बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : प्रधानमन्त्री ओलीद्वारा काँग्रेसको कडा आलोचना, सुनको मूल्य तोलामा ८० हजार नाघ्यो

सोमबार, १२ फागुन २०७६, १९ : २२
सोमबार, १२ फागुन २०७६

संविधान संशोधन कार्यदलबारे नेम्वाङ
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णयबाट पछि हटेको छ । संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको कुरा आइतबार प्रकाशमा आएका थियो ।  तर, कार्यदलका सदस्य भनिएका सुवासचन्द्र नेम्बाङले यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । 

राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको गृहकार्यका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका खबरहरु आए पनि यो सत्य नभएको नेम्बाङले बताए । 

 खबरको नेकपाभित्रै र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि प्रश्न उठाएको थियो । सोमबार बिहानै संयोजक नेता माधव नेपालले कार्यदलका दुवै सदस्यलाई घरमै बोलाएर छलफल समेत गरेका थिए ।  उक्त छलफलमा सदस्यहरु सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले गुपचुपमा कार्यदल गठन गरेको भन्दै आपत्ति जनाएको बताइएको छ । 

नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले रातोपाटीसँगको कुराकानीमा संविधान संशोधन औचित्यका आधारमा मात्रै हुने बताएका छन् । 


प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्माओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको कडा आलोचना गरेका छन् । 

 गैर विषयलाई लिएर काँग्रेसले सरकारको आलोचना गरेको प्रधानमन्त्री ओलीको आरोप छ । 

सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले काँग्रेसले केही न केही नाममा आलोचना गर्ने गरेको भन्दै ‘कुखुराको चल्लाले के टिपेर कुना लाग्छ, अरुलाई के टिप्यो थाहा छैन, पछि मात्रै लाग्छन्’ भन्दै आलोचना गरे । 

प्रतिपक्षी भएको देखाउनकै लागि काँग्रेसले अनावश्यक विरोध गरेको उनको आरोप छ । विरोधको विषयबिना नै काँग्रेस दिनदिनै माइतीघर गएको पनि उनले बताए । यसअघि प्रधानमन्त्री पोखरा पुग्दा प्रतिपक्षी दलका विद्यार्थी संगठनले कालो झण्डा देखाउने प्रयास गरेका थिए । सो क्रममा केही विद्यार्थी नेता कार्यकर्ता पक्राउ परेका छन् । 


काँग्रेसको निर्णय

नेपाली काँग्रेसले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ । सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको काँग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको बैठकमा संसद अवरुद्ध नगर्ने विषयमा समझदारी भएका हो । 

काँग्रेस सचेतक पुष्पा भुसालले तीन दलबीचको बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने समझदारी भएको बताइन् । 

 तीन दलले मंगलबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्ने बताइएको छ । संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने देखेर तीनै दलले आफ्नो कुरा संसदमा राख्ने तय भएको भुषालले जानकारी दिइन् । 
 काँग्रेसले गोकुल बाँस्कोटा प्रकरणको विरोध गर्दै संसद अवरुद्ध गर्दै आएको छ भने यो प्रकरणमा प्रधानमन्त्रीको समेत धारणा माग गर्दै आएको छ । 

तीन दलबीच सरकारविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने विषयमा समेत समझदारी भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसनमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विषयलाई काँग्रेसले जोडतोडले उठाउँदै आएको छ । यस विषयमा आइतबार छाया मन्त्रिपरिषदमा छलफल भएअनुसार काँग्रेसले प्रतिपक्षमा रहेका अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो । 

सोहीअनुसार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको हो । 

अर्थ समिति
बीमा विज्ञहरुले बीमा समितिको क्षमतामा अझ बढी सुधार गरेर जानुपर्ने बताएका छन् ।  अर्थसमितिको सोमबारको बैठकमा बीमा समितिका पूर्व अध्यक्ष समेत रहेका फत्तबहादुर केसीले बीमा क्षेत्रको आकार र क्षेत्र बढ्दै गएको अवस्थामा नियामक निकायलाई बलियो र सुदृढ बनाउनुपर्ने बताए । उनले बीमा व्यवसाय फस्टाउँदै गएको र व्यवसायको आकार बढ्दै गएकाले बिमितको हक हितमा ध्यान दिएर बीमा क्षेत्रको सुशासन, पारदर्शिता र वित्तीय कारोबारमा पनि धेरै निगरानी राख्नुपर्ने आवश्यकता रहेको बताए । 

बैठकमा बीमा विज्ञ सुरेन्द्रमान प्रधानले प्रस्तावित विधेयकमा सुधार गर्नुपर्ने विषयहरु धेरै रहेको बताए । 

बैठकमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विधेयकमा नेपालमा बीमा व्यवसाय गर्न विदेशी कम्पनी पनि आउने व्यवस्था गरिएकाले त्यसलाई हाटाउन सुझाव दिए । 

यस्तै सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सबै संस्थाहरुलाई नियन्त्रण गर्न लागिएको बताए । उनले सुक्ष्म नियन्त्रण गर्नुभन्दा बीमा संस्थाहरुलाई पारदर्शी र उत्तरदायी बनाउने व्यवस्था ऐनमा ल्याउनुपर्ने बताए । 

सांसद सुरेन्द्रप्रसाद पाण्डेले बीमा व्यवसायलाई अझबढी प्राक्टिकल बनाउने र यस प्रतिको विश्वास जगाउने काम नगरे नेपालमा बीमा व्यवसायको विस्तार सम्भव नभएको बताए । 

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले बीमा गर्नेले पाउने सेवा सुविधा र उसले गर्ने दावी भूक्तानी समयमा दिन सकिएन भने  बीमा व्यवसाय प्रतिको विश्वास कमजोर भएर जाने बताए । 

अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ‘इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विश्व भरका लगानीकर्तालाई आकर्षित गर्न औद्योगीक कानूनहरुलाई सहज बनाउँदै गएको बताए । उनले लगानीकर्ताको सहजताका लागि एकद्धार प्रणालीमार्फत उद्योग स्थापना गर्न सक्ने सुविधाको विकास गरिसकेको समेत बताए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको कस्ट अफ डुइङ बिजनेस अझैपनि उच्च रहेको बताए । 

विश्व बैंकसँगको सहकार्यमा सरकारले आयोजना गरेको उक्त कार्यशाला गोष्ठि दुईदिन सम्म चल्नेछ । कार्यशालामा नेपालमा लगानीका लागि देखिएका चुनौति र सम्भावनाका विषयमा विस्तृत छलफल बताइएको छ । 

शिक्षामन्त्री पोखरेल

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिएका छन् । 

सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाती आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन् । 
 सिटिइभिटीको गति बदल्दै शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षण लगायतका कुरामा नयाँ ढंगले सोच्न निर्देशन दिए । 

अबको २५ वर्षमा आइसिटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्याङ्कहरुले देखाएको भन्दै पाखेरेलले रैथाने सीप र आधुनिक सीपालाई सँगै अगाडी बढाउनुपर्ने अवश्यकता औल्याए । 

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारले उच्चशिक्षा अध्ययनका लागि दिने छात्रवृतिमा विभेद गरेको बताए ।  उच्च शिक्षा अध्ययनका लागि प्राप्त हुने छात्रवृति पाउनका लागि कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढेको हुनुपर्ने प्रावधान राखेर सरकारले विभेद गरेको उनले बताए । 


सगरमाथा आरोहण 

चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने भएका छन् । संखुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोहीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वकै रेकर्डमा सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्न लागिएको जानकारी गराएका हुन् ।

आठपटक सगरमाथाको सफल आरोहण गरेका आरोहि तथा पर्यटन व्यवसायी टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथा तर्फ लागेको छ । 

महँगियो सुन
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाल सुन तोलामा १५०० रुपैयाँले बढेर ८० हजार ३०० रुपैयाँ पुगेको छ । 

यसअघि आइतबार छापावाल सुन तोलामा ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता सोमबार रु ५ बढेर ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जानकारहरुले सुनको मूल्य अझै बढ्न सक्ने बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप