शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केले रोक्यो नेकपाको एकता ?

लागू भएन आफ्नै निर्णय, हुनै छाड्यो छलफल !
मङ्गलबार, १३ फागुन २०७६, १३ : ०६
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौँ । गत माघ १९ गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा सचिवालयका तर्फबाट पेस भएको प्रतिवेदनमा प्रस्ट भनिएको थियो, ‘आगामी १५ दिनभित्र पार्टी एकताका बाँकी कामहरु पूरा गरिनेछ’ केन्द्रीय समिति बैठकमा उक्त प्रस्तावको स्वागत गर्दै सर्वसम्मत पारित पनि भयो ।

तर नेकपा आफैले तोकेको यो समयसीमा कटेको साता दिन वित्दासमेत नेकपाले यसबारे निर्णायक छलफल नै गर्न सकेको छैन ।

नेकपाको यसअघि मङ्सिरमा सुरु भएर पुस पहिलो साता सम्पन्न स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमा पनि १५ दिनभित्र पार्टी एकताका सबै काम सम्पन्न गर्ने भनिएको थियो । प्रचण्डको उक्त प्रस्ताव स्थायी समिति बैठकले सर्वसम्मत पारित गर्‍यो तर कार्यान्वयन नभएपछि नेकपाले एकताको भाका फेरि माघमा सम्पन्न केन्द्रीय समितिमार्फत अर्को १५ दिनमा सक्ने भनेर तन्कायो ।

यो मात्रै होइन, नेकपा नेतृत्व एकताबारेको प्रतिबद्धता र निर्णयबाट पटक पटक चुक्दै आएको छ । तर, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्व आफ्नो निर्णय कार्यन्वयन गर्न नेतृत्व आफै चुकेको भन्न रुचाउँदैनन् ।

‘काम गर्दै जाँदा ढिलो भएको मात्रै हो । कसैका कारण रोकिएको पनि होइन, विवाद भएको पनि होइन । सबै काम सकिएको छ । त्यसलाई औपचारिक घोषणा गर्न मात्रै बाँकी छ’, प्रवक्ता श्रेष्ठको भनाइ छ । के कारणले राकियो त ? घोषणा गर्न ? भन्ने रातोपाटीको प्रश्नमा श्रेष्ठको अस्पष्ट जवाफ दिए । भने, ‘गृहकार्य सकिएको छ, घोषणा मात्रै नभएको हो, अहिले म त्यति मात्रै भन्न सक्छु ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता २०७५ जेठ ३ मा एकता घोषणा गर्दा तीन महिनाभित्र आधारभूत एकताका सबै काम सम्पन्न गर्ने भनिएको थियो । त्यसयताको समय हेर्ने हो भाका सर्दासर्दै २२ महिना वितिसकेको छ । पहिलो समयसीमाभित्रै नेकपाले एकता प्रक्रिया सकेको थियो भने आज उसका नेता कार्यकर्ता गाउँगाउँमा पुगेर सङ्गठन विस्तारदेखि सरकारका कामको समेत प्रचार गर्न खटिइसकेका हुनेथिए । तर आजसम्म नेकपाका कुनै पनि कार्यकर्ताहरु गाउँगाउँ पुगेर पार्टी र सरकारका कामबारे धक फुकाएर मुख खोल्न सकेका छैनन् ।   

यसबीचमा नेकपा नेतृत्वले एकता प्रक्रियाको पूर्णतामा ढिलाइ भएकोमा स्वीकार गर्दै नयाँ नयाँ भाका राख्दै आयो । एकतामा भएको ढिलाइले पार्टी पङ्क्तिमा बढेको निराशालाई केही हदसम्म भए पनि केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले चिर्ने अपेक्षा सो पार्टी नेता कार्यकर्ता थिए । तर नेतृत्वको ढिलढालको यो कार्यशैलीबाट फेरि उनीहरु निरास बन्न थालेका छन् ।

‘केन्द्रीय समितिको पूर्ण दोस्रो बैठकबाट उत्साहित भएर केन्द्रीय सदस्य फर्किएका थिए । तर बैठक सकिएको २१ दिनपछि अर्थात् फागुन १० मा बसेको सचिवालयको बैठकमा पनि पार्टी एकताका बाँकी कामहरुलाई पूर्णता दिने सम्बन्धमा छलफल भएको सुन्न पाइएन । बरु अरू नै विषय छताछुल्ल भएका छन्’, केन्द्रीय सदस्य विष्णु रिजालले केन्द्रीय समिति बैठकका निर्णय र प्रतिबद्धता नै व्यवहारमा कार्यन्वयन नभएकोमा नेतृत्वप्रति प्रश्न गरे ।

नेकपाले केन्द्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखापरीक्षण आयोग, निर्वाचन आयोग र विभागहरुलाई पूर्णता दिन बाँकी नै छ ।

‘केन्द्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखापरीक्षण आयोग, निर्वाचन आयोग र विभागहरुलाई पूर्णता दिएर नेता कार्यकर्तालाई जिम्मेवारी दिनेमा नेतृत्वको ध्यान किन नगइरहेको होला ? प्रदेशस्तरीय कार्यकर्ता भेलाहरु चलिरहेको बेला उठ्ने प्रश्नलाई नेतृत्वले ध्यान दिनुपर्ने हो’, रिजालले प्रश्न गरेका छन् ।

त्यसो त झण्डै ८ लाख कार्यकर्ता रहेको नेकपाको एकता प्रक्रिया लम्बिँदै गर्दा पार्टीमा सङ्क्रमणकाल लम्बिँदै गएको छ । मुलुक सङ्क्रमणबाट मुक्त हुँदै गर्दा एकताका कारण सङ्क्रमणमा पुगेको नेकपा पार्टीगत रूपमा करिब करिब निष्क्रिय जस्तै रहेको पार्टीकै नेता कार्यकर्ताको बुझाइ छ ।

केन्द्रीय सदस्य पूर्णकुमारी सुवेदी सबै नेता कार्यकर्ताको चाहाना एकता चाँडो टुग्याइदिए मात्रै काम गर्न सहज हुने बताउँछिन् ।

‘पूर्णतामा भएको ढिलाइले तलका कमिटीहरु चलायमान हुन सकेका छैनन् । तर पनि खै के कुराले रोक्यो ? कहाँ अड्किएको छ बुझ्नै सकिएन’, सुवेदीको भनाइ छ ।

पार्टी एकता पूर्णतामा भएको ढिलाइप्रति  केन्द्रमा घोषणा भएका आधिकारिक निकायहरू औपचारिकतामा सीमित बन्दै गएका छन् भने आधारभूत तहमा पार्टी कमिटीहरूले पूर्णता नपाउँदा लाखौँ र हजारौँ कार्यकर्ता असङ्गठित जस्तै अवस्थामा छन् ।

नेकपाको एकता घोषणापछिका अवस्थालाई हेर्दा नेतृत्व, सिद्धान्त र सङ्गठन तीनैवटा क्षेत्रमा सङ्क्रमणबाट तत्काल मुक्त हुने सम्भावना कम हुँदै गएको छ । सङ्क्रमण जति लम्बिन्छ, पार्टीको प्रभावकारिता, संस्थागत परिपाटी र जुझारूपनमा कमी आउने नेकपाका नेता कार्यकर्ताको चिन्ता छ ।

अर्का केन्द्रीय सदस्य विजय सुब्बा नेतृत्वले पार्टी कामलाई भन्दा अन्य कामलाई बढी महत्त्व दिएकाले पनि समयसीमामा एकता प्रक्रिया टुङ्गिन नसकेको बताउँछन् । ‘नेतृत्वले पार्टी कामलाई धेरै महत्त्व र जाँगर लगाए जस्तो देखिएन । नेतृत्वको यो कार्यशैलीबाट तल्लो तहका नेता कार्यकर्ता जसरी उत्साहित र जागरुक हुनुपर्ने हो त्यति नहुँदा यसको क्ष्ति हामी आफैले बेहोरिरहेका छाँै’, सुब्बाले रातोपाटीसँग भने, ‘पार्टी चलायमान हुन तल्लो तहका कमिटीहरु चल्न अनिवार्य छ,  त्यसका लागि गरिएका निर्णयहरु कार्यान्वयनमा नेतृत्व सचेत हुनु जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप