बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी आन्दोलनको पुनर्जागरण

सोमबार, १२ भदौ २०७४, १२ : ०८
सोमबार, १२ भदौ २०७४

सरल सहयात्री
 
आन्तरिक राष्ट्रियताको सवालमा पहिचानको मुद्दा स्थापित गर्ने प्रमुख अभियान माओवादी आन्दोलन थियो । भिन्न भाषा, संस्कृति, इतिहास, धर्म र भूगोलको प्रतिनिधित्व गर्ने तथा विशेष समुदायको पहिचानका लागि उसले निकै ठूलो सङ्घर्ष गरेको छ । पहिचानवादी आन्दोलनको सामाजिक मनोवैज्ञानिक मर्म देशको समान विकासमा उच्च महत्वको भए पनि जातीय विखण्डन ल्याउन खोज्ने पार्टीका रूपमा चित्रित गर्ने कोशिस नेपाली राजनीतिमा अझैसम्म पनि जारी छ । एकै देशमा बसोवास गर्ने तर अपमान र उत्पीडिन सहन बाध्य वर्ग एवं समुदायको पहिचान र अधिकारको निम्ति निरन्तर सङ्घर्ष गर्नुपर्ने वैकल्पिक शक्तिका रूपमा उदियमान माओवादी पार्टीको पहिचान कुन अवस्थामा छ ? यसबारे केही विषय खुलस्त पार्ने प्रयास यहाँ गरिएको छ ।  

माओवादी धरातल 
    जनयुद्धकालीन एक दशक ‘माओवादी अभियान’ आन्दोलनको रूपमा देशभरी हावी भयो । माओवादी पार्टीका रूपमा स्थापना हुनुभन्दा अघिदेखि यो माक्र्सवाद, लेनिनवाद र माओ विचारला मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गर्ने पार्टीकै रूपमा बढिरहेको थियो । हरेक पार्टी निर्माण गर्न एक मार्गदर्शक सिद्धान्तको साथै सशक्त सङ्गठनको जरुरी पर्छ । सङ्गठन कुन वर्ग र समुदायलाई लक्षित गर्ने हो भन्ने सत्य पार्टीले अङ्गीकार गर्ने सिद्धान्तमा भरपर्छ । तत्कालका लागि मुख्यतः जनवादी क्रान्तिको सिद्धान्त अङ्गीकार गरेको माओवादी पार्टीको लक्षित वर्ग भनेको उत्पीडनमा परेका (जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक, सामाजिक) उनीहरू हुन् । उत्पीडक वा उत्पीडितको सन्दर्भमा नेपाली समाज निकै गञ्जागोल अवस्थामा छ । 
बदलिएका प्रवृत्ति 
    माओवादी आन्दोलनसँग जोडिएको मूल पक्ष भनेको दमन सहन बानी परेर शान्तसँग बसेका जनताको मुर्दाशान्ति भङ्ग गर्नु थियो । त्यसरी सहनु शान्ति होइन बरु स्वतन्त्रा र समानताका लागि विद्रोह गर्नु सबैभन्दा ठूलो आत्मसम्मान र शान्ति हो भनेर सम्झाउनु बुझाउनु थियो । यसै सिद्धान्त अनुसार, अन्यायपूर्ण बन्दुकको विरुद्ध न्यायपूर्ण बन्दुक उठाउनु, परम्परागत सामन्तवादी संस्कृति र परम्पराविरुद्ध नयाँ जनवादी सरल र समानताको संस्कृति सिक्नु सिकाउनु हो । जुनसुकै स्तरको व्यक्ति भए पनि मान्छे समान हुन्छ भन्ने पाठ सिकाउनु हो । आर्थिक, राजनीतिक, लैङ्गिक, तथा जातीय विभेदविरुद्ध जनतालाई सङ्घर्षमा उतार्नु थियो । उपरोक्त सत्य नेपाली समाजको सुधोपनामा एक तरङ्ग बनाएर फैलाउनु आवश्यकता थियो र नै माओवादी फस्टाउने उर्वर भूमि प्राप्त भएको हो । बाह्रबँुदे सम्झौताले बदलेको माओवादी राजनीतिक मार्गमा उसले बोकेका परिवर्तनका सारा प्रस्ताव (संविधानसभा, गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी लगायत) लाई संस्थागत गर्ने उत्तरदायित्व उसको काँधमा थियो । त्यस सँगसँगै आफ्नो धरातल बनेर प्रतीक्षारत विशाल समुदायसँगको राजनीतिक साक्षात्करको अझ धेरै उत्तरदायित्व समेत थियो । तर जनतासँग दैनिक साक्षात्कारको उत्तरदायित्वबाट पार्टी क्रमिक गतिमा तैरिँदै गयो र वर्षौंदेखि जरो गाढेर बसेको मालिकत्व प्रतृवत्ति माओवादी नेतादेखि कार्यकर्तासम्म जागृत हुन थाल्यो । मन्द विष समान प्रवेश सत्तामोहको रोगले नेता कार्यकर्ताको दिमागमा सहज उल्टो बुद्धि फिर्न थालेको कसरी देखिन्छ भने सबै परिवर्तनकारी एजेन्डाको  मालिक हामी हौँ, त्यसकारण चुनावमा हामी जस्ता इतिहास बोकेका मालिक देखिएपछि उत्पीडित समुदायले भोट हाल्नु पर्दैन ? जस्ता प्रश्न सहज चिन्तनमा हावी भएको छ । तर ती सयौँ वर्षदेखी उत्पीडन सहेका समुदायलाई निरन्तर अभिभावकत्व, नेतृत्व र शिक्षित नगर्ने हो भने एक दुई पटक प्रदान गरिएको ऊर्जा कमजोर हुन्छ भन्ने सुबुद्धि फिरेको अझसम्म देखिएको छैन । 
वर्तमानलाई बिर्सेर इतिहासको मूल्य मात्र खोज्नु र चक्रवर्ती व्याजमा रकम लगाएर उपरखुट्टी लाउँदै गरिबको शोषण गर्ने सामन्तवादी प्रवृत्ति हो । यो सामन्तवाद माओवादी कार्यकर्तासमा पनि हावी हुँदै गएको छ । त्यसकारण अहिले आधारभूत रूपले भुइँमान्छेको घरमा पुगेर अझै पनि निरन्तर सचेत गर्नुको सट्टा समाजको हर्ताकर्ता व्यक्तिको खोजीमा लाग्नु बाध्यता हुन पुगेको छ । माओवादीलाई मुख्य रूपमा पुँजीपति र मध्यम वर्गले कहिल्यै पनि पत्याउनेवाला छैनन् । किनकि सिद्धान्तत माओवादी त्यो वर्गको नेता हुन सकेका छैन । 
माओवादी नै किन ?
    नेपालमा पार्टीको सङ्ख्या कम भएर माओवादीको जन्म भएको भने विलकुल होइन । त्यो विशाल हिस्सा जो दमनमा आज पनि छ । साराका सारा दमित समुदाय राजनीतिक आस्थाका रूपमा बुझेर नबुझेर जहासुकै होऊन् उनीहरूको सैद्धान्तिक राजनीतिक नेतृत्व गर्ने पार्टीको पहिचान पुनस्र्थापित गर्ने हैसयत माओवादी पार्टीले राख्छ कि राख्दैन ? संसदीय प्रतिस्पर्धाको उपयोगमा अरू पार्टीका नेताले चुनाव जित्नु र माओवादीका नेताले चुनाव जित्नुमा वा अन्य पार्टीका नेता सरकारमा जानु र माओवादी पार्टीका नेता सरकारमा जानुमा फरक छ ? यसको मूल्याङ्कन हुनुपर्छ । माओवादी शिक्षा मन्त्री हुँदा विद्यालय र विश्वविद्यालयमा पढाइ हुने कोर्समा समाजमा बदलिएका चरित्र, मनोविज्ञान वा अर्थशास्त्रलगायतका विषयमा वैज्ञानिक समाजवाद उन्मुख  के–के फरक ल्याउने पहल लिए ? त्यो कुराले नेपाली समाजलाई आत्मनिर्भर वैज्ञानिक समाजवादको मार्गमा लैजाने इँटा थप्न सक्छ भन्ने चेत आएन भने केको माओवादी ? अन्य पार्टीका नेतालेझैँ दुई चार स्कुल भवनहरू थप्ने र उद्घाटन गर्ने काममा ओवादीले पनि जस्ताको तस्तै कपी गर्ने हो भने कसरी रहन्छ पहिचान ? के हामी आधारभूत रूपले यसको उत्तर दिन सक्छौँ ?
म किन माओवादी हुँ? भनेर माओवादीका हरेक कार्यकर्ताले आफूप्रति प्रश्न गर्ने अवस्था सिर्जना गर्न सकिन्छ ? दलित, जनजति, महिला, आदिवासी र उत्पीडनमा परेका सबै वर्ग समुदायको सन्दर्भमा माओवादीका हरेक कार्यकर्ताले सडक, चौतारा, चिया पसल, सार्वजनिक बसलगायत सबै ठाउँमा आफ्नो सशक्त तर्क प्रस्तुत गराउने अभियानमा पार्टी लाग्न सक्छ ? उत्पीडनको सहनशीलताले ग्रस्त व्यक्तिमा देशको म पनि एक समान र स्वाभिमानी नागरिक हुँ, अरू भन्दा कम छैन भन्ने उच्च मनोबल पैदा गर्ने ऊर्जा भर्न सक्छ ? सदैन भने माओवादी पार्टी ठूलो हुन सक्छ तर आन्दोलन बाँच्न सक्दैन । लक्ष नै नबाँचेको पार्टी पार्टी रहँदैन । यस्तो अवस्थामा माओवादी विघटन गर्दा पनि फरक पर्दैन ।

निष्कर्ष 
अझैपनि ०६२÷६३ पछि दश वर्षमा परिस्थिति बदलियो तर सोअनुसार चरित्र बदलिएनन् । प्राप्त उपलब्धि क्षतिको लेखाजोखा गर्न सकिन्छ । परिवर्तनको एजेन्डालाई संस्थागत गर्ने ऋण माओवादीका टाउकामा अझै पनि बाँकी नै छ । त्यसकारण सत्ताको खेलमा बढी केन्द्रित भएको भन्न पनि सकिन्छ । तर आगामी माघ सात गतेपछि अर्थात् प्रदेश र सङ्घको चुनवपछि माओवादीले आफूलाई एउटा लामो अभियानमा सर्वहारा सांस्कृतिक क्रान्तिको आजको मोडल विकास गर्दै आफ्नै घर (उत्पीडित जनताको) मा नफर्की सुख छैन । तसर्थ माओवादी पुनर्जागरणमा मात्र उसको भविष्य निर्भर रहेको सत्य अकाट्य छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप