शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसको संक्रमणः के हुँदैछ विश्वमा ?

मङ्गलबार, १३ फागुन २०७६, ०० : ३६
मङ्गलबार, १३ फागुन २०७६

समयक्रममा घट्दै जाने अपेक्षा र अनुमान गरिएको नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–२०१९ को संक्रमणको दर चीनमा त घटदै गइरहेको छ तर अनुमान नै नगरिएको ढंगले यसको नयाँ संक्रमण पूर्वी एशियाका देश दक्षिण कोरिया तथा खाडी क्षेत्रमा देखापर्न थालेको छ । चीनको ऊहानमा शुरुमा देखापरेको यो भाइरसको संक्रमणको कारण मध्यपूर्वी देश इरानमा १२ जनाको मृत्यु भइसकेको छ भने ६१ जना संक्रमित बनेका छन् । यो रोगको संक्रमण कुवेत, बहराइन, इराक र ओमनमा पनि देखापरेको छ भने दक्षिण एशियाली देश अफगानिस्तानमा पनि यसको संक्रमण फेला परेको छ । पूर्वी एशियाली देश दक्षिण कोरियामा यस भाइरसले सात जनाको ज्यान लिइसकेको छ भने ८३३ जनालाई संक्रमित तुल्याइसकेको छ ।

उता इटालीमा पनि सातजनाको मृत्यु भएको छ भने २२० जनामा संक्रमण देखिएको छ ।

यो लेख्दासम्म कोभिड २०१९ ले संसारभरि २६०० जनाको ज्यान लिइसकेको छ जसमा बहुसंख्यक चिनियाँहरु छन् ।

संक्रमणकै कारण टर्की, पाकिस्तान र आर्मेनियाले इरानसँगको सीमा बन्द गरेको छ ।

कोरोनाभाइरसकै कारण चीनले आफ्नो वार्षिक राजनीतिक भेला पछाडि सारेको छ । यसअघि प्रत्येक वर्षको मार्च पाँचमा राष्ट्रिय जनकांग्रेसको वार्षिक भेला हुने गथ्र्यो, जुन दुई हप्ताभन्दा बढी चल्ने गथ्र्यो र जसमा हज्जारौं प्रतिनिधिहरु बेइजिंगमा भेला भएर राष्ट्रिय नीति तथा कार्यक्रमहरुमा छलफल गर्ने गर्थे ।

उता अमेरिकामा ह्वाइटहाउसले कोरोनाभाइरससँग लड्नका लागि कंग्रेससँग १ करोड डलर रकमको अनुरोध गर्ने खबर वासिंगटनपोष्टले छापेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख एधनोम घेब्रेयेसुसले प्राणघातक नयाँ कोरोनाभाइरसको ‘सम्भाव्य महामारी’का विरुद्ध लड्नका लागि विश्वले निक्कै कडा काम गर्नुपर्ने बताएका छन् । उनले अहिलेको भाइरस संक्रमणलाई महामारीको रुपमा नदिएको तर विशवका देशहरुले सम्भाव्य महामारीका विरुद्ध सक्दो प्रयत्न गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार, इटाली, इरान र कोरियामा अचानक देखापरेका कोरोनाका संक्रमण गहिरो चिन्ताको विषय हो ।

इटाली र यसका वरपर रहेका राष्ट्रका स्वास्थ्य मन्त्रीहरु नयाँ कोरोनाभाइरसको संक्रमणका बारेमा छलफल गर्न भोलि इटालीको रोममा भेला हुने भएको छ ।

स्लोभेनिया, अस्ट्रिया, स्वीट्जरल्याण्ड, फ्रान्स र जर्मनीले यो नयाँ संक्रमणसँग जुघ्नका लागि इटालीसँग आफ्ना रणनीतिहरु साझेदारी गर्ने भएका छन् ।

उता ताजिकिस्तानले इरानसँगको आफ्नो सम्पूर्ण हवाइ सम्पर्कहरुलाई विच्छेद गरेको छ । यो सम्पर्क विच्छेद इरानमा महामारी नियन्त्रणमा नआएसम्म कायम रहने जानकारी त्यहाँको नागरिक हवाइ एजेन्सीले एक वक्तव्यमार्फत् दिएको छ ।

टर्की एयरलाइन्सले पनि इरानका शहरहरुसँगको आफ्नो उडानलाई फेबु्रअरी २७ तारिखसम्मको लागि रद्द गरेको छ ।

भियतनामको केन्द्रीय बैंकले त्यहाँका सबै व्यवसायिक बैंकहरुलाई ऋणहरुको ब्याज हटाउन, कटौती गर्न वा म्याद थप्नको लागि आदेश जारी गरेको छ । कोरोनाभाइरस संक्रमणका कारण त्यहाँका कम्पनीहरुले व्यहोर्नु परेको घाटाको सन्दर्भमा राहत स्वरुप उक्त कदम चालिएको हो । यो आदेश जनवरी २३ देखि मार्च ३० सम्म प्रभावी हुनेछ ।

उता हंगकंगले साउथकोरियाबाट आउने गैरआवासीय नागरिकहरुको प्रवेशलाई निषेध गरेको छ । दक्षिण कोरियामा फैलिएको कोरोनाको महामारीलाई दृष्टिगत गर्दै हंंगकंगले ‘रेड ट्राभल एलर्ट’ जारी गर्ने भएको छ । यसअनुसार गत १५ दिनदेखि दक्षिण कोरियामा रहेका मानिसहरुलाई हंगकंग प्रवेशमा रोक लगाइनेछ । यसअनुसार, हंगकंगका स्थायी निवासीलाई भने हंगकंग आउन दिइनेछ तर उनीहरुले अनिवार्य रुपमा १५ दिनसम्म मेडिकल सर्भिलेन्समा रहनुपर्नेछ ।

कोरोनाभाइरसकै कारण ३ हजार स्वास्थ्यकर्मीहरु संक्रमित बनेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

पाकिस्तानले इरानको सीमानजिक बलुचिस्तान प्रान्तमा २०० जनालाई क्वारेन्टाइनमा राखेको छ । इरानबाट फर्केका सिया मुस्लिम भक्तहरुलाई कोरोनाभाइरसको संक्रमण हुन सक्ने आशंकामा उक्त कदम चालिएको हो ।

Title Photo: https://www.aljazeera.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप