शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ: गृहमन्त्री थापा

मङ्गलबार, १३ फागुन २०७६, १२ : ५९
मङ्गलबार, १३ फागुन २०७६

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् । अस्पतालको आज निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताए ।

अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने पनि बताए । ‘सुखी नेपाली स्वस्थ नेपाली’ भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक बनाएको उनको भनाइ थियो । देशभर र छिमेकी देशबाट समेत बिरामी उपचारका लागि आउने यस अस्पतालमा बिरामीले दुःख पाउन नहुने बताए । उनले स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएकाले यसमा सरकारको विशेष जोड रहेको पनि उल्लेख गरे ।

सो अवसरमा अस्पतालका नवनियुक्त अध्यक्ष डा.निर्मल लामिछाने, कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्य र कानून अधिकृत गोकर्ण सापकोटाले अस्पतालका विषयमा जानकारी गराए । तीन वर्षअघि सो अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी निगरानीमा राखेको थियो ।

त्यसपछि कार्यकारी निर्देशकमा आचार्य नियुक्त भएसँगै अस्पतालले सुधारको बाटो लिएको हो । मन्त्री थापाले आजै भरतपुर महानगरपालिका–१६ मा निर्माण भएको क्रुजको अवलोकन र परीक्षण यात्रा पनि गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप