बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सभापतिमा माहोल बनाउन दलबलसहित डा शेखर कोइरालाको दौडधुप

सोमबार, १२ फागुन २०७६, १३ : ४०
सोमबार, १२ फागुन २०७६

 बुटवल । आगामी वर्षको फागुनमा प्रस्ताव गरिएको नेपाली काँग्रेसको १४ औँ महाअधिवेशनका लागि नेताहरु आन्तरिक रणनीति बनाउन व्यस्त छन् ।  आन्तरिक गुट, उपगुट फेरबदल गर्नेदेखि नयाँ बनाउने भित्री खेल पनि पार्टी भित्र जारी छ । 

यस्तै केन्द्रीय नेताहरु जिल्ला–जिल्लामा पुग्ने र कार्यकर्ता भेटघाट गर्ने क्रममा छन् भने केही नेताहरु राजधानीमै बसेर विभिन्न चलखेल र रणनीति बनाउन व्यस्त छन् । 

यही क्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले आगामी महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने चर्चासँगै उनी अहिले प्रदेश नम्बर ५ मा आफ्नो पक्षमा माहोल बनाउन केन्द्रीत छन् । 

काठमाडौँ भन्दा पनि बाहिर माहोल बनाउन सके १४ औँ महाधिवेशनमा हस्तक्षेपकारी भूमिका खेल्न सकिने निष्कर्षका साथ उनी प्रदेशका र अन्य केही केन्द्रीय सस्दयसमेतलाई साथमा लिएर  विभिन्न जिल्लाको भ्रमणमा निस्किएका हुन् । 

शनिबारदेखि प्रदेश ५ को भ्रमणमा रहेका उनले यसक्रममा बाँके, बर्दिया, दाङ र कपिलवस्तु भ्रमण गर्ने बताइएको छ । कोइरालाले फागुन १३ गतेसम्म बाँके, बर्दिया, दाङ र कपिलवस्तु जिल्लाको भ्रमण कार्यतालिका रहेको छ । 

कार्यक्रम तालिका अनुसार उनी शनिबार बाँके पुगे भने आइतबार बर्दियाको ठाकुरबाबा नगरसमितिको सम्मेलनमा सहभागी भए । यस्तै सोमबार उनले दाङको घोराहीमा जिपी फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

यस्तै मंगलबार कपिलवस्तुमा पनि कार्यक्रम तय भएको छ । डा.कोइरालाले सम्बोधन गरेका कार्यक्रमहरुमा कांग्रेसका अन्य नेताहरु समेत सहभागी रहे भने सबै कार्यक्रममा उनले आफू पनि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहने सन्देश दिन खोजे । 

डा.कोइरालाका साथमा सुजाता कोइराला, दीपक गिरी, चन्द्र भण्डारी, गगन थापा, डा. गोविन्द पोख्रेल, सञ्जय गौतम, सुरेन्द्र आचार्य र शिव लम्साल समेत रहेको बताइएको छ । दाङमा हुने कार्यक्रमा कोइराला परिवारकै डा.शशांक कोइराला पनि सहभागी हुने कार्यक्रम छ । 

शेखरको टिममा अहिले को–को छन् ? 
नेपाली काँग्रेसका नेताहरुमध्ये जिल्लाजिल्ला पुग्ने, कार्यकर्तासँग सम्बन्ध पनि सुमधुर राख्ने नेताको रुपमा चिनिने कोइराला पाँच नम्बर प्रदेशमा अहिले आउँदा टिम नै बनाएर आएका छन् ।

यस क्षेत्रमा पार्टीभित्र प्रभाव पार्न सक्ने नेताहरु केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी, डा.गोविन्द पोखरेल, सञ्जय गौतम रहेका छन् । उनीहरु केन्द्रीय सदस्य भएपनि यो प्रदेशमा राम्रो पडक बनाउने सक्ने नेताहरु हुन् । 

नेपालगञ्जमा पनि बाँके नेपाली काग्रेस जिल्ला सभापति किरण कोइराल शेखरको टिममा सक्रिय देखिएका छन् ।  यसका साथै उनले गगन थापा, सुजता कोइरालालाई पनि प्रदेश भ्रमणमा सहभागी गराएका छन् । जसले गर्दा उनले टिमबाटै पार्टीको नेतृत्व आफ्नो हातमा लिन खाजेको देखिने नेपाली काँग्रेस रुपन्देहीका नेता विष्णु पोखरेलले प्रतिक्रिया दिए । 

प्रदेश ५ को भ्रमणका क्रममा डा कोइरालाले स्वास्थ्य शिविरदेखि पार्टीको नगरसभा सम्म उद्घाटन गर्न भ्याएका छन् । सुरुमा उनी बाँकेको नेपालञ्जमा पुगे । जहाँ नेपाल प्रेस युनियन केन्दीय महाधिवेशन हुँदैछ । सो अधिवेशनस्थलको निरीक्षण गरेपछि पत्रकार सम्मेलन गर्दै उनले प्रदेशको यात्रा तय गरेका हुन् । 

उनी बाँकेमा केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी र बाँके सभापति किरण कोइराला सहित थिए । नेपालगन्जमै रहँदा उनले काँग्रेसका पूर्वसभापति सुशील कोइरालको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । यस्तै आइतबार उनी टीमसहित बर्दिया पुगे र नेपाली काँग्रेसको नगर सम्मेलनमा सहभागी भए । जहाँ उनीसहित केन्द्रीय सदस्य गगन थापा, डा.चन्द्र भण्डारी, डा.गोविन्द पोखरेल लगायतले सम्वोधन गरेका छन् ।  

यस्तै दाङको आजको कार्यक्रम सकेर उनी कपिलबस्तुको कार्यक्रममा सहभागी हुनेछन् । उनको प्रदेश ५ को भ्रमणको उद्देश्य नै नेता–कार्यकर्तासँग सम्बन्ध विस्तार गर्ने र उनीहरुको भावनाअनुसार अघि बढ्ने रहेको छ । 
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले शेखरको जिल्ला केन्द्रीत हुने सिलसिला कुनै नयाँ नभएको भन्दै विगतमा झै यो क्रम निरन्तर चलिरहने बताए ।

प्रदेश ५ को भ्रमणसकेपछि ओखलढुंगा, सिन्धुली, उदयपुरलगायत जिल्ला भ्रमणमा जाने कोइरालाको कार्यक्रम बनिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप