शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नागढुंगा–नौबीसे सुरुङमार्ग : आयोजनाको ठेक्का पाएको  कम्पनीका कर्मचारीहरू दुई महिनादेखि कामविहिन

मङ्गलबार, १३ फागुन २०७६, ०६ : ३२
मङ्गलबार, १३ फागुन २०७६

शिलान्यास भएको ४ महीना बितिसक्दा पनि मुलुककै पहिलो सुरुङमार्गका रूपमा प्रचारित नागढुंगा–नौबीसे सुरुङमार्गको निर्माणको काम अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते शिलान्यास गरेका यस सुरुङमार्ग निर्माणको आधारभूत कामहरू नै हुन सकेका छैनन् । 

सरकारकै असहयोगका कारण जग्गाप्राप्ति, साइट क्लियरेन्स, विस्फोटक पदार्थ आयात, उपकरण खरीदको स्वीकृति, बंकर निर्माण, सैनिक बस्ने क्याम्पका बारेमा निर्णय हुन सकेको छैन । सुरुङमार्गको मुख्य निर्माण शुरू हुनुअगावै अर्थात् कात्तिकपछिका ३ महीनामा यी कामहरू सम्पन्न भइसक्नुपर्ने थियो । 

मे अर्थात् जेठको दोस्रो हप्तादेखि सुरुङको प्वाल पार्ने काम शुरू गर्ने समयतालिका भए पनि यिनै कारणले तोकिएको समयमा उक्त काम शुरू हुन गार्‍हो हुने देखिएको छ । 

निकै तामाझामका साथ गरिएको शिलान्यास कार्यक्रममा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माण ३६ महीनामै सम्पन्न गरिने बताएका थिए । 

तर, सरकारले नीतिगत स्वीकृति दिन ढिला गरिदिँदा र त्यस क्षेत्रका सभासद्ले पनि पहल नगर्दा आयोजनाको ठेक्का पाएको हाज्मा÷आन्दो कर्पाेरेशन कम्पनीका कर्मचारीहरू २ महीनादेखि काम नगरी बसेका छन् भने उपकरणहरू प्रयोगविहीन अवस्थामा छन् । 

सम्झौताअनुसार कम्पनीले रू. ४०–५० करोड दाबी गर्ने बेला भइसकेको आयोजना निर्देशक श्याम खरेलले बताए । आयोजनाको काम शुरू नहुँदा अहिले नै निर्माण कम्पनीले तोकिएको समयभन्दा थप २ महीना म्याद थप्नुपर्ने माग गरिसकेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  हिमा वि.क.ले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप