै, आफू जानकार नरहेको नयाँ ठाउँमा खराब मौसमबीच उडान भरेको कारण पनि दुर्घटना भएको हुनसक्ने कारण औँलाएको छ । पाइलटले उडान भर्नअघि पाथिभराबाट ६ नटिकल माइल दक्षिण पश्चिममा रहेको ताप्लेजुङ विमानस्थल कहाँ पर्छ भनेर सोधेकाले आयोगले यो अनुमान गरिएको हो ।

यस्तो छ निष्कर्ष :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप